काठमाडौं । कोरोना भाइरसका कारण अहिले विश्व नै आक्रान्त बनेको छ । रुघा, खोकी लाग्नु, ज्वरो आउनु र शरीर दुख्नु कोरोना भाइरसको ओमिक्रोन भेरियण्टका सामान्य लक्षण हुन् । तर, यस्तो मौसमी फ्लुका कारण पनि हुने चिकित्सकहरु बताउँछन् । मौसमी फ्लु र कोरोना भाइरस ओमिक्रोनका एकै प्रकृतिका लक्षण हुँदा कुन मौसमी फ्लु र कुन कोरोना हो भनेर सर्वसाधारणले छुट्याउन सकिरहेका छैनन् । यस्तोमा मौसमी फ्लु र कोरोना भाइरसका लक्षणहरुबीच अन्तर थाहा पाउनु आवश्यक हुन्छ ।

कामिनेनी अस्पताल भारत हैदराबादका पल्मोनरीविज्ञ वरिष्ठ डाक्टर एम रवीन्द्रनाथ कोरोना भाइरस संक्रमणका लक्षण देखिए तुरुन्त स्वास्थ्यकर्मीको सम्पर्कमा आउनुपर्ने तर, मौसमी फ्लु भने आफैं ठीक हुने बताउँछन् । यसका लागि उनले मौसमी फ्लु र कोरोना भाइरसका लक्षणबारे केही बताएका छन् ।

कोरोना भाइरस

कोरोना भाइरस एक प्रकारको संक्रमक रोग हो । यो सार्स कोभिड–२ भाइरसको संक्रमणबाट हुन्छ । यसको ओमिक्रोन भृरियण्ट नजिक रहेकाहरुमा सर्ने गर्छ । यो श्वासप्रश्वास, हाछ्युँ, थुकका छिटाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ । कोरोना संक्रमित व्यक्ति वा वस्तु छोएपछि आँखा, नाक वा मुखको माध्यमबाट भाइरसको संक्रमण फैलिन्छ ।

कोरोना भाइरसका लक्षण

कोरोना संक्रमित व्यक्तिमा विभिन्न किसिमका लक्षण देखा पर्दछन् । खोकी, ज्वरो तथा थकान कोरोना भाइरसका सामान्य लक्षण हुन् भने यसका साथै संक्रमितलाई रुघा लाग्ने, शरीर दुख्ने र छालाको रंगमा परिवर्तन आउने पनि लक्षण देखिन्छन् ।

कोरोना संक्रमणबाट बच्न के गर्ने ?

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि विश्वभर खोप लगाउने कामलाई तीव्रता दिइएको छ । खोपले भाइरसको संक्रमण हुन सक्ने सम्भावनालाई कम गर्ने गर्दछ । यद्यपि, खोप लगाएकाहरुमा पनि संक्रमण भएको पाइएपनि असर भने कम देखिएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणबाट बच्न भौतिक दूरी कायम गर्ने, साबुन पानीले राम्ररी हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने, घरबाट बाहिर निस्किँदा मास्कको अनिवार्य प्रयोग गर्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि सन्तुलित र स्वस्थ खाना खाने, भिटामिन सी र प्रोटिन खाने गर्नुपर्दछ ।

ओमिक्रोन भेरियण्टका लक्षण

ज्वरो आउनु, शरीर दुख्नु र फ्लुको समस्या नै ओमिक्रोनका सामान्य लक्षण हुन् । यसका साथै राति चिटचिट पसिना आउनु, नङ निलो हुनु, घाँटी खसखसाउनु पनि ओमिक्रोनका लक्षण हुन् ।

सामान्य रुघा

कोरोना भाइरस र सामान्य रुघा दुवै भाइरसको संक्रमणबाट हुन्छन् । कोरोना भाइरस सार्स कोभ–२ का कारण हुन्छ भने सामान्य रुघा राइनो भाइरसका कारण हुन्छ ।

यी दुवैको फैलिने तरिका एउटै भएपनि लक्षणमा भने केही अन्तर हुन्छ । रुघा लाग्दा खोकीका साथै खकार निस्किँने, घाँटी खसखस गर्ने र नाकबाट पानी बग्ने जस्ता लक्षण देखा पर्दछन् ।

मौसमी एलर्जी

मौसमी एलर्जी भाइरसका कारण हुँदैन । मौसमी एलर्जी प्रतिरक्षा प्रणालीको प्रतिक्रिया हो, जुन एलर्जीको सम्पर्कमा आएपछि देखा पर्छ । जस्तो, मौसमी बिरुवा वा घाँस ।

नाक, मुख, र कान चिलाउनु, हाछ्युँ आउनु र नाकबाट पानी बग्नु मौसमी एलर्जीका लक्षण हुन् ।

फ्लु

फ्लु पनि भाइरसको संक्रमणबाट हुन्छ । फ्लु इन्फ्लुइन्जा ए र बी का कारण हुन्छ । यी दुवैको भाइरस फैलिने तरिका एउटै किसिमको हुन्छ । खोकी, शरीर तथा जोर्नीहरु दुख्नु, थकान महसुस हुनु, घाँटी खसखसाउनु, नाकबाट पानी बग्नु र श्वासप्रश्वासमा समस्या आउनु फ्लुका लक्षण हुन् ।

कोरोना भाइरस, रुघा, फ्लु र मौसमी एलर्जीका लक्षणमा अन्तर

खोकी : कोरोना भाइरसको संक्रमण हुँदा सुख्खा खोकी लाग्छ । तर रुघा फ्लुमा खोकी लाग्दा खकार आउँछ । मौसमी एलर्जी हुँदा पनि कहिलेकाहीं खोकी लाग्छ ।

मांसपेशीको दुखाइ र थकान : कोरोना भाइरसको संक्रमण र फ्लुमा मांसपेशी दुख्नुका साथै थकाइ लाग्छ । तर, रुघामा मांसपेशी कहिलेकाहीं मात्रै दुख्छ । मौसमी एलर्जी हुँदा भने थकाइ लाग्ने भएपनि मांसपेशी दुख्दैन ।

ज्वरो आउनु : कोरोना भाइरसको संक्रमण हुँदा ज्वरो आउँछ, तर मौसमी एलर्जीमा ज्वरो आउँदैन । रुघा तथा फ्लु लाग्दा भने कहिलेकाहीं ज्वरो आउन सक्छ ।

घाँटी खसखसाउनु : कोरोना भाइरस र रुघा लाग्दा घाँटी खसखसाउने, नाकबाट पानी बग्ने र हाछ्युँ आउने जस्ता लक्षण देखिन्छन् । तर मौसमी एलर्जी तथा फ्लुमा हाछ्युँ आउने र नाकबाट पानी बग्ने समस्या देखिन्छ ।

झाडापखाला र बान्ता : कोरोना भाइरसको संक्रमण हुदा कहिलेकाहीं झाडापखाला र बान्ताका साथै ज्वरो आउँछ । तर, रुघा तथा मौसमी एलर्जी हुँदा झाडापखाला र बान्ता हुँदैन । फ्लुमा बालबालिकामा भने यो लक्षण देखिन्छ ।

यसका साथै कोरोना संक्रमितले वास्ना सुँघ्न सक्दैनन् भने खानाको स्वाद समेत थाहा नपाउन सक्छन् । तर, मौसमी एलर्जी र रुघामा भने सुँघ्न सक्ने क्षमता र खानाको स्वाद हराउँदैन । एजेन्सीकाे सहयोगमा

तपाईको प्रतिक्रिया

RELATED POSTS