काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत स्वतन्त्रताको एक सयौं वर्षभित्र ‘नयाँ भारत’ बनाउने घोषणा गरेका छन् । सुभाषचन्द्र बोसको १५९ औं जयन्तीको अवसरमा आइतबार इण्डिया गेटमा उनको प्रतिमा अनावरण गर्दै मोदीले सो घोषणा गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मोदीले भने, ‘नेताजी -सुभाषचन्द्र बोस)ले स्वतन्त्र भारतको सपनाको विश्वास कहिल्यै नगुमाउनु भन्नुहुन्थ्यो । आज हाम्रो सामु स्वतन्त्र भारतको सपना पूरा गर्ने लक्ष्य छ । हाम्रो सामु स्वतन्त्रताको सयौं वर्षभन्दा अगाडि नयाँ भारत निर्माणको लक्ष्य छ ।’

सुभाषचन्द्र बोसको ‘गर्न सकिन्छ, गर्छौं’ भन्ने भावनाबाट प्रेरणा लिएर अघि बढ्न पनि सबैलाई अपिल गरे । इण्डिया गेटमा हाल डिजिटल होलोग्रामको रुपमा सुभाषचन्द्र बोसको प्रतिमा अनावरण गरिएको र केही दिनपछि ग्रेनाइटको प्रतिमा राखिने मोदीले बताएका छन् । सुभाषचन्द्र बोस भारत स्वतन्त्रता संग्रामको अग्रणी नेता हुन् । उनले भन्ने गरेको ‘जय हिन्द’को नारा भारतको राष्ट्रिय नारा बनेको छ ।

द्वितीय विश्वयुद्धको क्रममा अंग्रेजविरुद्ध लड्न उनले जापानको सहयोगमा ‘आजाद हिन्द फौज’ गठन गरेका थिए । ‘तिमी मलाई रगत देऊ, म स्वतन्त्रता दिन्छु’ भन्ने उनको नारा पनि अत्यधिक चर्चित थियो । सुभाषचन्द्र बोसलाई भारतवासीले ‘नेता जी’ उपनामले सम्बोधन गर्दछन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS