काठमाडौं । राजाराम पौडेल लोकप्रिय हास्य कलाकार हुन् । थुप्रै चलचित्र, टेलिसिरियल तथा कमेडी शोमा उनले आफ्नो कौशल पस्किसकेका छन् । युगदेखि युगसम्म, दक्षिणा, प्रेमपिण्ड, सेन्टी भाइरस, लक्का जवान, श्री लगायत दर्जनौं चलचित्रका साथै टेलिसिरिल र कमेडी शोमा समेत काम गरेका पौडेल उमेरले ६ दशक पार गरिसकेका छन् । तर, कामप्रति उनको ऊर्जा भने उत्तिकै छ ।

कामलाई कहिल्यै पनि दबाब महसुस नगर्ने पौडेल चलचित्रमा काम गर्दा अहिलेसम्म स्क्रिप्ट नपढेको बताउँछन् । आफ्नो संवाद पनि सुटिङमा गएर सरर हेरेर अभिनय गर्ने गरेको उनी सुनाउँछन् । उनै कलाकार राजाराम पौडेलको दिनचर्या कस्तो छ ? उनका रुचि के के छन् ? परिवारलाई कसरी समय दिन्छन् ? लगायतका विषय उनकै शब्दमा–

उठेर चिसो पानी पिउँछु

मेरो उठ्ने तालिका नियमित छैन । कहिले ६ बजे नै उठ्छु, कहिले सात पनि बज्छ । उठ्ने बित्तिकै गर्मी मौसममा दिनहुँ र जाडोमा दुई दिन बिराएर नुहाउँछु ।

अनि चिसो पानी पिउँछु । अहिले जाडो भएपनि मैले चिसो पानी नै पिउने गरेको छु । तातोपानी मलाई पटक्कै मन पर्दैन । म बिरामीनै भएपनि तातो पानी पिउँदिन । म शरीरलाई दुःख दिने योगा, एक्सरसाइज कहिले पनि गर्दिनँ । उठेर फ्रेस भएपछि भान्सामा गएर सुगुर फ्री भएको दूधको चिया बनाउँछु । मैले चियाको लागि अरुमाथि भर पर्ने गरेको छैन ।

राति सुत्ने समय सामान्यतया १० बजेतिर हुन्छ । काठमाडौं बाहिर हुँदा यो नियमित नहुन सक्छ ।

मेरो खाना

म घर होस् वा सुटिङमा, बिहानको खाना म ठीक १० बजे खाइसक्छु । मेरो कामको चाप कस्तो छ त्यसमा भर पर्दछ । म घरको खाना मात्र खाने गर्ने मान्छे हुँ । मलाई मधुमेह रोग लागेको १६ वर्ष जति भयो । त्यसैले धेरै मुख बार्नु पर्छ । बाहिर गएर खाना भन्दा घरमा खान ज्यादै आनन्द लाग्छ ।

बेलुकाको खाना साढे सातसम्म खाइसकेको हुन्छु । मेरो बिहानको खाना दाल भात अनि दुई टुक्रा भएपनि खसीको मासु हुन्छ । साँझको खाना गहुँको च्याँख्ला खाने गरेको छु । अनि कहिलेकाहीं मःम पनि खान्छु ।

भान्साको काममा जाँगर लाग्छ

घरको काम त्यसमा पनि भान्साको काम गर्न असाध्यै मज्जा लाग्छ । यो काम सबैले सिक्नै पर्छ जस्तो लाग्छ । पकाउन जानियो भने संसारको जुनसुकै कुनामा पुगियो भने पनि भोकै मरिँदैन । अरुको भर पर्नु पर्दैन ।

नयाँ भेराइटीको खाना खान मन लाग्यो भने म आफैं बनाउँछु । बाहिर कतै गएको बेला नौलो खाना खाएँ भने त्यो खाना बनाउने व्यक्तिसँग रेसिपी सोधेर घरमा आएर बनाएर खान्छु । म आफैंले दालफ्राइ मीठो बनाउँछु जस्तो लाग्छ ।

मेरो काम

सिनेमामा काम गरेको तीन दशकभन्दा बढी भइसक्यो । आजभोलि त म भ्याउँदिन भन्दा पनि जबरजस्ती भएपनि मेरो भूमिका राखिदिएकै हुन्छन् । सेन्टी भाइरस र लक्का जवानमा यस्तै भएको छ ।

उहाँहरुले मलाई छाड्न मान्नु भएन मैले नो भन्दा पनि । यी चलचित्रको फरक–फरक ठाउँमा गर्ने भनिएको सुटिङ मेरो कारणले काभ्रेको एक ठाँउमा नजिक पर्ने हिसाबले राखियो । मैले एउटाको काम सकेर फेरि अर्कामा गरेर काम सिध्याएको थिएँ । यो मेरो जीवनको रोचक क्षण हो । अहिले चारवटा नयाँ चलचित्रको लागि साइन गरेर बसेको छु । भर्खरै टेलिसिरियलको काम सकें ।

मेरो रुचि

अहिले आएर मलाई टिकटकमा खुबै रुचि जागेको छु । यसले मलाई एकदमै आनन्द दिलाएको छ । म हास्यव्यङ्य गर्ने मान्छे भएपनि रमाइला कुरा हेर्न भन्दा गम्भीर विषयमा गरिएका अन्तर्वार्ता, समाचार हेर्न मन लाग्छ ।

मलाई खाना बनाउन एकदमै मन पर्छ । म सबै पुरुषलाई के पनि भन्न चाहान्छु भने खानाको लागि महिला साथीको भर नपरौं । यो अनिवार्य चिज हो । यसको लागि अल्छी नगरीकन सिकांै पनि भन्न चाहन्छु ।

तपाईको प्रतिक्रिया

RELATED POSTS