काठमाडौँ — राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक पुबुदु दासानायके काठमाडौं आइपुगेका छन् । मंगलबार बिहान उनी काठमाडौं आइपुगेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यानका क्रिकेट म्यानेजर विनोद दासले स्वागत गरेका थिए ।

क्यानले दासानायकेलाई गत मंसिर २५ गते राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।

पुबुदु यसअघि पनि ४ वर्ष नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी निभाएका थिए । २०११ को अक्टोबरमा पहिलो पटक नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका दासानायकेकै प्रशिक्षणमा नेपालले सन् २०१४ मा बंगलादेशमा भएको ट्वान्टी-२० विश्वकप खेलेको थियो । जुन नेपाली खेलकुदको अहिलेसम्मकै ठूलो उपलब्धि थियो। नेपालको प्रशिक्षकका रूपमा काठमाडौंमा भएको एसीसी ट्वान्टी–२० कप दासानायकेको पहिलो आधिकारिक प्रतियोगिता थियो।

अस्ट्रेलियाका डेभ ह्वाटमोरले राजीनामा दिएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा नयाँ प्रशिक्षक खोजिएको थियो । नेपाली टोलीको मुख्य प्रशिक्षक बन्न ६० जनाले आवेदन दिए पनि सर्टलिस्टमा १५ जनालाई छनोट गरी अन्तिम चरणमा ५ जनाको अन्तर्वार्ता लिइएको थियो । यसपटक पुबुदुसँगै भारतीय प्रशिक्षक मोन्टी देसाई पनि प्रतिस्पर्धाको अग्रपंक्तिमा थिए ।

तपाईको प्रतिक्रिया

RELATED POSTS