फोर्ब्स पत्रिकाले बितेको वर्ष सन् २०२१ मा युट्युबबाट सर्वाधिक रकम आर्जन गर्ने युट्युबर (कन्टेन्ट क्रिएटर्स) को सूची सार्वजनिक गरेको छ । जस अनुसार सन् २०२१ मा सर्वाधिक कमाउनेमा अमेरिकी युट्युबर मिस्टर बिस्ट (MrBeast) रहेका छन् । मिस्टर बिस्टको नामले चिनिने २३ वर्षका जिम्मी डोनाल्डसनले युट्युबबाट गत वर्ष ५ करोड ४० लाख डलर अर्थात् झण्डै साढे ६ अर्ब रुपैयाँ आर्जन गरेका छन् । गतवर्ष उनले आफ्नो युट्युब च्यानलमा अपलोड गरेका भिडियोहरूमा कुल १० अर्ब भ्यूज गएको छ ।

यसअघि लगातार दुईवर्षसम्म युट्युबबाट सर्वाधिक कमाउने व्यक्तिको रुपमा रहेका १० वर्षीय बालक रायन काजीलाई यसपटक मिस्टर बिस्टले पछि पारेका हुन् । बालबालिकाका खेलौनाको समीक्षा गर्ने युट्युब च्यानलका मालिक रायन काजी सन् २०१९ र २०२० मा सर्वाधिक कमाउने युट्युबर थिए । फोर्ब्सका अनुसार सन् २०२१ मा युट्युबमा सबैभन्दा धेरै कमाउने शीर्ष १० युट्युबरहरूले कुल ३० करोड डलर कमाएका छन् ।

सन् २०२१ मा सर्वाधिक कमाउने युट्युबरको सूचीमा दोस्रो स्थानमा जेक पाउल छन् । उनका भाइ लोगान पनि टपटेनमा पर्न सफल भएका छन् । त्यस्तै अनस्पिकेबल भनेर चिनिने माइनक्राफ्ट प्लेयर नाथन ग्राहम सर्वाधिक कमाउने युट्युबरको सूचीमा पाँचौ नम्बरमा पर्न सफल भएका छन् । उनी पहिलोपटक टपटेनमा परेका हुन् ।

युट्युब ट्रेण्ड विश्लेषक क्रिस स्टोकेल वाल्करका अनुसार यो पटक युट्युबमा सर्वाधिक कमाउने शीर्ष १० युट्युबरमा सबै गोरा तथा पुरुषहरूले कब्जा जमाएका छन् । रिपोर्ट अनुसार सन् २०२१ मा विश्वमा युट्युबमा प्रयोगकर्ता २ अर्ब ३० करोड पुगेका छन् । युट्युबमा हरेक दिन एक अर्ब घण्टा भिडियो हेरिने गरेको अध्ययनले देखाएको छ । सन् २०२१ मा सर्वाधिक कमाउने १० युट्युबरको सूची यस्तो छ :

१ : MrBeast : आफ्ना दर्शकलाई रोमाञ्चित पार्नका लागि स्टन्ट र प्रान्क देखाउने युट्युबर । उनको युट्युब च्यानलमा गत वर्ष ८० हजार सिट क्षमताको रंगशालामा लुकामारी खेल्ने, जमिनमुनि पुरिने, नेटफिलिक्सको स्विड गेमलाई आफ्नो हिसाबले देखाउनेलगायतका चर्चित भिडियो अपलोड भएका थिए । उनको आम्दानी पाँच करोड ४० लाख डलर भएको छ ।

२. जेक पाउल : अमेरिकी व्यवसायिक बक्सर तथा सोसल मिडिया सेलिब्रेटी । उनको युट्युब च्यानलमा अपलोड भएका हाइ प्रोफाइल बक्सिङ भिडन्तहरूका कारण उनले सन् २०२१ मा साढे ४ करोड डलर आम्दानी गरे ।

३. मार्कीप्लायर : गेमिङ क्रिएटर – Markiplier ले गतवर्ष युट्युबाट ३ करोड ८० लाख डलर आर्जन गर्न सफल भए ।

४. Rhett and Link : अमेरिकी कमेडियन जोडी रेट जेम्स र चाल्र्स लिंकन चर्चित टेलिभिजन शो गुड मिथिकल मर्निङका सञ्चालक पनि हुन् । उक्त जोडीले गतवर्ष आफ्नो युट्युब च्यानलबाट ३ करोड डलर कमायो ।

५. Unspeakable : माइनक्राफ्ट प्लेयर नाथन ग्राहम अर्थात् अनस्पिकेबल दशकदेखि युट्युबमा सक्रिय छन् । उनले आफ्ना विगतका भिडियोहरू व्यवसायिक कम्पनीलाई बिक्री समेत गरेका छन् । उनले सन् २०२१ मा आफ्नो युट्युब च्यानलमा अपलोड भएका भिडियोहरूबाट २ करोड ८५ लाख डलर कमाएका छन् ।

६. Nastya : यी ७ वर्षे रुसी बालिकाको युट्युब च्यानलमा ९ करोड सब्सक्राइबर छन् । सुरुमा टोए अनबक्सिङका भिडियो अपलोड गर्ने गरेकी नास्त्याले हाल आफ्ना भ्लग तथा म्युजिक भिडियोहरू युट्युब च्यानलमा अपलोड गर्ने गरेकी छिन् । सन् २०२१ मा उनले आफ्नो युट्युब च्यानलबाट २ करोड ८० लाख डलर कमाइन् ।

. रायन काजी : पछिल्ला २ वर्ष लगातार नम्बर वान रहेका चर्चित युट्युबर बालक Ryan Kaji सन् २०२१ मा भने सातौँ स्थानमा झरेका छन् । उनका खेलौना समीक्षा, शैक्षिक भिडियो तथा पारिवारिक भ्लगका भिडियोबाट उनले सन् २०२१ मा २ करोड ७० लाख डलर आम्दानी गरेका छन् ।

८. Dude Perfect : कमेडी प्रान्कस्टरहरु ड्युड पर्फेक्टको समूहले सन् २०२१ मा युट्युबबाट २ करोड डलर आर्जन गरेको छ ।

९. Logan Paul : विवादास्पद बक्सर तथा भ्लगर लोगान पाउलले गतवर्ष आफ्नो युट्युब च्यानलबाट १ करोड ८० लाख डलर कमाएका छन् ।

१०. Preston Arsement : भ्लगर तथा माइनक्राफ्ट प्लेयर प्रेस्टन आर्सेमेन्टले सन् २०२१ मा युट्युबबाट १ करोड ६० लाख डलर आर्जन गरी दशौँ स्थानमा परेका छन् । गतर्वा उनी छैटौँ स्थानमा थिए । बीबीसी

तपाईको प्रतिक्रिया

RELATED POSTS