बुटवल । सत्तारुढ गठबन्धनका उम्मेदवार तुलप्रसाद विक (राजेश) लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचित भएका छन् । राष्ट्रिय जनमोर्चाका नेता विकले प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेका कृष्ण सुनारलाई पराजित गरेका हुन् । प्रदेशसभामा ६६ सदस्य र स्थानीय तहमा ८८ पदाधिकारी रहेको एमालेका उम्मेदवार सुनारलाई हराउँदा तुलप्रसादले ४५ प्रदेशसभा सदस्य र स्थानीय तहका १२२ जना पदाधिकारीको मत पाए ।

जबकी लुम्बिनीमा जनमोर्चाका एक प्रदेशसभा सदस्य र स्थानीय तहमा ५ जना पदाधिकारी छन् । जनमोर्चाबाट पहिलोपटक राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने अवसर पाएका उनले सत्ता गठबन्धनको (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी) मत पाएरै जिते ।

‘गठबन्धन नभएको भए मैले जित्ने आधारै थिएन’ तुलप्रसाद भन्छन्, ‘तर हाम्रो मतका कारण पनि गठबन्धनका अरु दुई जनाले जित्नुभयो । यसलाई पनि बिर्सनुहुन्न ।’

हेडमास्टर राजेश

४३ वर्षअघि प्राथामिक विद्यालयको हेडमास्टर छोडेर नेकपा मसालमा होमिएका तुलप्रसादले पाएको यो पहिलो राजकीय पद हो । राजतन्त्रको विरोधमा पर्चा बाँडेको आरोपमा पञ्चायती प्रताडना सहन नसकेर उनले शिक्षण पेशा छोडेका थिए । उनी यो जितलाई निष्ठा र इमानका साथ निरन्तर पार्टीमा लागेबापत पाएको अवसर ठान्छन् ।

निरन्तर पराजित भइरहे पनि तुलप्रसादले पार्टी निर्णय पालना गर्दै उम्मेदवारी दिँदै आएका थिए । २०५६ को चुनावमा रुपन्देही–३ बाट नेपाली कांग्रेसका सूर्यप्रसाद प्रधानले जित्दा एमालेका विष्णुप्रसाद पौडेलसँगै उनी पराजित भए । २०७० र ०७४ मा उनी समानुपातिक तर्फका उम्मेदवार थिए । तर मत नपुगेकाले सांसद हुन पाएनन् ।

तर एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको हैसियतमा दुईपटक प्रतिनिधिसभा विघटनको असंवैधानिक निर्णय गरेपछि विकसित शक्ति समीकरणले तुलप्रसादलाई राष्ट्रियसभा सदस्य बनायो । आफ्नो जितमा एमाले अहंकार पराजित भएको उनी तर्क गर्छन् ।

‘केपी ओलीले संसद् विघटन गरेर व्यवस्था धरापमा पार्दै राजतन्त्र ब्युँताउनतिर लागेपछि संविधान र गणतन्त्र बचाउन गठबन्धन बनाउनु परेको हो’ उनी भन्छन्, ‘अझै ओलीले संसद चल्न नदिएर प्रतिगमनको खतरा कायमै राखेका छन् । यो गठबन्धन अझै बलियो बनाएर आउंदो आम चुनावसम्म लैजानुपर्छ ।’

झलनाथका विद्यार्थी

२०२७ सालमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल बाग्लुङको गल्कोट माथिका विज्ञान शिक्षक थिए । १ असोज २०१५ मा बाग्लुङमा जन्मिएका तुलप्रसाद खनालका विद्यार्थी बने । त्यो विद्यालयका प्रअ चित्रबहादुर केसी थिए । केसी र खनालको प्रभावले कक्षा–६ पढ्दै उनी राजनीतितर्फ आकर्षित भए ।

२०५० सादेखि रुपन्देहीको सैनामैना मुर्गिया बसाइ सरेका तुलप्रसादले आफ्नो राजनीति भने केसीसँग जोडे । झलनाथ खनाल गिरफ्तारीमा पर्दा प्रहरीसँग लडेको अनुभव भने उनको सम्झनामै सीमित रह्यो । तर संयोग, तिनै खनाल आवद्ध एकीकृत समाजवादीको समेत मत पाएर तुलप्रसादले राष्ट्रियसभा सदस्य निर्वाचित भएका छन् ।

सानो पार्टीमा लागेर पनि संघीय सांसद निर्वाचित हुनुमा भने तुलप्रसादको पार्टीप्रति इमान्दारिता र लगाव नै प्रमुख कारण हो । गल्कोट माविबाट एसएलसी दिएका उनले नतिजा नआउँदै बाग्लुङस्थित ज्ञानोदय माविमा पढाउन थालेका थिए । उनीले पढाउन थालेको सात महिना पछि नतिजा आयो ।

नतिजापछि भने शितलपाटी प्रावि राम्चे बागलुङको हेडमास्टर बने । पाँच वर्ष उनी शिक्षक रहे । पृथ्वीनारायण क्याम्पस पोखरामा प्राइभेट पढेर आईए उत्तीर्ण गरे । त्यसबेला दलित समुदायले नामका पछाडि ‘बहादुर’ लेख्ने प्रचलन थियो । तर उनले ‘प्रसाद’ लेखे ।

निरन्तर राजनीति

२०३३ सालमा भारतको अयोध्यामा अखिलको पाँचौं राष्ट्रिय सम्मेलनमा भाग लिएका तुलप्रसाद एकवर्ष पछि गिरफ्तारीमा परे । गिरफ्तारीमा परेपछि भने दलित शिक्षक हटाउनुपर्ने अभियान नै चलेको उनी सम्झन्छन् । पञ्चायती शासकको प्रताडना खेपिरहेका तुलप्रसादलाई त्यो अभियानपछि शिक्षक रहिरहन उचित लागेन । ०३५ सालदेखि मसालको पूर्णकालीन कार्यकर्ता बने ।

मसालले उनलाई भारतमा संगठन विस्तार गर्न खटायो । उनी बनारस गए । त्यसपछि केरला, तमिलनाडु, आन्ध्र र कर्नाटक राज्यमा प्रवासी नेपाली संगठित गर्ने काम गरे । गोरखपुरमा भएको भेलाबाट अखिल भारत नेपाली वामपन्थी युवा मोर्चाका महासचिव बने ।

२०४३ मा पञ्चायती चुनाव बहिस्कार गर्ने पार्टीको नीतिको समर्थनमा भारतको दिल्लीमा जुलुस निकाल्दा ९४ जना पक्राउ परे । उनीसहित तीन जना ३ महिना तिहाड जेलमा बसे । पार्टीको सांस्कृतिक विभाग संयोजक रहेर भूमिगत काम गरे । पछि रक्तिम सांस्कृतिक अभियानको केन्द्रीय सदस्य समेत बने ।

रक्तिम सांस्कृतिक परिवारले निकालेको भाग–१, भाग–२ र भाग– ३ मा रहेका अधिकांश गीतमा उनको स्वर र शब्द छ । ‘धौलागिरी छायांमा’, ‘निकाल्यौं हिरामोती’, ‘नथाकौं साथी’ लगायत थुप्रै चर्चित गीतमा एकल र सामूहिक स्वर दिएका उनी गायनसँगै लेखन, वाद्यवादन र संगीतमा पनि पोख्त थिए । ‘धौलागिरि छाया’मा बहुदल आएपछि रेडियो नेपालबाट सर्वाधिक बजेको गीत हो ।

नेपाल फर्केपछि २०४३ देखि उनी पार्टीको दलित संगठनमा काम गर्न थाले । २०४५ सालमा जातीय समता समाजको भेलाबाट अध्यक्षमा निर्वाचित भए । त्यसयता बीचमा ६ वर्ष बाहेक अहिलेसम्म पनि उक्त संगठनको अध्यक्ष छन् ।

यसबीचमै उनले केही समय पार्टीको मुखपत्र हाँक साप्ताहिकमा प्रुफ रिडरसहित लेख रचना लेख्ने काम गरे । अहिले उनी प्रगतिशील लेखक संघको केन्द्रीय सदस्य र रुपन्देही उपाध्यक्ष छन् । उनी कम्युनिष्ट संग्रहालयका सचिव समेत हुन् ।

इमान्दारितापर्वक निरन्तर क्रियाशील भएकै कारण पार्टीले आफ्नो योगदानको मूल्याङ्कन गरेको उनको बुझाइ छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS