दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाको अहिले अचाक्ली गर्मी बढेको छ। समाचार संस्था रोयटर्सका अनुसार मंगलबार अर्जेन्टिनाको तापक्रम बढेर ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको हो। जसले गर्दा देशका विभिन्न भागमा ‘हिट वेभ’ चल्न थालेका छन्। तापक्रम बढेपछि बिजुलीको आपूर्तिमा पनि समस्या देखिएको छ। बिजुली अनियमित भएपछि मानिसहरू छाया खोज्दै हिँड्न बाध्य भएका छन्। एरिजोना स्टेट युनिभर्सिटीका अनुसार सन् १९०५ मा अर्जेन्टिनाको तापक्रम ४८.५ डिग्री सम्म पुगेको थियो।

अर्जेन्टिनाको राजधानी ब्युनोआयर्स वरिपरिका केही सहरमा अहिले पनि तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको थियो। यति धेरै गर्मी हुँदा त्यहाँका हजारौं मानिस बिजुलीबाट वञ्चित भएका थिए। बिजुली नहुँदा उनीहरूले पंख्या, एयर कन्डिसनलगायत उपकरणको प्रयोग गर्न पाएनन्। राष्ट्रिय विद्युत नियामक संस्थाका अनुसार बिजुली नहुँदा ७ लाख मानिसको जनजीवन प्रभावित बनेको थियो।

‘म घर आएँ तर घरमा बिजुली थिएन।घर हिटरजस्तै थियो,’ जोस कासाबलले भनिन्, ‘त्यसैले मैले मेरो बच्चाहरूलाई हजुरआमाको घरमा स्विमिङ गराउन लगें।’ तापक्रम ४५ डिग्रीसम्म पुगेपछि अर्जेन्टिना केही घन्टाका लागि विश्वकै सबैभन्दा गर्मी स्थानमध्ये एक बनेको रोयर्टसले जनाएको छ। सुख्खा र गर्मी मौसमले त्यहाँको बालीनालीमा पनि क्षति पुर्‍याएको छ।

‘एकाबिहानै समेत धेरै गर्मी, करिब ३१ डिग्री पुगेको थियो,’ गर्मी छल्न रूखमूनि बसेका गुस्ताभो बार्रिओसले भने,‘मसँग घरमा एयर कन्डिसन छैन र पंखाले तातो हावाबाहेक फाल्दैन। सहन नसक्ने खालको गर्मी छ।’ स्थानीय अधिकारीहरूले घामबाट टाढै रहन अनुरोध गरेका छन्। त्यस्तै पातलो लुगा र हाइड्रेट रहनसमेत उनीहरूले अनुरोध गरेका छन्।

मौसमविद् लुकास बेरन्गुवाले ‘हिट वेभ’ले अझै पनि नयाँनयाँ रेकर्ड बनाउने बताए। यसरी तापक्रम बढेपछि जलवायु परिवर्तनबारे प्रश्न समेत उठेको छ। केही वर्षयता अर्जेन्टिनाका जंगलहरूमा डढेलोका घटना बढेका छन्। त्यहाँको प्रमुख नदी डेल्टा र पारानामा पानीको तह ८० वर्षयताकै कम भएको छ।

तपाईको प्रतिक्रिया

RELATED POSTS