काठमाडौं । नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले संघीय संसदको जारी गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाले पहल गर्नुपर्ने बताएका छन् । सभामुखले पहल नगरेका कारण संसदको गतिरोध लम्बिएको उनको टिप्पणी छ । पार्टीले माधव नेपालसहित १४ जना सांसदलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै एमालेले २३ भदौ २०७८ देखि संघीय संसदमा नाराबाजी गर्दै आएको छ । अघिल्लो अधिवेशन पुरै संसदको काम कारबाहीमा भाग नलिएको एमालेले मंगलबार शुरु भएको हिउँदे अधिवेशनमा पनि अवरोध र नाराबाजीलाई निरन्तरता दिएको छ ।

संसदमा जुन इस्यु (१४ जना सांसदको कारबाही) छ । हामीले यस्तै गर्नुपर्छ भनेका छैनौं, कानुन बमोजिम गर भनेको हो । उहाँ (सभामुख) ले काम गरिदिनुपर्यो । अनि त्यही नगर्ने ? केही पनि नगरेपछि उहाँ (सभामुख) नेता रहनुभएन । हामीले गम्भीर विषय पो उठाएका छौं त’ उपनेता नेम्वाङले अनलाइनखबरसंग भने ।

‘संसद अवरोध कहिलेसम्म ?’ भन्ने प्रश्नमा नेम्वाङ भन्छन्, ‘माग सम्बोधन नभएसम्म ।’ सभामुखले अब पनि एमालेले कारबाही गरेका १४ जना सांसद पदमुक्त भएको भनी सूचना टाँस गर्न सक्ने नेम्वाङको भनाइ छ ।

सभामुख अग्निप्रसाद सापकोटाले भने एमालेले उठाएको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको बताउँदै आएका छन् । सभामुख सापकोटाले एमालेले संसद अवरोध गर्नु कानुनसम्मत नरहेको सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् ।

गत सोमबार नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा पत्रकारहरुसंग कुरा गर्दै सभामुखले भनेका थिए, ‘उहाँहरु (एमाले) ले जे गरिराख्नुभएको छ त्यो संविधान, नियम, कानून अनुसार छैन । नेपाली जनताले यसलाई छर्लङ्ग बुझेका छन् ।’ सभामुख सापकोटाले आफूले निष्पक्ष र तटस्थ भूमिका नै निर्वाह गरेको र गरिरहने प्रतिवद्धता व्यक्त गरेका थिए ।

यसबारे प्रमुख विपक्षी नेकपा एमाले संसदीय दलका उपनेता नेम्वाङको टिप्पणी छ, ‘उहाँको भाषणले हुँदैन । उहाँले त काम पो गर्ने हो त । कानुन बमोजिम जे गर्नुपर्ने हो त्यो काम पो गर्नुपर्छ ।’

सभामुख सापकोटालाई उपनेता नेम्वाङको आग्रह छ, ‘…सभामुखले बोल्नुपर्छ । १४ जनाको कारबाही हुँदैन भने कुन कानुन अनुसार हुँदैन भनेर भनिदिए भयो ।’

एमाले संसदीय दलका उपनेता नेम्वाङसंगको छोटो संवाद

एमालेले न्याय संसदबाट खोजेको कि सर्वोच्चबाट ?

संसदमा जुन इस्यू छ । हामीले यस्तै गर्नुपर्छ भनेका छैनौं, भन्दैनौं । कानुन बमोजिम गर भनेको हो । उहाँ (सभामुख) ले काम गरिदिनुपर्यो । अनि त्यही चाहिँ नगर्ने ? केही पनि नगरेपछि उहाँ (सभामुख) नेता रहनुभएन । हामीले गम्भीर विषय पो उठाएका छौं त । हामीले भेदभाव गर्नुभएन भनेर प्रष्ट भनेका छौं ।

भनेपछि यो विषयमा सभामुख बोल्नुपर्छ भन्नुभएको ?

सभामुखले बोल्नुपर्छ । १४ जनाको कारबाही हुँदैन भने कुन कानुन अनुसार हुँदैन भनेर भनिदिए भयो ।

सभामुखले त एमालेको माग कानुनसम्मत नभएको भन्नुभयो नि ?

उहाँको भाषणले हुँदैन । उहाँले त काम पो गर्ने हो त । कानुन बमोजिम जे गर्नुपर्ने हो त्यो काम पो गर्नुपर्छ ।

संसद अवरोध कहिलेसम्म गर्नुहुन्छ ?

माग सम्बोधन नभएसम्म ।

एमालेले कारबाही गरेका १४ सांसद यी यी हुन् भनेर सभामुखले सूचना टाँसिदिनुपर्‍यो ?

टाँसिदिनुपर्‍यो ।

सर्वोच्च अदालतमा पनि त मुद्धा हाल्नुभएको छ त ?

छ ।

संसद र अदालत दुबैतिरबाट न्याय खोज्नुभएको ?

दुबैतिरबाट हो । उता न्यायपालिका मुद्धा अगाडि नै बढाउँदैन । यता सभामुख काम गर्दै नगर्ने । अनलाईनखबर बाट

तपाईको प्रतिक्रिया

RELATED POSTS