काठमाडौं । ज्ञानेन्द्र मल्लसहित ९ खेलाडी राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा फर्किएका छन् । यससँगै नेपाली क्रिकेटको सम्भावित दुर्घटना टरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२० विश्वकप ग्लोबल क्वालिफायरका लागि ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । उनीहरुलाई १७ पुससम्म रिपोर्टिङ गर्न भनिएको थियो ।

क्यानको कारबाहीमा परेका निवर्तमान कप्तान ज्ञानेन्द्र मल्लसहित ४ जना र अन्य ५ गरी ९ खेलाडी सोमबार टिम बसेको होटल रमादा इनकोरमा आइपुगेको राष्ट्रिय टिमका म्यानेजर सुमनराज कार्कीले जानकारी दिए । सोमबार ९ जना खेलाडी आएसँगै बन्द प्रशिक्षणमा बोलाइएका ३० मध्ये २९ खेलाडी क्यानको सम्पर्कमा आएका छन् । कप्तान सन्दीप लामिछाने भने बिग बास लिग खेलिरहेकाले अष्ट्रेलियामा छन् ।

बन्द प्रशिक्षणमा बोलाइएका १४ खेलाडीले ज्ञानेन्द्र मल्लाई कप्तान र दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानबाट हटाउने तथा उनीहरुसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२२ को ६ महिना सेन्ट्रल कन्ट्र्याक्टमा नराख्ने क्रिकेट संघको निर्णयको फिर्ता नभएसम्म बन्द प्रशिक्षणमा नजाने अडान लिएका थिए । कारबाहीमा परेका चार जनाले छुट्टै र १० जनाले छुट्टै पत्र लेखेर निर्णयको फिर्ता नभएसम्म बन्द प्रशिक्षणमा नजाने अडान लिएका थिए ।

क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले शनिबार र आइतबार हटाइएका कप्तान ज्ञानेन्द्र मल्लसँग वार्ता गरेका थिए । तर वार्तामा सहमति हुन सकेको थिएन । मल्लले टी–२० को कप्तान सन्दीप लामिछानेलाई कायम राख्दा एकदिवसीयको कप्तान आफू र उपकप्तान दीपेन्द्र सिंह ऐरी नै हुनुपर्ने, ग्रेडिङ सुधार गर्नुपर्ने अडान राखेका थिए ।

तर सोमबारसम्म केही खेलाडी बन्द प्रशिक्षणका लागि क्यानको सम्पर्कमा गएपछि मल्ल दबावमा परे । आइतबार साँझसम्म उनीसहित ९ जना बन्द प्रशिक्षणमा जाने कि नजाने अलमलमा थिए । सोमबार भएको छलफलपछि सबै जना राष्ट्रिय टिम बन्द प्रशिक्षणका लागि होटलमा पुगेका हुन् ।

स्रोतका अनुसार क्रिकेट संघका अध्यक्ष चन्दले सन् २०२१ को ग्रेडिङमा नपरेका रोहितकुमार पौडेल, विक्रम शोब र गुल्सन झालाई सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन् । कप्तानबारे भने केही प्रतिवद्धता जनाएको छैन ।

म्यानेजर कार्कीका अनुसार सोमबार होटल आएकामध्ये ६ जनाको कोरोना संक्रमण परीक्षण गरिएको छ । सोमपाल कामी, करण केसी र रोहित पौडेलको परीक्षण गर्न बाँकी छ ।

यसरी सुरु भएको थियो विवाद ?

क्रिकेट संघ र खेलाडीहरुको विवाद कात्तिकमा सार्वजनिक भएको ग्रेडिङबाट सतहमा आएको थियो । क्रिकेट संघले गरेको ग्रेडिङमा खेलाडीहरुले असन्तुष्टि जनाए र सेन्ट्रल कन्ट्र्याक्टमा हस्ताक्षर नगरेका तत्कालीन कप्तान ज्ञानेन्द्र मल्लसहितका चार जनाले सञ्चार माध्यममा विवादबारे धारणासमेत सार्वजनिक गरे ।

त्यसलाई लिएर क्रिकेट संघले २५ कात्तिकमा खेलाडीहरु ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरी गरी चार जनालाई स्पष्टीकरण सोध्यो ।

खेलाडीहरुले ३० कात्तिकमा जवाफ मात्र दिएनन्, ५ मंसिरमा थप खेलाडीहरुको हस्ताक्षरसहित आफ्ना मागहरु राखेर ७ दिनभित्र जवाफ दिन ‘अल्टिमेटम’ दिए ।

क्यानले १२ मंसिरमा २७ घण्टे अर्को स्पष्टीकरण सोध्यो । खेलाडीहरुले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै क्यानले २९ मंसिरमा अनुशासन उल्लंघन गरेको ठहर गर्दै मल्ललाई कप्तान, ऐरीलाई उपकप्तानबाट हटाउनुका साथै उनीहरुसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई २०२२ मा ६ महिना सेन्ट्रल कन्ट्र्याक्टमा नराख्ने निर्णय गर्‍यो । साथै सन्दीपलाई नयाँ कप्तान घोषणा गरेको थियो ।

बन्द प्रशिक्षण सुरु

राष्ट्रिय टोलीको बन्द प्रशिक्षण भने सोमबार नै सुरु भएको छ । प्रशिक्षण सुरु गर्नुअघि प्रशिक्षक पुबुदु दशानायकेले सबै समस्या समाधान भएको प्रतिक्रिया दिएका थिए ।

सोमबार बिहान प्रशिक्षणमा गएका १४ खेलाडी

शरद भेषावकर, मोहम्मद आरिफ शेख, कुशल मल्ल, मोहम्मद आशिफ शेख, साहब आलम, पवन सरार्फ, भीम सार्की, प्रदीप ऐरी, गुल्सन कुमार झा, जितेन्द्र मुखिया, विवेक कुमार यादव, सौरभ खनाल, राजेश पुलामी मगर, किशोर महतो

सोमबार साँझ होटलमा पुग्ने ९ खेलाडी

ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, कमलसिंह ऐरी, दीपेन्द्र ऐरी, करण केसी, अभिनाश बोहरा, रोहित कुमार पौडेल, कुशल भुर्तेल र सन्दीप जोरा ।

पीसीआर परीक्षण गरेर होटलमा बसेका ५ खेलाडी

नन्दन यादव, विनोद भण्डारी, हरि शंकर शाह, विक्रम सोब र सुशान भारी

अस्वस्थ खेलाडी

सागर ढकाल

तपाईको प्रतिक्रिया

RELATED POSTS