काठमाडौं । दक्षिण भारतीय (साउथ) चलचित्रहरुले पूरै भारतमा आफ्नो वर्चस्व जमाउन थालेका छन् । बाहुबली, सूर्या, पुष्पा जस्ता चलचित्रहरुले उत्तरी भारत (हिन्दी बहुल राज्य)मा धमाकेदार व्यापार गरे । एकपछि अर्को हिट चलचित्र र स्टारहरुको क्रेजले साउथका तेलुगू, तमिल र कन्नड चलचित्र उद्योगले बलिउडलाई समेत चुनौती दिन थालेको छ । चलचित्र ब्लकबस्टर हिट भएपछि तेलुगू स्टारहरुले आफ्नो पारिश्रमिक समेत बढाउन थालेका छन् ।

‘पुष्पाः द राइज’को सफलतापछि तेलुगू सुपरस्टार अल्लु अर्जुनको क्रेज थप चुलिएको छ । उनलाई आगामी चलचित्रका लागि एक सय करोड भारु पारिश्रमिकको अफर गरिएको छ । उनले अभिनय गर्ने भनिएको चलचित्रको नाम भने सार्वजनिक गरिएको छैन । जुनियर एनटीआर तेलुगू चलचित्रका अर्का सुपरस्टार हुन् । उनी अभिनित चलचित्र ‘आरआरआर’ चाँडै प्रदर्शन हुँदैछ । यो चलचित्रका लागि उनले ४५ करोड भारु पारिश्रमिक लिएका थिए । यसअघि जुनियर एनटीआरले २५ देखि ३० करोड पारिश्रमिक लिँदै आएका थिए ।

अर्का सुपरस्टार राम चरणको पनि ‘आरआरआर’मा मुख्य भूमिका छ । यो चलचित्रका लागि उनले पनि ४५ करोड पारिश्रमिक लिएका थिए । लोकप्रियता बढ्दै गएपछि उनले आगामी चलचित्रका आफ्नो पारिश्रमिक एक सय करोड कायम गरेका छन् ।

महेश बाबु दक्षिण भारतीय चलचित्रका लोकप्रिय अभिनेता हुन् । उनले बाल कलाकारबाट आफ्नो अभिनय यात्रा शुरु गरेका थिए । रिपोर्टअनुसार उनले एउटा फिल्मका लागि २० देखि ३० करोड पारिश्रमिक लिने गरेका छन् ।

‘बाहुबली’ अभिनेता प्रभास तेलुगू चलचित्र उद्योगमा सबैभन्दा बढी पारिश्रमिक लिनेमध्ये एक सुपरस्टार हुन् । ‘बाहुबली’को सफलतापछि उनको करिअरमा ठूलो परिवर्तन आएको छ । यसकै परिणाम स्वरुप उनले एउटा चलचित्रका लागि एक सय करोड पारिश्रमिक लिने गरेका छन् ।

तेलुगू चलचित्र उद्योगमा पवन कल्याणको पनि लोकप्रियता छ । उनले आफ्नो फिल्मी करिअरमा थोली प्रेमा, गोपाला गोपाला जस्ता सुपरहिट चलचित्रमा अभिनय गरेका छन् । उनले पनि एक चलचित्रमा काम गरेको २० देखि ३० करोड भारु पारिश्रमिक लिने गर्दछन् ।

चलचित्र ‘जय भीम’को सफलतापछि तमिल अभिनेता सूर्याको चर्चा अरु चुलिएको छ । यो चलचित्र उनको करिअरका लागि कोसेढुंगा सावित भएको छ । सूर्याले एक चलचित्रमा अभिनय गरेको २० देखि २५ करोड पारिश्रमिक लिने गरेका छन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS