राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले पृथ्वीनारायण शाह आधुनिक नेपालका निर्माता रहेको भन्दै उनकै परिकल्पना, योजना र साहसको परिणामस्वरुप आज नेपाली नाम, पहिचान र स्वतन्त्र देश प्राप्त भएको जनाएका छन् । यद्यपि, पछिल्लो कालखण्डमा पृथ्वीनारायण शाहको योगदानलाई अवमुल्यन गर्ने, अपमान गर्ने र ईतिहासको गलत व्याख्या गर्ने प्रवृत्ति देखापरेको उनले जनाएका छन् । पृथ्वी जयन्तीको पूर्व सन्ध्यामा अपिल जारी गर्दै थापाले २०६२/६३ को जनआन्दोलन पश्चात परिवर्तनलाई संस्थागत गर्ने क्रममा परम्परादेखि नेपालको अस्तित्व र स्थायित्वको आधारस्तम्भको रुपमा रहेको हिन्दुराष्ट्र, राजसंस्था र एकात्मक राज्यव्यवस्थालाई हटाएर धर्मनिरपेक्षता, गणतन्त्र र संघीयतालाई स्थापित गर्ने प्रयास भएको उल्लेख गरेका छन् ।

‘मुलतः नेपालमा आफ्नो प्रभाव बिस्तार गर्न चाहने तथा नेपाललाई नवसांस्कृतिक उपनिवेश बनाउने उदेश्यबाट पश्चिमा मुलुकहरुबाट अभिप्रेरित र प्रायोजितरुपमा आएका हुन यी मान्यताहरु,’ उनले भनेका छन्, ‘यी मान्यताहरु स्थापित गर्न र संस्थागत गर्न राज्यव्यवस्थाको महत्वपूर्ण धरोहर राजसंस्थालाई समाप्त पार्नु नितान्त आबश्यक थियो । राजसंस्था समाप्त पार्न राजसंस्थालाई राक्षसीकरण गर्नु, नेपालको गौरवपूर्ण ईतिहासलाई अपव्याख्या गर्नु तथा राजासंस्थाको योगदानलाई न्युनीकरण गर्नु आबश्यक ठानियो । त्यसैको फलस्वरुप राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहको योगदान र ईतिहासलाई समेत गलत ढंगबाट व्याख्या बिश्लेषण गर्ने तथा कलंकित गर्ने प्रयासहरु भए ।’

पछिल्लो समय ‘निर्मल निवास’प्रति विभिन्न आरोप लगाउँदै आएका थापाले पृथ्वीनारायण शाहको भने खुलेर प्रशंसा गरेका छन् । यस क्रममा उनले २०६२÷६३ को राजनीतिक परिवर्तनले नै देशमा अस्थिरता र वैदेशिक प्रभाव बढाएको जिकिर गरेका छन् । उनले नेपाली जनताको मनमस्तिष्कलाई बौद्धिकरुपमा प्रदुषित गर्न योजनाबद्ध र संगठित अभियान नै चलाइएको आरोपसमेत लगाएका छन् । प्रत्येक वर्ष पौष २७ गते पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउने परम्परासमेत २०६२÷६३ को परिवर्तन लगत्तै तत्कालीन सरकारले अन्त्य गरेको भन्दै उनले असन्तुष्टि प्रकट गरेका छन् ।

‘सरकारीस्तरबाट उपेक्षा गरिएता पनि जनस्तरबाट भने पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउने चलनमा कहिल्यै कमी आएन । बरु त्यो अझ व्यापक हुँदै गएको छ,’ उनले भनेका छन्, ‘राष्ट्रनिर्माताका बारेमा फैलाईएका भ्रमहरु समेत क्रमशः हट्दै गएका छन् ।’

आधुनिक नेपालको निर्माणसँगै प्रशासन व्यवस्था, न्याय व्यवस्था, अर्थनीति, परराष्ट्र व्यवस्था, सैन्य संगठन एवं राज्य व्यवस्थाको जग हाल्ने तथा पद्धति स्थापित गर्ने क्रममा पनि पृथ्वीनारायण शाहको महत्वपूर्ण योगदान रहेको उनको भनाइ छ ।

‘श्री ५ पृथ्वीनारायण शाहले राष्ट्र एकीकरण गरेका हुन् वा गोरखा राज्यको बिस्तार गरेका हुन् भन्ने विवाद पनि निरर्थक छ,’ थापाले भनेका छन्, ‘जसरी व्याख्या गरे पनि परिणाम एउटै हो– नेपाल राज्यको निर्माण । उनकै योगदानको कारणबाट नेपाल दक्षिण एशियाली भूभागको सबैभन्दा जेठो राष्ट्र, सगरमाथाको देश अनि बुद्ध र सीताको जन्मभूमि भन्ने सौभाग्य हामी नेपालीले प्राप्त गरेका छौं ।’

विगतमा जेजस्ता त्रुटि भए पनि अब राष्ट्रनिर्मातालाई सम्मान गर्ने र राष्ट्रिय एकता दिवस मनाउनेबारे राष्ट्रिय सहमति हुनु आवश्यक रहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS