काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष प्रकाशचन्द्र लोहनीले ‘म ठूलो हुँ’ भन्ने भाव नराख्न पार्टीका नवनिर्वाचित नेतृत्वलाई आग्रह गरेका छन् । राजेन्द्र लिङ्देन नेतृत्वको नवनिर्वाचित केन्द्रीय सदस्यहरुको शपथ तथा प्रमाणपत्र वितरण समारोहमा आइतबार बोल्दै निवर्तमान अध्यक्ष लोहनीले नेता हुनेबित्तिकै म ठूलो भएँ भन्ने भावना राख्न नहुने बताएका हुन् । उनले विधि, पद्धति, दृष्टिकोण र दर्शनमा बाँधिएर पार्टीलाई मुलुक हाँक्न सक्ने बनाउन पार्टीभित्र सबैले हातेमालो गएर अघि बढनुपर्ने आवश्यकता औंल्याए ।

लोहनीले एक वर्षभित्र आवधिक निर्वाचन हुने र त्यसमा आफ्नो पार्टीले सकेसम्म सरकार बनाउने नभए सशक्त प्रतिपक्षको रुपमा उपस्थिति जनाउने गरी देशव्यापी जागरण अभियान संचालन गर्न पनि नयाँ नेतृत्वलाई सुझाव दिए । उनले नयाँ नेतृत्वले पार्टीका अग्रजहरुको सम्मान र कार्यकर्ताहरुलाई माया गर्दै अघि बढ्ने विश्वाससमेत व्यक्त गरे ।

‘नेता हुनेबित्तिकै म ठूलो भएँ । मैले भनेको जे पनि चल्छ, होइन । पार्टीको विधि, पद्धति, पार्टीको दर्शन, दृष्टिकोणमा बाँधिएर एकले अर्कालाई टेवा दिएर, कार्यकर्तालाई नेताले संरक्षण गर्ने, नेताले कार्यकर्तालाई माया गर्ने । म ठूलो, तँ सानो भनेर न्यूनिकरण गर्ने काम नगरौं ।’

नेता लोहनीले राजसंस्था र नेपालको पहिचान हिन्दुराष्ट्रको एजेन्डालाई लिएर देशव्यापी रुपमा पुनर्जागरण अभियान चलाउनु पर्ने पनि बताए । ‘हाम्रो आन्तरिक प्रतिस्पर्धा थियो । अब सकियो । अब प्रतिस्पर्धा को सित हुन्छ ? नेकपा एमाले, नेपालको जेठो पार्टी भनिएको नेपाली कांग्रेस, माओवादी । यी दलहरुसित प्रतिस्पर्धा गरेर जाने चुनौती अर्को एक वर्षमा हामीलाई आउँछ । त्यसका लागि हामीले संगठन विस्तार गरेर लैजानुपर्ने हुन्छ । कि त पार्टीले सत्तामा गएर देखाउँछौं कि त हामी सशक्त प्रतिपक्षमा रुपमा बसेर देखाउँछौं भन्ने दाबी गर्न सक्नुपर्दछ,’ उनले भने, ‘अर्कोतिर हामीले राष्ट्रिय पुनर्जागरणको अभियानलाई पनि सँगसँगै लैजानुपर्ने हुन्छ । संविधानभित्रको राजसंस्था र नेपालको पहिचान हिन्दु राष्ट्रको मुद्दालाई लिएर देशव्यापी रुपमा पुनर्जागरण अभियानमा जानुपर्छ ।’

कांग्रेस, एमालेले राज्यस्रोतको दुरुपयोग र संविधानलाई खेलौना बनाएको भन्दै निवर्तमान अध्यक्ष लोहनीले त्यसविरुद्ध बोल्ने आँट राप्रपाले गर्नुपर्ने उनको भनाइ थियो । ‘पछिल्ला चार/पाँच वर्षको बीचमा नेपाली कांग्रेस र नेकपा एमालेले हाटहुट कम्पनीको रुपमा काम गरेका छन् । जहाँ गए पनि भ्रष्टाचार, अराजकता, संविधानलाई खेलौना सम्झेर आफ्नो स्वार्थको लागि प्रयोग गर्ने र नेपालीको स्रोत, साधन र सम्पत्तिमा भागबन्डाको आधारमा लुट मच्चाइयो । यसको विरुद्धमा बोल्ने, यसलाई रोक्ने, यो गर्न दिँदैनौ भनेर औंला ठड्याउन सक्ने शक्ति भनेको अब हामी नै हुनुपर्दछ । त्यो चुनौतीलाई लिएर हामी जाऔं ।’

तपाईको प्रतिक्रिया

RELATED POSTS