नवनिर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मतदाताको शीर झुक्ने काम नगर्ने बताएका छन्। ‘तपाईहरूले विश्वास गरेर हामीलाई यो जिम्मेवारी दिनुभएको छ। तपाईँको विश्वासमा कुठाराघात र धोका हुन्न। थुक्क यो राजेन्द्र मोरा पनि उस्तै चोर रै’छ भन्ने मौका दिनेछैंन’, अध्यक्षमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै उनले भने, ‘तपाईँको शीर झुक्ने काम गर्दिनँ।  उनले नेतृत्व परिवर्तन सामान्य कुरा नभएको भन्दै आफूले त्यो आँट गरेर देखाएको बताए।

‍अध्यक्ष लिङ्देनले पार्टीमा चलिआएको परम्परालाई तोड्दै नयाँ सुरुवात गरेको भन्दै पार्टीलाई पुस्तान्तरण गरेको बताएका छन्। उनले पुस्तान्तरणको कुरा गर्ने कांग्रेस, एमाले र माओवादी केन्द्र जस्ता ठूला पार्टीलाई पनि यस मुद्दामा राप्रपाले नेतृत्व गर्ने जिकिर गरे। ‘२०४६ सालपछि राष्ट्रको नेतृत्वमा रहेको असफल पुस्तालाई परिवर्तन गर्न आवश्यक छ भन्ने एमाले कांग्रेस र माओवादीका पुस्तान्तरणका कुरा गर्ने नेताहरूलाई पनि राप्रपाले नेतृत्व गर्छ । हामीले पुस्तान्तरण गरेर देखाएका छौँ,’ उनले भने।

उनले अब राष्ट्रप्रमुखका रूपमा राजा र सोझै जनताले चुन्न पाउने प्रधानमन्त्रीय प्रणालीका लागि राप्रपाले अभियान अघि बढाउने बताए। राप्रपा बाहिर भएका राजसंस्था र हिन्दू राष्ट्र चाहिन्छ भन्ने सबै संघ संगठन र पार्टीलाई एकताबद्ध गरेर लैजाने उनले बताए। ‘राजा चाहियो भन्ने जनता हामी भन्दा बढी सडकमा छन् । हामीले जोड्न सकेका छैनौँ,’ उनले भने, ‘६ महिनाभित्र राष्ट्रप्रमुखको रूपमा राजा, कार्यकारीमा सोझै जनताले चुन्ने प्रधानमन्त्री चाहने सबै नेपालीलाई जोड्छौँ ।’

उनले पुराना कुराको पनि संरक्षण गरेर अगाडि जान सकिने प्रतिक्रिया दिए।

‘पुराना अध्यक्षहरूको साथ, अभिभावकत्व र सहयोगबाट नवीन राप्रपा बनाउँछौं। उहाँहरूको आशंका निवारण गर्ने, उहाँहरूलाई उचित स्थान दिनुपर्ने। यी सबै जिम्मेवारी हाम्रो काँधमा आएका छन्’, उनले भने।

नवनिर्वाचित अध्यक्ष लिङ्देनले ६ महिनाभित्रमा राजसंथा र हिन्दू राष्ट्रको पक्षमा सबैलाई एकमत बनाउने उद्घोषसमेत गरेका छन् ।

‘६ महिना भित्रमा हिन्दु राष्ट्र र राजतन्त्र फर्कन्छ, जनताले सोझै चुन्ने प्रधानमन्त्री बनाउनुपर्छ र संवैधानिक अंगमा दलको भागबण्डाका आधारमा होइन। योग्यताका आधारमा राखिने राप्रपा बन्नेछ’, उनले भने,‘ यस्तो चाहना राख्ने सबै नेपालीलाई राप्रपामा जोड्नेछौं।’

उनले आजबाट राप्रपा एक भएको उद्‍घोषसमेत गरे। राप्रपामा हिजो जे जस्तो भए पनि आजबाट एउटै भएको जिकिर गरे।

‘हिजो जे जस्तो भए पनि आजबाट हामी सबै एक भएका छौ। कोही कुनै पक्षका छैनौं,’ उनले भने,‘ राप्रपाका कार्यकर्ताका लागि सबैभन्दा ठूलो उपलब्धि भनेको एउटा नेताको मान्छे भएर जानुपर्थ्यो। अब राप्रपाका मान्छे भएर जानेछौं। आजबाट कुनै गुट छैन राप्रपामा सबै राप्रपाका मान्छे हुन्।’

उनले राप्रपाको कमिकमजोरी सच्चाएर कांग्रेस, कम्युनिस्ट पार्टीको विकल्पमात्र होइन, जनताको मन जित्ने पार्टी बनाउने बताए ।

‘राप्रपाको ३१ वर्षको इतिहासमा खिइँदैखिइँदै कमजोर हुँदै आउने क्रममा अहिले सर्वाधिक कमजोर अवस्थामा छ’, उनले भने, ‘यो राष्ट्रिय पार्टीको रूपमा समेत छैन। विभाजित हाम्रो पार्टी फेरि हामीले एकीकण गर्‍यौं। एकीकरण गरेको दुई वर्ष वित्दा पनि हाम्रा नेताहरूले पार्टीमा सुधार र विकासका कुनै संकेतहरू देखाउनु भएन । यो बीचमा ठूलाठूला राष्ट्रिय मुद्दाहरू र घटनाहरू भए त्यस्तो अवस्थामा राप्रपा कहाँ छ भन्ने थाहा भएन । त्यस्तो अकर्मण्य मात्र भएन, बरु उहाँहरू झगडा गरेर बस्नुभयो ।’

यसैबीच उनले आफ्नो विजयमा जुलुस ननिकाल्न र माला नलगाइदिन आह्वानसमेत गरे। ‘कुनै जुलुस निकाल्न पर्दैन । नाराबाजी गर्नुपर्दैन । माला बोकेर आउनुपर्दैन,’ लिङ्देनले भने, ‘यो आन्तरिक चुनाव हो, आजबाट सकियो । माला बोकेर आएन भनेर के भन्छ कि भन्नुपर्दैन । माला बोकेर आउनुपर्दैन है तपाईँहरू।’

 

तपाईको प्रतिक्रिया

RELATED POSTS