काठमाडौँ — बेलायतले नेपालसँग श्रम सम्झौता गरेपछि मात्रै कामदारको रुपमा नर्सहरू लैजाने सहमति जनाएको छ । नेपाल र बेलायतका अधिकारीहरूबीच शुक्रबार काठमाडौंमा भएको बैठकमा श्रम समझदारी भएपछि नर्सको भर्ना प्रक्रिया अगाडि बढाउने सहमति भएको हो । श्रम समझादारी गर्नका लागि दुवै पक्षले प्रक्रिया अगाडि बढाएको छ ।

बैठकमा सहभागी भएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह प्रवक्ता थानेश्वर भुसालका अनुसार नर्समा जानको लागि कुनै खर्च लाग्दैन । ‘यो बैठकले बेलायतमा कति जना नर्स लैजाने भन्ने टुंग्याएको छैन । श्रम समझदारी गर्ने सहमति भने भयो’, उनले भने,‘बेलायत जाने नर्सले कुनै पनि शुल्क बुझाउनु पर्दैन । छनोट भएका नर्सले भाषा परिक्षाको तयारी गर्दा लागेको शुल्कसमेत बेलायतले नै ब्यहोर्नेछ ।’

नेपालबाट छनोट भएका नर्सले बेलायत गएपछि बेलायतको स्वास्थ्य काउन्सिलले लिने परीक्षा भने उत्तीर्ण गर्नुपर्ने भुसालले बताए ।

तपाईको प्रतिक्रिया

RELATED POSTS