भारतीय कमेडियन कपिल शर्माले लामो समयदेखि संसारका थुप्रै दर्शक हँसाइरहेका छन्। टिभी कार्यक्रममार्फत् धेरै वर्षदेखि हँसाइरहेका कपिलले केही ठूला पर्दाका फिल्ममा अभिनय पनि गरेका छन्। ‘किस किसको प्यार करूँ’ र ‘फिरंगी’ उनको मुख्य भूमिका रहेको फिल्म हो। सामान्य परिवारबाट आएका कपिल स्टेजमा हँसाउँदै, प्रतिस्पर्धाहरूमा सहभागी हुँदै चर्चित सेलेब्रेटी बनिसकेका छन्। उनको चर्चा र कमाइ कुनै सुपरस्टारको भन्दा कम छैन।

त्यसैले त अब कपिलको जीवनमा आधारित फिल्म पनि बन्ने भएको छ। भारतीय सञ्चारमाध्यम बलिउड हंगामाका अनुसार मृगदीप सिंह लाम्बाले कपिलको बायोपिक बनाउन लागेका हुन्। हंगामाले फिल्मसँग सम्बन्धित व्यक्तिलाई उद्धृत गर्दै लेखेको छ, ‘कपिलको जीवनमा आधारित फिल्म बन्ने कुरा भएको केही समय भइसक्यो। अब भने टुंगो लागिसकेको छ।’

उनको फिल्म बनाउन लागेका मृगदीप सिंह लाम्बा ‘फुक्रे’ फिल्मका निर्देशक हुन्। कपिलको शर्माको बायोपिकको नाम ‘फनकार’ राखिने पनि बताइएको छ। यसको निर्माण भने महावीर जैनले गर्ने भएका र लाइका प्रोडक्सनको प्रस्तुति रहने पनि हंगामाले लेखेको छ। कपिलको जीवनका कुन-कुन पाटाहरू यो फिल्ममा देखाइनेछ भन्ने प्रस्ट छैन।

कामको कुरा गर्दा कपिल शर्माको नेटफ्लिक्समा नयाँ कार्यक्रम पनि आउँदैछ। ‘आइ एम नट डन येट’ नामक उक्त कार्यक्रमको गत सोमबार मात्र ट्रेलर सार्वजनिक भएको हो। हाल सोनी टिभीमा ‘द कपिल शर्मा शो’ चलाइरहेका कपिलको यो कार्यक्रम पनि कमेडी विधाकै हो। यसलाई नेटफ्लिक्सले कपिलको विशेष कमेडी कार्यक्रम भनेर प्रचार गरेको छ।

कार्यक्रममा कपिलले धेरैजसो आफ्नो वास्तविक जीवनमा भएका घटनाक्रमलाई जोडेर दर्शक हँसाउने प्रयास गरेका छन्। कपिल आफैंले पनि भन्छन्, ‘आइ एम नट डन येट मेरो वास्तविक जीवनसँग मेल खान्छ।’ एकातिर ‘आइ एम नट डन येट’ मार्फत् आफ्नो जीवनका रमाइला किस्सा बाँडिरहेका कपिलको जीवनमा आधरित रहेर बन्ने फिल्मले के-के देखाउँछ, त्यो हेर्न बाँकी छ।

तपाईको प्रतिक्रिया

RELATED POSTS