काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा दुई महामन्त्रीमा ६ जना चुनावी मैदानमा छन्, जसमध्ये तीन जना (विश्वप्रकाश शर्मा, गगनकुमार थापा र प्रदीप पौडेल) त युवा नेताका रुपमा चुनिएकाहरु छन् । युवाहरुको प्रतिस्पर्धाले महाधिवेशन प्रतिनिधिहरुलाई राम्रोमध्ये एउटा राम्रो छान्ने अवसर दिएको मान्छन् महामन्त्रीका उम्मेदवार शर्मा । साथै यो महाधिवेशनले देशभरिबाट आएका प्रतिनिधिहरुले कस्तो कांग्रेस ? कुन प्रवृत्तिको कांग्रेस ? कति बदलिएका कांग्रेस ? भन्ने सन्देश दिने उनको विश्लेषण छ ।

प्रस्तुत छ, महामन्त्रीका उम्मेदवार शर्मासँग गरिएको संक्षिप्त कुराकानी :

महामन्त्रीका उम्मेदवारका रुपमा तपाईंको एजेण्डाहरु के–के हुन् ?

मेरो एजेण्डा के भन्दा पनि नेपाली कांग्रेसको महामन्त्रीले गर्नुपर्ने जिम्मेवारी के हो ? भन्ने प्रश्न महत्वपूर्ण हो । यसमा मूलतः ३ वटा कुरा पर्दछ । एउटा, संगठनको व्यवस्थापनको पाटो अर्थात् केन्द्रीय कार्यालयदेखि संगठनको आन्तरिक प्रशासनसम्म व्यवस्थापन गर्ने । यस सन्दर्भमा मैले केही हासिल गरेका अनुभवहरु छन् । अर्गनाइजेसन म्यानेजमेन्टको सन्दर्भमा केही क्षमता राखौंला, विश्वप्रकाशले राख्ला भन्ने साथीहरुले सोच्नुहुन्छ भन्ने मान्यता म राख्दछु ।

दोस्रो, संगठनक व्यवस्थित गरेपछि त्यसलाई सार्वजनिक गर्नुपर्यो, प्रचारमा लैजानुपर्यो । मैले अहिले जेजे जिम्मेवारी निभाएको छु, त्यसले मलाई क्षमता दिएको छ भन्ने म सोच्दछु ।

तेस्रो, संगठनलाई सही गति दिन विचार चाहिन्छ, केही नीतिगत, केही रणनीतिगत कुराहरु चाहियो । मैले जुन बेला नेपाल विद्यार्थी संघलाई ड्राइभ गरेँ, या पार्टीको प्रचार विभागलाई ड्राइभ गरेँ । त्यसक्रममा मैले व्यवस्थापन, प्रचार र विचार निर्माणमा केही दृष्टिकोण बनाउन सकेको छु, अनुभव हासिल गरेको छ । यसैको जगमा उभिएर कांग्रेस कांग्रेसका रुपमा देखिन्छ, बलियो बन्छ भन्ने लाग्छ । त्यस बाहेक बाँकी अरु एजेण्डा त छँदैछ ।

यो एजेण्डा लिएर जाँदा कस्तो प्रतिक्रिया पाउनु भयो ?

देशभरिबाट जोजो महाधिवेशन प्रतिनिधिहरु आउनुभएको छ, हरेकमा मैले परिवर्तनको आकांक्षा देखेको छु । कांग्रेसमा रुपान्तरणको चाहना देखेको छु । र, मैले विश्वप्रकाश शर्माहरु (हरु भन्न रुचाउँछु), प्रति एउटा अपेक्षा देखेको छु । त्यो अपेक्षाभित्र रुपान्तरित कांग्रेस, बदलिएको कांग्रेस पर्छ । बदलिएको कांग्रेस, बलियो कांग्रेसका लागि हो । बलियो कांग्रेस निर्वाचन जित्न सक्ने तागतका लागि हो । निर्वाचन जित्ने केका लागि भन्दा सरकार सञ्चालन गरेर मुलुकलाई हाँक्न, समृद्धिका लागि हो । अहिलेका युवाले देखेको सपनासँग बीपी कोइरालाले हिजो देख्नु भएको सपनालाई एकाकार गरेर समय सापेक्षा सपनालाई निर्माण गर्न होला त्यसैले महाधिवेशन प्रतिनिधिले विश्वप्रकाशहरुको पुस्तालाई नेतृत्वमा खोज्दै गर्दा केवल व्यक्तिको भौतिक उमेरको कुरासँग होइन, एउटा लामो यात्राको सपनासँग सोचेर हिँडेको मेरो बुझाइ छ ।

हिजो नेवि संघको एउटै कमिटीमा बसेका साथीहरु पनि हुनुहुन्छ, केही सिनियर पनि हुनुहुन्छ । युवा युवा नै महामन्त्रीमा भिड्दा छनोट गर्न गाह्रो होला नि ?

त्यस्तो समाज, जहाँ अफ्ठ्यारो हुँदैन, छान्नै पर्दैन, त्यो त समाज बन्द समाज हुन्छ । हाम्रो समाजमा एकसे एक साथीभाइको बीचमा प्रतिष्पर्धा हुन्छ । म सोच्दछु कि मभन्दा पछिल्लो पंतिको भाइहरु जो हुनुहुन्छ, मभन्दा झन् तेरतरार योग्यता राख्दै आउनु भएको छ । मभन्दा अघिल्लो पंक्तिका दाइ साथीहरु अनुभवी हुनुहुन्छ । भनेपछि कोही मभन्दा बढी योग्यता राख्नु होला । कोहीको उमेर बढी होला । यसले खराबमध्ये एउटा खराब अथवा खराबमध्ये कम खराबलाई छान्नुभन्दा राम्रो मध्येको एउटा राम्रोलाई छान्ने अवसर हो । तुलनात्मक रुपमा कसलाई छान्दै गर्दा अलि बढी तार्किक हुन्छ, न्यायापूर्ण हुन्छ, कसलाई बढी मत दिँदा साचो अर्थमा मेरो मनको प्रतिनिधित्व जनमतको प्रतिनधित्व गर्छ भन्ने कुरालाई चाहिँ बल पुर्याउँछ ।

त्यसकारणले अहिलेको महाधिवेशनले दिने सन्देश नेतृत्वले के/के चाहिरहेको छ, कुन/कुन तहका कुन/कुन तहका नेताहरुले के/के चाहनुभएको छ भन्ने भन्दा पनि देशभरिबाट आएका महाधिवेशन प्रतिनिधिहरुले कस्तो कांग्रेस ? कुन प्रवृत्तिको कांग्रेस ? कति बदलिएका कांग्रेस ? कति बलियो कांग्रेस बनाउन चाहनुहुन्छ भन्ने हो ।

तपाईंले उमेर होइन एजेण्डा भन्दै आउनु भएको छ । तर यो पटकको महाधिवेशनमा एजेण्डासँग उमेर अर्थात पुस्तान्तरणको मुद्दा पनि बलियोसँग उठेको देखिन्छ नि ?

कसैले विश्वप्रकाश शर्माहरुतिर फर्किएर तिम्रो एज पुगेको छैन भनेर भन्यो भने एज पुगेको छ या छैन होइन, एजेण्डा पो उपयुक्त छ छैन हेर्नुपर्छ भन्छौं । किनकी जो कसैले पनि आफूलाई एजेण्डाको जगमा उभ्याउनसक्छ । एजेण्डाको कुरा छैन, भौतिकरुपमा म उपस्थित छु भनेर भनिरहन्छ भने चाहिँ उमेरको कुरा प्रश्न भएर आउँछ । जब एजेण्डा प्रधान भएर आउँछ, एज गौण भएर जान्छ ।

आज संसार केमा छ भने आइडोलोजीको द्वन्द्व एकहिसाबले किनारामा गएको र सबैले उस्तैउस्तै खाल्को चाहिँ एजेण्डा बोक्न थालेको छ । त्यसले गर्दैगर्दा एजेण्डाको कुरा प्रधान कुरा हो ।

एजेण्डाको कुरा सही हुँदै गर्दा बाराक ओबामा नाम गरेको युवाले पनि अमेरिका हाँक्नु भयो । एजेण्डाको कुरा सही हुँदै गर्दा ट्रम्पभन्दा अलि बुढा जो बाइडन अमेरिकाको राष्ट्रपति हुनुभयो । त्यसकारण शाश्वत कुरा चाहिँ एजेण्डा नै हो ।

त्यसैले उमेर गौण हो, एजेण्डा प्रधान हो । अहिलेको सन्दर्भमा विश्वप्रकाश शर्माहरुले जुन एजेण्डा राखेका छन्, त्यसले कांग्रेसलाई रुपान्तरण गर्ने तागत राख्छ । मैले राखेको दुई कार्यपत्रमध्ये एउटामा हिजो राजनीतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन भन्ने ल्याएँ असोज ३ गते संधिवान दिवसको दिन झापाको विर्तामोडबाट । मंसिर १ गते चितवन पुगेर दलमा रुपान्तरण देशमा रुपान्तरणको अनिवार्य सर्त भनेर ल्याएँ । मेरो दलगत स्वार्थ भन्ने हो कांग्रेसको रुपान्तरण मात्र भन्थेँ होला । तर मेरो सैद्धान्तिक र व्यावहारिक विश्लेषणमा दलहरु रुपान्तरित भए भने देशको रुपान्तरणमा गति दिन्छ । दलहरु यही ढंगको तदर्थवादी रही रहे भने देशको प्रगतिको यात्रालाई पनि तदर्थवादी बनाउँछ ।

त्यो हिसाबले पनि यो महाधिवेशन कांग्रेसका लागि अझ महत्वपूर्ण छ भन्न हो ?

निश्चय पनि कुनै दलको अधिवेशन त्यो दलका लागि महत्वपूर्ण हुनु स्वभाविक हो । तर, कांग्रेसको अधिवेशन कांग्रेसका लागि जति महत्वपूर्ण छ, अहिलेको समाज व्यवस्थाको रुपान्तरण, सामाजिक मनोविज्ञानको रुपान्तरण, अहिलेको समद्धिको स्रोतको रुपान्तरणका लागि यो महाधिवेशन महत्वपूर्ण छ । अनलाईनखबर बाट 

तपाईको प्रतिक्रिया

RELATED POSTS