काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । र, संघीय संसदमा जारी अवरोध हटाउन र मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता अनुमोदन गर्न प्रस्ताव गरेका छन् ।

बिहीबार मात्र बसेको पाँचदलीय समन्वय समितिले संघीय संसदको अवरोध हटाउन विपक्षी दलको नेतासँग सम्वाद गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको थियो । त्यसको दुई दिनपछि शनिबार प्रधानमन्त्री देउवा, विवक्षी दल नेकपा एमालेका अध्यक्ष ओलीलाई भेट्न उनकै निवास बालकोट, भक्तपुर पुगेका थिए ।

भेटमा देउवाले संसदको अवरोध खुलाउन र एमसीसी पास गर्न आग्रह गरेका छन् । जवाफमा ओलीले जे कारणले आफूहरुले संसद अवरुद्ध गरेको हो, त्यसबारे केही सम्बोधन भएको छैन । त्यसैले अवरोध यथावत् रहन्छ भनेका छन् ।

एमसीसीबारे पनि सत्तापक्षले नै औपचारिक रुपमा केही नभनेको ओलीको तर्क छ । अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ भन्छन्, ‘हामी त प्रतिपक्षमा छौं, त्यसमा पनि आन्दोलन गरिरहेका छौं । सत्तापक्षले औपचारिक रुपमा नबोलेकाले हामीले केही भनिरहनु परेन ।’

तपाईको प्रतिक्रिया

RELATED POSTS