पार्टीको एकता महाधिवेशनमा आफूभन्दा जुनियर नेता राजेन्द्र लिङ्देनसँग हार बेहोर्न बाध्य भएपछि राप्रपा अध्यक्ष कमल थापाले लगातार पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासमाथि ‘चार्ज’ गरेका छन् । निर्मल निवासले भने हारको पीडामा थापाले अनावश्यक आरोप लगाएर आफैंलाई नङ्ग्याएको प्रतिक्रिया दिएको छ । कमल थापाको आरोपप्रति चर्चा गर्र्दै पूर्वराजाका संवाद सचिव फणि पाठकले पूर्वराजाको चिन्ता र चासो देश र जनताप्रति बाहेक अरु कसैमा नरहेको बताए । पूर्व राजाको चासो कुनै पार्टी र नेतृत्वप्रति नरहेको उनको दाबी छ ।

त्यसो त महाधिवेशनमा कमल थापाले प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर जस्ता नेताहरुको पनि साथ पाएनन् । युवा पुस्ता माझ लोकप्रिय लिङ्देनको पक्षमा अस्वाभाविक आकर्षण देखियो, जसले जनआन्दोलनपछि लगातार नेतृत्वमा रहेका कमल थापालाई ‘पार्टी सत्ता’ बाट बाहिर पुर्याइदियो ।

ट्वीटरमा हिमानीमाथि कटाक्ष, फेसबुकमा कविता !

अध्यक्षमा पराजित भएसँगै थापाले आइतबार बिहानै सामाजिक सञ्जनलमार्फत निर्मल निवासको नाङ्गो हस्तक्षेपका कारण पराजय भोग्नुपरेको दावी गरे । उनले २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइएको भन्दै गुनासो समेत गरे । सो एजेण्डाको मूल संवाहकलाई पूर्वराजाले राजनीतिक रुपमा समाप्त पार्न खोजेको थापाको आरोप छ ।

थापा यतिमै रोकिएका छैनन् । हिमानी शाह नामको ट्वीटर ह्याण्डलमा राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना दिएको पाइएपछि त्यसलाई त्यसमा प्रतिक्रिया जनाउँदै थापाले हिमानीप्रति पनि कटाक्ष गरेका छन् । उनले लेखेका छन्, ‘ अब चाँडै राजसंस्था पुनःस्थापना हुने भएको हुँदा हिमानी शाहलाई पनि हार्दिक बधाई तथा शुभकामना ।’

थापा यतिमै रोकिएका छैनन् । आइतबार दिउँसो सामाजिक सञ्जालमार्फत उनले पूर्व राजाप्रति आफ्नो मान्यता परिवर्तन भएको संकेत गर्दै गीतकार राजेन्द्र थापाको गीतको अंश पोष्ट गरेका छन्–

‘पोहोर साल खुशी फाट्दा

जतन गरी मनले टालेँ

त्यही साल माया फाट्यो

त्यसलाई पनि मनले टालेँ

यसपालि त मनै फाट्यो

केले सिउने केले टाल्ने हो?’

उसो त आइतबार नै थापा पक्षको बैठक बसेर राप्रपाको नयाँ नेतृत्व चयनका क्रममा निर्मल निवासबाट हस्तक्षेप भएको निष्कर्षसमेत निकालिएको छ । थापा पूर्वराजाविरुद्ध खुलेआम उभिएपछि अब उनको आगामी बाटो कस्तो होला भन्ने चासो बढेको छ ।

लिङदेनप्रति ‘वेट एण्ड सी’

कमल थापाले आफूलाई दरबारले हराएको गुनासो गरिरहँदा पूर्वराजा ज्ञानेन्द्र शाह निकट स्रोतले भने आफ्नै कार्यशैलीबाट मतदातामाझ अलोकप्रिय बनेका थापाले हारपछि राजालाई अनावश्यक गाली गर्ने काम गरेको आरोप लगाएको छ ।

‘नेतृत्व परिवर्तन गर्न हामी लाग्यौँ भनेर चार्ज लगाइयो, चार्ज खेपिरहेका छौँ’, थापालाई कटाक्ष गर्दै पूर्वराजाका एक सहयोगीले रातोपाटीसँग भने, ‘कस्तो पार्टीका अध्यक्ष रहेछन्, एकैचोटिमा राजाले हराइदिन सक्ने ? कार्यकर्ताले भोट नदिने, अनि राजाले फालिदियो भन्ने ?’

पञ्चायतकालदेखि कमल थापालाई बोकेर हिँड्ने राजेन्द्र लिङ्देन नै भएको उल्लेख गर्दै के कारणले त्यही लिङ्देनबाट आफू पराजित हुन पुगेँ भनेर कमल थापाले ठण्डा दिमागले समीक्षा गर्नुपर्ने उनको भनाइ छ ।

कमल थापाको सत्तालिप्सा र अनेक विवादास्पद गतिविधिका कारण पार्टीमा अलोकप्रिय बनेको निर्मल निवासको निष्कर्ष छ । ‘किनभने २४ बाट १ मा झर्ने अनि पार्टी फुटाउन पनि हामीलाई दोष दिने ?’, पूर्वराजाका ती सहयोगीको प्रश्न छ, ‘यो अवस्था कसरी आयो ?’

एजेण्डालाई एकातिर थन्क्याएर दगुर्दै सरकारमा गएको विषयमा भने पूर्वराजा ज्ञानेन्द्र कमल थापासँग बेखुसी रहेको उनले बताए । जुनकुरा पटक–पटक पूर्वराजाले निकटस्थहरुसँग भन्दै आएका छन् ।

थापाले राजतन्त्रको एजेण्डा बोके पनि प्रभावकारी ढंगले आन्दोलनलाई उचाइ दिन नसकेको निर्मल निवासको विश्लेषण छ । ‘कमल थापाको भूमिकालाई लिएर पूर्वराजा असन्तुष्ट रहेको पक्कै हो । दरबारका नाममा राजनीति गर्ने, समाजमा आफ्नो हैसियत बनाउने अनि दरबारका लागि केही पनि नगरेको त सत्य हो नि,’ उनको भनाइ छ ।

अब राजेन्द्र लिङ्देनप्रति निर्मल निवासको धारणा के हुन्छ भन्ने प्रश्नमा शाह निकट स्रोतले भन्यो, ‘वेट एण्ड सी ! अब कसरी पार्टी लैजान्छन्, हेरौं ।’

तपाईको प्रतिक्रिया

RELATED POSTS