बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध विमानस्थल सञ्चालन आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन् । शनिबार विमानस्थल निरीक्षण गर्दै मन्त्रीले आलेले भारतसँग हवाइ रुट अनुमतिका लागि मन्त्रालयले कुरा अगाडि बढाएको र विमानस्थल पनि जतिसक्दो छिटो संचालनमा ल्याउने बताए ।

केही समय अघि भारत भ्रमणका क्रममा आफूले भारतीय समकक्षीसँग हवाई रुट अनुमति दिन आग्रह गरेको उनले बताए । मन्त्री आलेले अहिले मौसममा आएको खराबीका कारण क्यालिब्रेसन फ्लाइटमा ढिलाइ भएको भन्दै मौसम सफा हुने वित्तिकै क्यालिब्रेसन फ्लाइट गर्न आयोजना प्रमुखलाई निर्देशन दिए ।

क्यालिब्रेसन फ्लाइटमा ढिलाइ भएको भन्दै मन्त्री आलेले असन्तुष्टि जनाउँंदै विभागका प्रमुखलाई फोन गरेर ढिला नगर्न निर्देशन दिएका थिए । मन्त्री आलेले गौतमबुद्ध विमानस्थलको आठ सय विघा जमिन हुँदासमेत एउटा मात्रै रन–वे किन बनाएको भन्दै आयोजना प्रमुख प्रवेश अधिकारीलाई प्रश्न गरे ।

आयोजनाको अहिलेसम्म करिब ९९ प्रतिशत काम सम्पन्न भएको छ । केही निर्माण र फिनिसिङका काम बाँकी छन् । मन्त्री आलेले शनिबारै बुद्ध जन्मस्थल लुम्बिनी पुगेर गुरुयोजनाका बारे जानकारी लिएका थिए ।

तपाईको प्रतिक्रिया

RELATED POSTS