क्यानबेरा — अस्ट्रेलिया सरकारले तत्काल आफ्नो देश आउने अन्तर्राष्ट्रिय विद्यार्थी र वर्किङ होलिडे भिसावाहक कामदारका लागि भिसा शुल्क नलिने वा फिर्ता गर्ने भएको छ । कामदारको चरम अभाव भएपछि विदेशी विद्यार्थी वा कामदारको आवागमनलाई प्रोत्साहन गर्न प्रधानमन्त्री स्कट मरिसनले अस्थायी नीति सार्वजनिक गरेका हुन् । मरिसनका अनुसार आगामी ८ साताभित्र अस्ट्रेलिया प्रवेश गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीले भिसाका लागि तिरेको शुल्क फिर्ता पाउनेछन् । विद्यार्थी भिसाका लागि हाल ६ सय ३० अस्ट्रेलियाली डलर शुल्क तिर्नुपर्छ ।

बुधबार बिहान पत्रकार सम्मेलनमा बोल्दै मरिसनले अस्ट्रेलियाको भिसा लिएर बसेका करिब १ लाख ५० हजार अन्तर्राष्ट्रिय विद्यार्थीलाई उनीहरूको अध्ययन सुरु हुनुअघि नै ल्याउन चाहेको बताए । उनले भिसा लिएर बसेका अन्तर्राष्ट्रिय विद्यार्थीलाई सकभर चाँडो अस्ट्रेलिया आउनसमेत आग्रह गरेका छन् । त्यसैगरी, उनले अब विद्यार्थीहरूले सातामा २० घण्टा मात्र काम गर्न पाउने नियम पनि खुकुलो पारिएको जनाएका छन् । यद्यपि, विद्यार्थीलाई अब सातामा कति घण्टा काम गर्न दिइनेछ भन्नेबारे मरिसनले केही उल्लेख गरेनन् ।

‘हामी चाहन्छौं तपाईंहरूं अस्ट्रेलिया आउनुहोस् र छुट्टीको आनन्द लिनुहोस् । घुमघाम गरी रमाइलो गर्नुस् र कामदार कमी भएका क्षेत्रमा योगदान पनि पुर्‍याउनुहोस्,’ मरिसनले भने । सरकारको पछिल्लो निर्णयले विद्यार्थी भिसावाहकलाई सकभर चाँडो अस्ट्रेलिया आउन प्रेरित गरेको र केही हदसम्म कामदारको अभाव कम हुने अपेक्षा गरिएको छ ।

त्यस्तै, वर्किङ होलिडे भिसाअन्तर्गत अस्ट्रेलिया आउनेले आगामी १२ सातासम्म भिसा शुल्क मिनाह पाउने मरिसनले बताए । मरिसनका अनुसार वर्किङ होलिडे भिसामा आउने तयारीमा रहेकाको संख्या २३ हजार ५ सय छ । ती विद्यार्थी तथा वर्किङ होलिडे भिसावाहकलाई तत्काल देश भित्र्याउन सके तत्काल देखिएको कामदारको संकट सुल्झने सरकारको भनाइ छ ।

कोभिड–१९ को संक्रमण बढेसँगै विदेशीका लागि सीमा बन्द गरेपछि अस्ट्रेलियामा कामदारको चर्को अभाव छ । त्यसका साथै कतिपय कामदार संक्रमित भएपछि आइसोलेसनमा बसेका कारण पनि कामदार अभाव देखिएको जनाइएको छ । पछिल्लो समय खासगरी कृषि तथा ग्रामीण क्षेत्रमा कामदारको चरम अभाव देखिएको छ ।

दुई महिनाअघि अस्ट्रेलियन च्याम्बर अफ कमर्सले एक सूचना जारी गर्दै २ लाख ५० हजार कामदार तत्काल आवश्यक पर्ने जनाएको थियो । त्यसयता अस्ट्रेलियाले कोभिडविरुद्धको खोपको पूर्ण मात्रा लगाएका भिसावाहकहरूलाई प्रवेश दिएको भए पनि कामदार अभाव भने टार्न सकेको छैन् । जसका कारण केही राज्यले आपत्कालीन सेवाका साथै खाद्य, कृषि, यातायात र उत्पादन क्षेत्रमा काम गर्ने कर्मचारी कोभिड संक्रमितको सम्पर्कमा आएका भए पनि आइसोलेसन बस्न नपर्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS