काठमाडौँ — कांग्रेस सभापतिमा शेरबहादुर देउवाको प्रतिस्पर्धी को ? महाधिवेशन ढोकामै आइपुग्दा पनि अनिश्चय उस्तै छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले ‘ससर्त’ दाबी छाडेका छन् ।

तर, शेखर कोइराला र प्रकाशमान सिंहबीच सहमति नभएसम्म पौडेल मिलनबिन्दु बन्ने सम्भावना पनि उत्तिकै बलियो छ । यसै सन्दर्भमा कांग्रेस नेता प्रकाशमान सिंहसँग गरिएको कुराकानी :

आजको बैठकपछि देउवाइतर समूहबाट साझा उम्मेदवारी हुने सम्भावना बढेको हो ?

एक जना मात्रै उम्मेदवार हुनुपर्छ भन्ने सबै साथीहरूको दबाब छ । हामीहरू गृहकार्यमै छौं । भोलि फेरि छलफल गर्छौं ।

आजको बैठकको केही प्रगति के हो ?

विषय अब शेखरदा र ममध्ये को हुने भन्ने ठाउँमा आइपुगेको छ । मैले शेखरदालाई उमेरमा तपाईं सिनियर हो, राजनीतिले होइन भनेको छु । पार्टीको मुख्य जिम्मेवारीमा बसेर अनुभव नलिएकाले कसरी पार्टी चलाउनु हुन्छ ? म गिरिजाप्रसाद कोइराला सभापति हुँदा पनि उपसभापति भएँ, सुशील कोइराला सभापति हुँदा निर्वाचित महामन्त्री भए ।

रामचन्द्र पौडेल संसदीय दलको नेता हुँदा उपनेता भएँ । पछि शेरबहादुर देउवासँग संसदीय दलको नेतामा प्रतिस्पर्धा गरें । मसँग धेरै अनुभव छ । बरु मुख्य पदहरूमा ‘पावर सेयरिङ’ गरौं, तपाईं प्रधानमन्त्री बन्नुहोस्, पार्टी सभापति भएपछि म प्रधानमन्त्री बन्दिनँ भन्दै आएको छु । अहिले पनि कुरा त्यसैमा छ ।

तपाईं पनि एक व्यक्ति एक पदमा जानुपर्छ भन्नेमा हुनुहुन्छ ?

हो, पार्टी लथालिंग छ, मेरो ध्यान पार्टी बनाउनेमा हुन्छ भनेर दुवै जनालाई भनेको छु । हुन पनि अहिले प्रधानमन्त्री र राष्ट्रपति हुने मेरो उद्देश्य छैन । तपाईंहरू को राष्ट्रपति हुने, को प्रधानमन्त्री बन्ने सहमति गर्नुहोस्, पार्टीलाई विधिसम्मत् चलाउन र आगामी निर्वाचनमा बहुमतमा पुर्‍याउन मेरो अनुभवले काम गर्छ, मलाई मौका दिनुहोस् भनेको छु ।

तपाईंको प्रस्तावमा शेखर कोइरालाको प्रतिक्रिया के छ ?

होइन, सबै साथीभाइहरूको सुझाव लिएर अघि बढौं, जिल्लाका सभापति, पूर्वसभापति, प्रदेश सभापति र पराजित उम्मेदवारलाई राखेर राय लिऊँ, त्यसपछि निर्णयमा पुगौंला भन्नुभएको छ ।

तपाईंहरू दुईमध्ये एकले अर्कोलाई नमान्ने स्थिति भयो भने के गर्ने ?

शेरबहादुरजीसँग प्रतिस्पर्धा गर्न एक जना मात्र उम्मेदवार हुनुपर्छ । सबै साथीहरूको दबाब पनि त्यही छ । शेरबहादुरजीसँग प्रतिस्पर्धा गर्न अनुभव भएको, सबैले स्वीकार गर्न सक्ने ‘सिनियर’ हुनुपर्छ । म नेविसंघको कार्यकर्तादेखि नै संघर्ष गर्दै आएको व्यक्ति हो । धेरै खालका संघर्ष गर्दै आएको छु । पार्टीभित्र आन्तरिक लोकतन्त्रका लागि लामो संघर्ष गरेको व्यक्ति हुँ । त्यसैले शेरबहादुरजीसँग प्रतिस्पर्धा गर्न मलाई छोडिदिनुहोस् भनेको छु । हेरौं के हुन्छ ।

तपाईंहरूबीच सहमति हुने सम्भावना कति छ ?

सहमति हुने वातावरण बनेको छ । तर, शेरबहादुरजीलाई जित्ने हिसाबले को उपयुक्त उम्मेदवार हुन्छ भन्ने आधारमा निर्णय गर्नुपर्ने हुन्छ । शेखरदालाई पार्टीभित्रै धेरैले गम्भीरतापूर्वक लिएका छैनन् । समयको मागअनुसार नेतृत्व परिवर्तन गर्न सक्ने उम्मेदवार हामीले दिनुपर्दछ । इकान्तिपुर बाट

तपाईको प्रतिक्रिया

RELATED POSTS