काठमाडाैं / गगनचुम्बी हिमशिखरको काखमा अवस्थित ऋषिमहर्षिको तपोभुमि, पवित्र तीर्थताल मनमोहक प्राकृतिक भूमि नेपाल र नेपाली समाजमा हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म स्वस्थानीको व्रत र पूजा गर्नेपरम्परा रही आएको छ । हरेक वर्षजस्तै यसवर्ष पनि ३ माघदेखि एक महिनासम्म मनाइने स्वस्थानी व्रत अनुष्ठान प्रारम्भ भएकाे छ । पहिलोपटक व्रत प्रारम्भ गर्न चाहनेका लागि बृहस्पति तथा शुक्र अस्थ नभएकाले विशेषगरी लामो समयको अन्तरालपछि सोमबार युक्त पुनर्वसु नक्षत्रको शुभ मुहुर्तको संयोग जुरेकाले वर्तमान समयमा देखापरेका विभिन्न समस्या विस्तारै नियन्त्रण हुँदै जानेछ र विश्वले नै नयाँ परिवर्तन पाउने मुहुर्त परेको छ ।

लामो समयदेखि सन्तान नहुनेले विधिपूर्वक यसवर्ष स्वस्थानीको व्रत बसेर समापन गरेमा सन्तान प्राप्तिको योग समेत बन्ने मुहुर्त छ । देवी स्वस्थानीको विधिपूर्वक व्रत एवं पूजा-आराधना गर्नाले मनोकांक्षा सिद्धि हुने विश्वास गरिन्छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले ‘महादेव स्वामी पाऊँ’ भनी बालुवाको शिवलिङ्ग बनाई स्वस्थानीको व्रत गरेकाे र मनोकांक्षा पूर्ण भएपछि उनकै आज्ञाअनुसार लोककल्याणका लागि पृथ्वीलोकमा पनि श्रीस्वस्थानीको व्रत प्रारम्भ गरिएको धार्मिक विश्वास छ ।

स्वस्थानी व्रतको परम्परा

स्वस्थानी व्रत कथा अनुसार यसको सुरुवात भगवान् विष्णुको सल्लाहमा पहिलोपटक पार्वतीले गरेकी हुन् । महादेवकी पत्नी सतीदेवीले आफ्ना बाबुले गरेको यज्ञकुण्डमा प्राण त्यागेपछि हिमालय र मेनकाकी छोरी पार्वतीका रूपमा उनको जन्म भएको पुराणमा व्याख्या गरिएको छ ।

भगवान् विष्णुको सल्लाह अनुसार महादेव पति पाउन श्रीस्वस्थानी व्रत गर्ने सल्लाह दिएपछि पार्वतीले विधिपूर्वक एक महिनासम्म स्वस्थानीको व्रत गरेकी हुन् भन्ने उल्लेख गरिन्छ । त्यसको फलस्वरूप उनले महादेव पति पाइन् । त्यसैले आज पनि असल पतिको कामना वा पतिको सुस्वास्थ्यको कामना गरेर महिलाले यो व्रत लिने सदीयौंदेखि रहिआएको छ ।

व्रत एवं पूजा विधि नयाँ व्रत बस्नेहरुले कसरी सुरु गर्ने ?

पौष शुक्ल पूर्णिमादेखि व्रत बस्ने भएकाले अघिल्लो दिनमा हातगोडाका नङ काटी आफ्नो शरीर सफा राखीसंकल्पपूर्वक व्रत आरम्भ गरिन्छ । एक महिनासम्म मध्याहृनको समयमा भगवान् शिवसहित स्वस्थानी परमेश्वरीको विधिपूर्वक पूजाआराधना गरिन्छ । व्रतालुले पूजा-आराधनापछि स्वस्थानीको माहात्म्य वाचन वा श्रवण गर्ने गर्छन् । व्रत अवधिभरि चोखोनितो गरी मध्याह्नकालमा एक पटकमात्र भोजन गर्ने गर्छन् । विधिपूर्वक व्रत नबस्नेले पनि आआफ्नो घरमा बिहान वा बेलुकी स्वस्थानीको कथा वाचन एवं श्रवण गर्नु पर्दछ ।

यसप्रकारले श्रद्धा एवं भक्तिपूर्वक गरिएको स्वस्थानीको व्रत एक महिनापछि अर्थात् माघ शुक्ल पूर्णिमाको दिनसमापन गरिन्छ । यस दिन सम्पूर्ण पूजासामग्री सहित स्वस्थानी परमेश्वरीलाई चढाउन विशेष वस्तु १०८ को संख्यामा हुने गर्छन् । अक्षता, बेलीपुष्प, सुपारी, जनै, पान, बत्ती, रोटी, एवं मौसम अनुसारका फलफूल सबै एक सय आठका दरले चढाई शिवलिंगसहित ॐकारयुक्त अष्टदलमा श्री स्वस्थानीको विशेष पूजा गर्ने विधिको व्याख्या गरिएको छ । पूजा सकिएपछि जुन कामनाले व्रत गरिएको हो सो कामना पूरा होस् भन्दै अर्घ्य दिई यस व्रतको समाप्ति गरिन्छ ।

स्वस्थानी व्रतकथाभित्र आउने लगभग सबै तीर्थस्थल नेपाल विशेषगरी काठमाडौंभित्रै रहेका छन् । कथाका विभिन्न प्रसंगमा आएका गुह्येश्वरी, गोकर्ण, श्लेष्मान्तक वन, किराँतेश्वर, गौरीघाट, वाग्मती नदी, शालीनदी जस्ता क्षेत्र यहीं पर्ने हुनाले पनि नेपाली समाजमा यस व्रतले बढी महत्त्व र यस प्रतिको आस्था रहिरहेको हो ।

विशेषगरी स्वस्थानी व्रतकथामा लेखिएका लावण्यदेश अर्थात् साँखु शालीनदीमा एक महिनासम्म मेला लाग्दछ । यस ठाउँमा सयौं व्रतालु पुस माघको चिसोलाई समेत बेवास्ता गर्दै एक महिनासम्म बस्ने गर्दछन् भने अन्य दर्शनार्थी पनि स्नान, दर्शन आदि प्रयोजनका लागि पुग्ने गर्दछन् । यसवर्ष विशेषगरी कोरोनाका कारण घरमै बसेर पूजा तथा पाठ श्रवण गर्नुपर्ने छ । जोखिम कायमै रहेकाले विशेष सावधानी अपनाउन आग्रह छ । (लेखक रिजाल ज्योतिष तथा वास्तुविद् हुन् )

तपाईको प्रतिक्रिया

RELATED POSTS