काठमाडौँ — मधेस प्रदेशमा राष्ट्रिय सभाको निर्वाचनका लागि नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच तालमेल गर्ने सहमति भएको छ । बिहीबार एमाले मधेस प्रदेश कमिटी अध्यक्ष औतार यादव र लोसपाका मधेस प्रदेश समिति अध्यक्ष जितेन्द्र सोनलले संयुक्त पत्रकार सम्मेलन गरी दुवै पार्टीले अन्यतर्फ एमालेका उम्मेदवार उसमान अन्सारी र महिलातर्फ लोसपाकी उम्मेदवार रुपाकुमारी यादवलाई मतदान गर्ने सहमति भएको बताएका हुन् ।

एमालेकी विभा साहले भने उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी थिइन् । घोषणा सभामा नेकपा एमाले केन्द्रीय कमिटीका सचिव रघुवीर महासेठ, एमाले मधेस प्रदेशका सह-इन्चार्ज लीलानाथ श्रेष्ठ, पोलिटब्युरो सदस्य जूलीकुमारी महतो, लोसपा मधेस प्रदेशको संसदीय दलकी उपनेत्री रानी शर्मा तिवारी, प्रमुख सचेतक परमेश्वर साहलगायतको उपस्थिति थियो ।

राष्ट्रिय सभामा तत्कालीन प्रदेश २ बाट निर्वाचित एमालेका सुमन प्याकुरेल र माओवादी केन्द्रका शशिकला दाहालको कार्यकाल अघिल्लो महिना खाली हुँदैछ । यी दुई पदका लागि एमाले र लोसपाबीच चुनावी तालमेल भएको हो । एमालेका सचिव महासेठले एमालेको लोसपासँगको सहकार्य अघिल्लो चुनावसम्म पनि जारी रहने बताए । उनले भने‚ ‘एजेन्डाको आधारमा यसअघि पनि हामीले सहकार्य गरेकै हौं । आवश्यकताको आधारमा फेरि पनि हुन्छ ।’

केपी शर्मा ओली नेतृत्वको सरकारले जन्मसिद्ध नागरिकका सन्तानहरूको नागरिकता, मधेसको विकास तथा संविधान संशोधनबारे सकारात्मक पहल गरेको उल्लेख गर्दै पूर्वउपप्रधानमन्त्री महासेठले एमाले मधेस र मधेसीको सच्चा हितैसी भएको बताए । महासेठले देउवा नेतृत्वको वर्तमान सरकारले स्थानीय तहको निर्वाचन गराउन नचाहेको आरोप लगाए ।

लोसपाका मधेस प्रमुख जितेन्द्र सोनलले लोसपा अध्यक्ष महन्त ठाकुरको आग्रहमा केपी शर्मा ओली नेतृत्वको सरकारले नागरिकता अध्यायदेश, झुठा मुद्दा खारेज तथा संविधान संशोधनका लागि कार्यदल गठन गरेको बताए । उनले भने‚ ‘ओली नेतृत्वको सरकारले नागरिकता अध्यादेश ल्याउँदा जसपा अध्यक्ष उपेन्द्र यादवले विधेयकमार्फत नागरिकता समस्या समाधान गर्नुपर्छ भन्नुभएको थियो । उहाँ सरकारमा गएको ६ महिना भयो , खोइ नागरिकता विधेयक ?’

माघ १२ गते १९ जना राष्ट्रियसभा सदस्य चयनका लागि निर्वाचन हुँदैछ ।

 

 

तपाईको प्रतिक्रिया

RELATED POSTS