साउदी अरब नेतृत्वको यमनी हुथी समूह विरोधी गठबन्धनले विद्रोही बन्दीहरू राखेको यमनको उत्तरी क्षेत्रमा रहेको एक जेलमा भएको हवाई आक्रमणमा आफ्नो संलग्नता नरहेको दावी शनिबार गरेको छ । यमनमा कार्यरत सहायता समूहहरूले शुक्रबार बिहानै गरिएको आक्रमणमा आप्रवासी, महिला र बालबालिकासहित कम्तीमा ७० जनाभन्दा बढीको मृत्यु भएको जनाएका छन् । प्रारम्भिक समाचारहरूमा उक्त हमलामा २०० भन्दा बढी घाइते भएका र करिब १०० जनाको मृत्यु भएको जनाइएको थियो । सैन्य गठबन्धनले भवनहरूलाई भग्नावशेषमा परिणत गर्नेगरी भएको भनिएको उक्त आक्रमणमा गठबन्धनको संलग्नता नरहेको र यसमा आफूहरूलाई दोषी देखाउन गरिएका प्रचार आधारहीन रहेको जनाएको छ ।

आक्रमणपछि उद्धारकर्ताहरूले खाली हातले भग्नाबशेषमा रहेका मृत शरीर र घाइतेलाई बटुलेको दृष्यहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए । होडेडाको यमनी बन्दरगाहमा भएको गठबन्धनको आक्रमण भएको हुनसक्ने यस आक्रमणमा तीन नाबालकसहित दर्जनौँको मृत्यु भएको भन्ने खबरप्रति दुःख व्यक्त गर्दै राष्ट्रसंघका महासचिबले घटनाको भत्र्सना गरेका छन् ।

मानवीय सहायतका लागि यमनमा कार्यरत विभिन्न आठ संगठनले जारी विज्ञप्तिमा यमनको विद्रोही नियन्त्रित क्षेत्र सादामा रहेको जेलमा भएको आक्रमणमा ७० भन्दा बढी व्यक्तिको ज्यान गएको दावी गरिएको छ । उक्त स्थानलाई आप्रवासीहरूलाई राख्ने आश्रयस्थलका रूपमा प्रयोग गरिएको विज्ञप्तिमा जनाइएको छ ।

“‘हुथी लडाकूले गठबन्धनलाई बदनाम गर्न अपनाएका यी दाबीहरूमा सत्यता छैन,” गठबन्धन सेनाका प्रवक्ता तुर्की अल–माल्कीले घटनामा इराननिकट हुथी विद्रोहीहरू कै संलग्नता रहेको हुनसक्ने संकेत गर्दै भने । संयुक्त राष्ट्रसंघले विश्वकै सबैभन्दा खराब मानवीय संकट रहेको बताउने गरेको यमनमा दशौं हजार मानिसको ज्यान गइसकेको र लाखौं विस्थापित भइसकेको र द्वन्द्वले यो हप्ता नाटकीय उतारचढाव ल्याएको छ ।

विद्रोहीहरूले सन् २०१४ मा राजधानी सानालाई कब्जा गरेपछि मार्च २०१५ मा अमेरिका, फ्रान्स र बेलायतद्वारा समर्थित साउदी नेतृत्वले यमनी हुथी नेतृत्व विरूद्ध हस्तक्षेप गरेको थियो । गठबन्धनले यमनमा केही हप्ता मात्र हुथीविरूद्ध कारबाही गर्ने भनिएपनि अहिलेसम्म द्वन्द्व जारी रहेको छ । यमनको अजेय, सात वर्षे युद्धमा भएको नवीनतम हिंसा गत सोमबार इरान समर्थित हुथिहरूले गठबन्धन सहयोगी संयुक्त अरब इमिरेट्सको राजधानी अबु धाबीमा पहिलो घातक आक्रमण भएको दाबी गरेपछि भएको थियो । हुथीहरूले तीन जनाको ज्यान लिने ड्रोन र क्षेप्यास्त्र आक्रमण भएको दाबी गर्दै युद्धलाई नयाँ चरणमा लगिएको बताएका थिए । युएईले आफ्नो सीमाभित्र पहिलो घातक आक्रमण भएको स्वीकार गर्दै यसको बदला लिने चेतावनी दिएको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS