काठमाडौं । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलिएसँगै संक्रमित हुनेको संख्या निरन्तर बढिरहेको छ । यसको जोखिममा गर्भवती महिला पनि उत्तिकै छन् । आमालाई कोरोना संक्रमण भएमा गर्भमा हुर्किरहेको शिशुलाई पनि असर पर्न सक्ने चिकित्सकहरु बताउँछन् । मोरङ सहकारी अस्पतालका प्रसूति तथा स्त्री रोग विशेषज्ञ बालकृष्ण शाहका अनुसार महामारीको समयमा आवश्यक औषधि पनि सीमित हुन्छ ।

गर्भवती भएको बेला ज्वरो आएमा पारासिटामोल खान उनी सुझाव दिन्छन् । सामान्य व्यक्तिले ज्वरो आउँदा प्रयोग गर्ने फ्लेक्जन, बोफ्रिन जस्ता औषधि गर्भवती महिलाले प्रयोग गर्न नहुने शाह बताउँछन् । महामारीको बेला अस्पताल जाँदा त्यहींबाटै संक्रमण हुनसक्ने जोखिम हुने भएकाले अत्यावश्यक बाहेकमा अस्पताल नजान पनि उनी सुझाउँछन् ।

‘अहिले समय एकदमै जोखिम बढेको छ । बच्चा चलेन, रगत बग्ने लगायतका समस्या देखियो भने मात्र अस्पताल जानुपर्छ । बच्चालाई चाहिने खोप र नियमित गर्ने भिडियो एक्सरे ५–१० दिन ढिला गर्दैमा आत्तिहाल्नु पर्दैन,’ डा. शाह भन्छन् । अस्पताल घरजत्तिको सुरक्षित स्थान नभएकाले महामारीका बेला गर्भवती महिलाले घरमै बसेर पोषिलो र तागतिलो खानेकुरा खानुपर्छ ।

सामान्य व्यक्तिलाई भन्दा गर्भवती महिलामा स्वास्थ्यमा थप जटिलता आउन सक्छ । धेरै ज्वरो आएमा त्यसले कलेजोमा समेत असर पुर्‍याउन सक्ने डा. शाह बताउँछन् । कुनै पनि समस्या आएमा गर्भवती महिला ‘पर्ख र हेर’को अवस्थामा रहनुहुँदैन । ज्वरो आउने, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने, शरीर दुख्ने जस्ता समस्या देखिनासाथ चिकित्सकको परामर्श लिएर पारासिटामोल खान सकिने उनको सुझाव छ ।

कोरोना संक्रमणबाट जोगिन गर्भवती महिलाले पनि अरुले अपनाएजस्तै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्छ । मास्क, स्यानिटाइजरको प्रयोग गर्ने, बारम्बार साबुनपानीले हात धुने, भीडभाडमा नजाने जस्ता सर्तकता अपनाएमा यसबाट बच्न सकिन्छ ।

कोरोना विरुद्धको खोप गर्भवती तथा सुत्केरी महिला तथा महिनावरी भएको बेलामा पनि लगाउन सकिन्छ । डा. शाह अगाडि भन्छन्, ‘कोरोना पोजिटिभ देखिएको अवस्थामा पनि डेलिभरी गर्न सकिन्छ । आमालाई कोरोना पोजेटिभ देखिँदैमा बच्चालाई असर गर्दैन ।’

गर्भवती भएको अवस्थामा मनमा अनेक कुरा खेल्न सक्छन् । अझ महामारीको समयमा त अरु बढी तर्कवितर्क उठ्ने गर्छन् । ‘यो समयमा गर्भवती महिलाले आफूलाई मानसिक र शारीरिक रुपमा आफूलाई स्वस्थ राख्नुपर्दछ,’ डा. शाह भन्छन्, ‘कोरोनाको संक्रमण अन्य मानिसलाई जस्तो हुन्छ गर्भवती महिलालाई पनि त्यस्तै हो । कोभिड भएमा अस्पतालले भर्ना लिँदैन कि भन्ने चिन्ता लिनुपर्दैन । अस्पताल बिरामीको सेवाका लागि खोलिएको हो । त्यसकारण स्वास्थ्यमा समस्या देखिनासाथ अस्पताल नै जानुपर्छ ।’

तपाईको प्रतिक्रिया

RELATED POSTS