अन्तरिक्षयात्री सर्गेइ क्रिकालेभ तत्कालीन सोभियत संघको एमआइआर स्पेस स्टेशनबाट पूरै संसार देख्न सक्दथे । तर त्यस उचाइबाट उनले त्यो राजनीतिक संघर्ष देखिरहेका थिएनन् जसको आगोमा उनको देश जलिरहेको थियो । यो घटना सन् १९९१ मे १८ को हो जब क्रिकालेभ सोयुज अन्तरिक्षयानमा बसेर पाँच महीना लामो मिसनमा स्पेस स्टेशनमा पुगेका थिए । उनीसँगै सोभियत संघका थप एकजना अन्तरिक्षयात्री अनातोली अर्टेबास्र्की र बेलायती वैज्ञानिक हेलेन शरमन पनि अन्तरिक्षमा गएका थिए ।

अन्तरिक्षयान काजाकिस्तानको बैकानूर अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण भएको थियो । त्यो त्यहीँ केन्द्र थियो जसको सामर्थ्यमा सोभियत संघले अन्तरिक्ष दौडमा अमेरिकालाई पछार्दै पृथ्वीको कक्षमा पहिलो उपग्रह स्थापित गर्नेदेखि लाइका नामक कुकुरलाई अन्तरिक्षमा पठाउने र अन्तरिक्षमा पहिलो मानवको रुपमा सन् १९६१ मा युरी गागरिनलाई पठाउनमा सफलता प्राप्त गरेको थियो ।

त्यस समयसम्म एमआइआर अन्तरिक्ष स्टेशन अन्तरिक्ष अभियानको क्षेत्रमा सोभियत संघको तागतको प्रतीक बनिसकेको थियो । क्रिकालेभ एक नियमित मिसनमा अन्तरिक्षमा गएका थिए । उनले स्पेस स्टेशनका कतिपय पाटपुर्जाहरू मर्मत गरी स्टेशनमा सुधार गर्नु थियो । तर जतिबेला अन्तरिक्षमा सबैचिज नितान्त ठीक ढंगले चलिरहेको थियो पृथ्वीमा चाहिँ उनको मुलुक सोभियत संघको अवस्था तीव्र गतिमा बिग्रिदै थियो ।

क्रिकालेभ अन्तरिक्षमै भएको बखत केही महीनामै विशाल तथा शक्तिशाली सोभियत संघ विखण्डित भयो ।जसका कारणले एक सहज मिसनमा अन्तरिक्षमा पुगेका क्रिकालेभ केही महीनाका लागि त्यहीँ अड्किकए । उनले पहिले तोकिएको भन्दा दोब्बर समय अन्तरिक्ष केन्द्रमा बिताउनुपर्‍यो ।

सबैभन्दा चर्चित अन्तरीक्ष यात्री

यो सर्गेइ क्रिकालेभ नामका ती अन्तरिक्ष यात्रीको कथा हो जो दश महीनाको समय अन्तरिक्षमा बिताएर धर्तीमा फर्किँदा उनको देशको नाम संसारको नक्शाबाट मेटिइसकेको थियो । आफ्नो त्यहीँ मिसनका कारण उनी संसारभर सोभियत संघका अन्तिम नागरिकको रुपमा चर्चित भए । क्रिकालेभको जन्म सन् १९५८ मा तत्कालीन सोभियत संघको लेनिनग्रादमा भएको थियो, जसलाई अहिले सेन्ट पिटर्सबर्ग भनिन्छ ।

सन् १९८१ मा उनले लेनिनग्राद मेकानिकल इन्स्टिच्यूटबाट मेकानिकल इन्जिनियरिङ विषयमा स्नातक सम्मको पढाइ पूरा गरे र चार वर्षको तालीम पश्चात् उनी एक अन्तरिक्षयात्री बने । सन् १९८८ मा उनले पहिलो पटक एमआइआर स्पेस स्टेशनमा पुगे जसले पृथ्वीभन्दा चार सय किलोमिटरको उचाइबाट पृथ्वीको परिक्रमा गरिरहेको थियो ।क्रिकालेभ हाल रुसी स्पेस एजेन्सी रस्कोमसको त्यस विभागको निर्देशक छन् जसले अन्तरिक्ष यात्रीहरूलाई अन्तरिक्षमा पठाउने काम गर्दछ ।

सन् १९९१ को मे महिनामा क्रिकालेभ आफ्नो दोश्रो अन्तरिक्ष यात्रामा थिए ।

अन्तरिक्ष अभियानहरूका इतिहासकार क्याथलिन लेभिस भन्छन् – क्रिकालेभ संसारभर निकै लोकप्रिय बने किनकि उनी एकजना यस्ता अन्तरिक्षयात्री थिए जसले अन्तरिक्ष केन्द्रको रेडियोबाट पृथ्वीमा रहेका आम मानिसहरुसँग कुरा गरे ।

लेभिस क्रिकालेभारा अन्तरिक्षमा बिताएको लामो समयतर्फ इंगित गर्दै उनी भन्छिन् – क्रिकालेभले रेडियोको प्रयोग गरेर पृथ्वीमा रहेका ती आम मानिसहरूसँग कुराकानी गर्दथे जोसँग उनको रेडियो तरंग मिल्दथ्यो । लेभिस भन्छिन् – उनले यसप्रकारले संसारभर अनौपचारिक सम्बन्ध बनाए । क्रिकालेभ एमआइआर स्पेस स्टेशनमा कहिल्यै पनि एक्लै बसेनन्, र उनी निकै प्रसिद्ध थिए । स्पेस स्टेशनमा उनीसँग अरु पनि भएता पनि रेडियोमा उनी मात्रै कुरा गर्दथे ।

इतिहासकार लेभिसका अनुसार अन्तरिक्ष केन्द्रमा उनीसँग अर्का एकजना सोभियत नागरिक अलेक्जेन्डर भोल्कोभसमेत रहेता पनि क्रिकालेभ नै अन्तिम सोभियत नागरिकका रुपमा संसारभर चर्चित भए ।

जब सोभियत संघ टुक्रियो

सन् १९९० देखि १९९१ सम्म तत्कालीन सोभियत संघ अन्तरगतका सबै गणराज्यहरुले आफ्नो स्वतन्त्रताको घोषणा गरे । सोही समयमा सोभियत संघका राष्ट्रपति मिखाइल गोर्बाचोभले आफ्नो चर्चित अभियान पेरेस्त्रोइकाको माध्यमबाट देशको आधुनिकीकरण गर्दै मुलुकलाई पुँजीवादको नजिक लगे र विभिन्न कम्पनीहरूको आर्थिक क्षमताको विकेन्द्रीकरण गरे । साथै उनले निजी व्यावसायहरूको स्थापनाको मार्ग प्रसस्त गरे ।

कम्युनिस्ट पार्टीमा यो प्रक्रियाको तीव्र विरोध गरियो । सन् १९९१ को अगष्ट १९ देखि २१ सम्म कम्युनिस्ट पार्टीको सबैभन्दा शक्तिशाली हिस्साले गोर्बाचोभविरुद्ध सत्तापलटको कोसिस गर्‍यो ।यद्यपि उक्त सत्तापलट विफल भयो तथापि यसले सोभियत संघलाई ठूलो क्षति पूरायो ।

जब गोर्बाचोभले आफ्नो मुलुकमाथिको नियन्त्रण गुमाइरहेका थिए तब क्रिकालेभ अन्तरिक्षमा थिए ।सोभियत संघमा गहिरिँदो राजनीतिक तथा आर्थिक संकटका कारण क्रिकालेभलाई अर्को आदेश नआउन्जेलसम्मका लागि अन्तरिक्षमै बस्न भनियो ।

लेभिसका अनुसार क्रिकालेभलाई जुन कुरा थाहा हुन्थ्यो त्यो पश्चिमी देशका मानिसहरूसँग गरेका कुराकानीबाटै थाहा हुन्थ्यो । किनकी त्यो समयमा सोभियत संघमा सब चिज ठीक छ भन्नेवाला राग अलापिन्थ्यो ।

क्रिकालेभकी पत्नी एलिना तेरेखिना सोभियत अन्तरिक्ष कार्यक्रममा एक रेडियो अपरेटरका रुपमा काम गरिरहेकी थिइन् । उनले आफ्ना पतिसँग कुरा गर्थिन् तर सोभियत संघको वास्तविक अवस्थाबारे जानकारी गराइनन् ।

कर्तव्य पूरा गर्ने जिम्मेवारी

क्रिकालेभ अन्तरिक्षमा आफ्नो मिसन अगाडि बढाउनेका लागि तयार भए । तर त्यो सजिलो थिएन । त्यो समय सम्झिँदै उनी भन्छन् – के मसँग पर्याप्त शक्ति होला । के म लामो समयका लागि आफूलाई तयार राख्न सकुँला ? मसँग यी प्रश्नको जवाफ थिएन ।

क्रिकालेभ र भोल्कोभ जहिले पनि फिर्ता आउन सक्दथे तर त्यसको मतलब अन्तरिक्ष केन्द्र खाली छाड्नुपर्थ्यो । लेभिस भन्छिन् – यो एक कर्मचारीतन्त्रीय समस्या थियो । उनी स्टेशन छाड्न चाहँदैनथे । तर एक अन्य अन्तरिक्षयात्री पठाउनका लागि पैसा थिएन ।

यद्यपि कजाकिस्तानसँग क्रिकालेभजस्तो अनुभवी अन्तरिक्षयात्री थिएनन् र तयार गर्नका लागि लामो समय लाग्नु स्वभाविकै थियो । यसबीच क्रिकालेभ अन्तरिक्षमा यस्तो शारीरिक तथा मानसिक प्रभावहरू झेलिरहेका थिए जसको बारेमा आज पनि पूरा जानकारी उपलब्ध छैन ।

नासाका अनुसार अन्तरिक्षमा समय बिताउँदा विकिरणको सिकार हुने आदिको जोखिम हुन्छ जसले क्यान्सर लगायतका रोगहरुको खतरा रहन्छ ।

गुरुत्वाकर्षण बलको कमीले मांसपेशी तथा बोनम्यारोमा कमीसँगै रोग प्रतिरोधक क्षमतामा पनि परिवर्तन हुनसक्छ र आइसोलेसनमा रहनुका कारणले मानिसक समस्यापनि हुन सक्दछन् ।तर क्रिकालेभलाई अन्तरीक्ष केन्द्रमा रहनु आफ्नो कर्तव्य हो भन्ने सदैव हेक्का थियो ।

क्रिकालेभको साटो कोही पनि आएन

त्यसपछि अक्टोबर महीनामा तीनजना नयाँ अन्तरिक्षयात्री एमआइआर स्पेस स्टेसनमा पुगे । तर ती मध्ये कसैले पनि क्रिकालेभले जति तालिम लिएका थिएनन् । क्रिकालेभको विषयमा सोभियत संघ बाहिरका मानिसहरू सबैभन्दा धेरै चिन्तित थिए र उनीहरू अन्तरिक्षमा छाडिएको बेबारिसे मानिसको अवस्थाको कल्पना गरिरहेका थिए ।

तर रुस सरकारका लागि त्यो समय क्रिकालेभभन्दा अन्य प्राथमिकता तथा चिन्ताहरू प्रमुख थिए ।सन् १९९१ को अक्टोबर २५ मा काजकिस्तानले आफ्नो स्वतन्त्रताको घोषणा गर्‍यो । त्योसँगै क्रिकालेभलाई पालो दिने अन्तरिक्षयात्रीलाई पठाउने कस्मोड्रम अन्तरिक्ष केन्द्र रुसी नियन्त्रणबाट बाहिरियो ।

सन् १९९१ को डिसेम्बर २५ मा सोभियत संघ पूर्ण रुपमा विखण्डन भयो । त्यहीँ दिन गोर्बाचोभले स्वास्थ्यको कारण जनाउँदै राजीनामा दिए र सोभियत संघको विधिवत अन्त भयो ।

सोभियत संघ १५ वटा देशमा खण्डित भयो । जुन देशले क्रिकालेभलाई अन्तरिक्षमा पठाएको थियो त्यो सोभियत संघबाट रुसमा परिणत भयो । जुन सहरमा क्रिकालेभको जन्म भएको थियो र जहाँ उनले पढेका थिए त्यो सहरको नाम पनि परिवर्तन भएर सेन्ट पिटर्सबर्ग बनाइयो ।

जब क्रिकालेभ फर्किए

सोभियत संघमा यी सबै घटनाक्रमहरू चलिरहेको बेला क्रिकालेभ आफ्ना साथीहरूले बजाएका गीतहरू सुनिरहेका थिए र रेडियोमा मानिसहरूसँग कुराकानी गरिरहेका थिए ।

सन् १९९२ को मार्च २५ मा क्रिकालेभ र भोल्कोभ पृथ्वीमा फर्किए । त्योसँगै क्रिकालेभले अन्तरिक्षमा ३१२ दिन बिताए र पृथ्वीका पाँच हजार पटक परिक्रमा गरे ।

उनी भन्छन् – पृथ्वीमा फर्किनु निकै सुखद थियो । हुनत हामीलाई गुरुत्वाकर्षण बलको कारण समस्या भयो तथापि हामी मानसिक बोझबाट मुक्त भयौँ । त्यो हर्षोल्लासको क्षण नभएता पनि निकै सुखद थियो ।

तर त्यो लामो यात्रापछि पनि क्रिकालेभ आफ्नो दोश्रो रोमान्चका लागि तयार थिए । उनी सन् २००० मा अन्तर्राष्ट्रिय स्पेस स्टेशन जाने पहिलो टोलीका सदस्य बने ।

अन्तराष्ट्रिय स्पेस स्टेसशन त्यो नयाँ अन्तरिक्ष युगको प्रतीक हो जसले पुरानो झगडालाई पछि छाडेर ब्रम्हाण्डका रहस्यको खोजी गर्नका लागि सबै देशबीचको सहयोगको मोडलको जन्म दियो ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS