काठमाडौँ — सत्तारुढ दल नेपाल कांग्रेसले नेपाली भूमि लिपुलेक क्षेत्रमा भारत सरकारले सडक निर्माण गरेकोप्रति आपत्ति जनाएको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले शुक्रबार संयुक्त विज्ञप्तिमार्फत सात बुँदे धारणा सार्वजनिक गर्दै दुई देश बीचका सबै प्रश्नमा कूटनीतिक संवादबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

‘नेपाल–भारत संयुक्त आयोगमा दुई देश बीचको सबै प्रश्नमा कूटनैतिक संवादबाट समाधानमा पुग्ने गरी भएको सहमतिविपरीत लिपुलेकमा सडक निर्माण भनेर आएको विषय गम्भीर छ, आपत्तिजनक छ र अविलम्ब यो रोकिनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको’ भनेर केही दिनअघि एक कार्यक्रममा अभिव्यक्ति दिएका थिए । त्यही विषयलाई लिएर कांग्रेसले आफ्नो धारणा सार्वजनिक गरेको हो ।

कांग्रेसले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भू–भाग भएको दोहोर्‍याएको छ । महामन्त्रीद्वय थापा र शर्माले यी भूगोलमा नेपालको भोगाधिकार कायम हुनुपर्नेमा समेत कांग्रेस स्पष्ट भएको दाबी गरेका छन् ।

कांग्रेसले कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने माग गरेको छ ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS