बलिउड अभिनेता अर्जुन कपुर र अभिनेत्री मलाइका अरोराको प्रेम सम्बन्धबारे निकै चर्चा हुने गर्छ। उनीहरूले आफूहरूको सम्बन्धबारे खुलेआम स्वीकार्दै आइरहेका छन्। मलाइकाले अर्बाज खानसँग सम्बन्ध विच्छेद गरेपछि उनीहरूको प्रेमबारे चर्चा हुँदै आइरहेको छ। ४८ वर्षीया मलाइका र ३६ वर्षीय अर्जुनको उमेर अन्तरले पनि उनीहरूको सम्बन्धमा धेरैले चासो दिइरहेका हुन्छन्।

भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार उनीहरूको सम्बन्ध देखेर धेरै प्रशंसक खुसी छन्। कतिपयले भने उमेरकै कारण उनीहरूको मजाक बनाएर उडाउँछन्। मलाइका र अर्जुनले भने यसबारे खास चिन्ता र चासो देखाएको पाइँदैन। नकारात्मक टिप्पणीको बेवास्ता गरेर खुलेआमा माया साट्ने उनीहरूको व्यवहारले नै उनीहरूलाई मनपराउनेहरू झनै बढेका छन्।

तर विगत केही दिनदेखि यो प्रेमिल जोडीको व्यवहारले फरक संकेत गरिरहेको बलिउड लाइफले जनाएको छ। अहिले उनीहरूको प्रेम सम्बन्ध टुंगिएको हो कि भन्ने अड्कलबाजी चलिरहेका छन्। यसको कारणबारे बलिउड लाइफ लेख्छ, ‘छ दिनदेखि मलाइका अरोरा घरबाट निस्केकी छैनन्। उनी पूर्णरूपमा आइसोलेसनमा छिन्। उनी अर्जुन कपुरसँग एकदमै रिसाएकी र दुखी भएको बताइएको छ। त्यसैले उनले केही समय अर्जुन र अरूदेखि टाढै बस्ने निधो गरेकी छन्।’

पहिले बारम्बार मलाइकाको घर पुग्ने अर्जुन कपुर पनि यसबीच एकपटक पनि गएका छैनन्। तीन दिनअघि मात्र आफ्नी दिदी रिया कपुरको घरमा बेलुकीको खाना खान पुगेका अर्जुन मलाइकालाई भेट्दै नभेटी फर्किए। मलाइका र रियाको घर एकदमै नजिक छ।

‘रियाको घर पुगेका अर्जुन मलाइकालाई भेट्दा पनि नभेटी फर्किए। जबकि मलाइका अधिकांश समय यस्तो पारिवारिक भेलामा सहभागी हुन्थिन्,’ मलाइका-अर्जुनका निकट स्रोतका भनाइ उद्धृत गर्दै बलिउड लाइफले लेखेको छ।

बलिउड लाइफकै अनुसार अर्जुन दिदी रियाको घर जाँदा हरेकपटक मलाइकालाई भेट्थे। त्यस्तै अधिकांश समय खाना र कफीका लागि भेट्ने यो जोडीले अचेल एकअर्कालाई देखभेट समेत गरेको छैन। उनीहरूबीच के समस्या भयो भन्नेबारे कुनै जानकारी नभएको बलिउड लाइफले लेखेको छ। तर धेरैले उनीहरूको सम्बन्धमा दरार आएको अनुमान लगाइरहेका छन्।

तपाईको प्रतिक्रिया

RELATED POSTS