नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा काँग्रेसभित्र रुपान्तरणसँगै पुस्तान्तरणको मुद्दा जबरजस्त स्थापित भएको छ । काँग्रेसको विधानले कार्यकारी अधिकार दिएको महामन्त्री पदमा विश्वप्रकास शर्मा र गगन थापाको बिजयले त झन आम काँग्रेसजनमा पार्टीमा नयाँ रक्तसञ्चार हुने ठूलो अपेक्षा देखिन्छ  । युवा पुस्ता, आम लोकतन्त्रवादी  र फरक विचारधाराका मानिसहरू पनि काँग्रेसमा रुपान्तरणको मुद्दाले बलियो स्थान पाएको  ठान्छन् ।

गगन र विश्वको विजयले नेपाली काँग्रेसका कार्यकर्तामा मात्र हैन, राजनीतिप्रति वितृष्णा पैदा भएको युवा पुस्ताहरूमा समेत नयाँ उत्साह देखिन्छ । वाककलामा अद्भूत क्षमता राख्ने गगन र संसदभित्र  र बाहिरका फोरममा सत्तासिन पार्टी र सरकार सञ्चालनको जिम्मेवारी सम्हालेका व्यक्तिमाथि प्रश्न उठाउन विश्व सधैं अग्रमोर्चामा रहँदै आएका छन्

सरकार र पार्टीभित्र कार्यकारी पदमा नरहँदा राजनीतिक, सामाजिक र आर्थिक मुद्दामा जनताको आवाज बुझेर सोहीअनुरुप आफ्नो प्रष्ट विचार बुलन्द पार्न चतुर गगन  र विश्व अब भने उत्तर दिने ठाउँमा पुगेका छन् ।

महामन्त्रीद्वय किन मौन ?

गगन र विश्वसँग आम काँग्रेसजन र जनताले आशा, भरोसा र अपेक्षा राखेका छन् । विश्व–गगनलाई जिताएर कांग्रेस महाधिवेशन प्रतिनिधिले दिएको मत त्यसैको अभिव्यक्ति हो । तर, अब उनीहरूले आफूलाई प्रमाणित गर्नुपर्ने छ ।

हिजो नेतृत्व र जिम्मेवारी सम्हालेका नेतालाई प्रश्न मात्रै सोधे पुग्थ्यो । तर अब आफै जिम्मेवारीमा आएपछि आफूलाई सोधिएका प्रश्नको जवाफ दिनु पर्नेछ । आफ्नै पार्टीलाई विधिसम्मत हिँडाउन र जनताको हितमा सरकार सञ्चालन गर्न पार्टीको तर्फबाट कत्तिको प्रभावकारी हस्तक्षेप र व्यावहारिक कार्यान्वयन गराउन सक्लान् ? चासोका साथ हेरिएको छ । विशेषतः नेविसंघका पृष्ठभूमिबाट गएका गगन–विश्वलाई अहिले नेविसंघ र तरूण दलमा देखिएको अराजकता र विधान विपरितको गतिविधिमा किन मौन रहेको भन्दै प्रश्नहरू सोधिन थालेका छन् । तर उनीहरू मौन देखिन्छन्, किन ? कांग्रेसको युवापंक्ति सशंकित देखिन थालेको छ ।

पार्टी विधिसम्मत ढंगले चलाइनुपर्छ, पार्टीभित्र हरेक नेता कार्यकर्तालाई न्यायको अनुभूति गराउनुपर्छ, भातृ तथा शुभेच्छुक संघहरूलाई विधिविधान अनुरुप निर्माण गर्दै गतिशील र क्रियाशील बनाइनुपर्छ, विधान सबै तहका नेता, कार्यकर्तालाई समान लागू हुनुपर्छ, काँग्रेस पार्टीमा आमूल रुपान्तरण हुनुपर्छ भन्दै वैधानिक पार्टी सञ्चालनका मुख्य एजेन्डा बोकेर पार्टीको महाधिवेशनमा होमिएका गगन र विश्वलाई पार्टीको मुख्य कार्यकारी पद महामन्त्रीमा महाधिवेशन प्रतिनिधिहरूले अनुमोदित गरेका छन् । तर महाधिवेशन सम्पन्न भएको महिना दिन बितिसक्दा पनि लथालिङ्ग, अस्थिपञ्जर मात्र बाँकी रहेका मुख्य १३ भातृसंस्थाको वैधानिकताका बारेमा एक शव्द पनि नबोल्नु र पार्टी नेतृत्वको ध्यानाकर्षण गराउँदै वैधानिक निकाससहित महाधिवेशन उन्मुख गराउन पहल नगरिनुले आम काँग्रेसजन आश्चर्यचकित बनेका छन् । गगन र विश्वप्रतिको आशा र अपेक्षा पनि निराशामा परिणत हुने हो कि भन्ने चिन्ता आज आम युवा, विद्यार्थीहरूमा  उब्जिन थालेको छ ।

कांग्रेसमा १३ भातृसंस्था र २८ वटा शुभेच्छुक संस्था छन् । पार्टीले समयावधि सकिएका सबै भातृ एवं शुभेच्छुक संस्थाको कार्यकाल पछिल्लो समय ६ महिना थप गरेको थियो । पार्टीलाई चलायमान र सशक्त बनाउने कांग्रेसका पाँच भातृसंस्था नेतृत्वविहीन अवस्थामा छन् । कांग्रेस विधानको दफा ४२ १ (ङ) मा भातृसंस्थाका पदाधिकारी एवं सदस्य पार्टीको कुनै पनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनीत भए भातृसंघको पद स्वतः रिक्त हुने व्यवस्था छ । जसअनुसार नेविसंघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल दलित संघ र नेपाल मुस्लिम संघका सभापतिहरू पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

पार्टी विधानको ठाडो उल्लंग्घन गर्दै प्रमुख भातृसंघका सभापतिहरू पद ओगटेर बसेका छन् । पार्टीका प्रमुख मेरुदण्ड भातृसंघ नेविसंघ, तरुण दलका सभापतिहरू विधानअनुसार पदमुक्त भइसक्दा पनि पार्टीको विधानको खिल्ली उडाउँदै स्वघोषित अध्यक्ष भन्दै संगठनलाई बन्धक बनाइराखेका छन् । नेविसंघकै राजनीतिको जगबाटै आज पार्टीको महामन्त्रीमा निर्वाचित हुनुभएका  र पार्टीमा विधिविधानको चर्को आवाज उठाउने गगन–विश्व आज प्रमुख भातृसंस्थाहरूमा विधानको ठाडो उल्लंग्घन हुँदा टुलुटुलु हेरेर बस्न मिल्छ ? विधिविधानको पक्षमा उठ्नुपर्ने गगन–विश्वको आवाज किन रोकियो ? तमाम युवा विद्यार्थीले प्रश्न गरिराखेका छन् । युवाहरूले भरोसा गरेका गगन–विश्वको मौनता आगामी राजनीतिक यात्राका लागि ठूलो चुनौती बन्न सक्ने देखिन्छ ।

अब सुरू भयो परीक्षा

बल्लबल्ल पार्टी महाधिवेशन गरेको कांग्रेसमा यतिबेला भातृसंस्थाहरूको बिजोग छ । प्रमुख भातृसंस्था नेतृत्वविहीन छन् भने अधिकांश दसौं वर्षसम्म अधिवेशन गर्न नसकेर तदर्थवादबाट सञ्चालित छन् । कांग्रेसमा भातृसंस्थाको आवधिक महाधिवेशन निकै टाढाको विषय बन्न थालेको छ  । गगन–विश्वजस्ता युवाले अपेक्षा गरेका नेता नै मौन बस्ने हो भने भातृसंस्थाहरूको अस्तित्व नै सकिने अवस्थामा पुग्न सक्छ । यसले न त गगन–विश्वहरूलाई नै हित हुनेछ न त काँग्रेस पार्टीलाई । यी दुई प्रतिको भरोसा भातृसंस्थाहरूको वैधानिक निर्माण र सञ्चालनसँग पनि जोडिएको छ । नत्र भने जुन जोगी आए पनि कानै चिरेको भने जस्तै उनीहरू प्रतिको भरोसा गुम्न सक्छ, यसले राजनीतिप्रति थप बितृष्णा बढाउँछ ।

मुलुकमा लोकतन्त्र स्थापनाका लागि लामो समय संघर्ष गरेको र लोकतान्त्रिक व्यवस्थाकै पक्षपोषण गर्ने कांग्रेसभित्र भने आन्तरिक लोकतन्त्र निकै कमजोर भएको टिप्पणी पछिल्लो समय झन प्रखर हुँदै आएको छ । आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउने जिम्मेवारी पनि काँग्रेस भित्रका नवयुवक गगन–विश्वकै काँधमा छ ।

६ महिनाभित्र महाधिवेशन गर्ने गरी पार्टीले २०७६ साल माघ १६ गते नेविसंघको अध्यक्षमा राजीव ढुंगानालाई नियुक्त गरेको थियो । १०१ सदस्यीय कार्यसमिति रहने भनिएकोमा जम्मा १० पदाधिकारीमा सीमित रह्यो नेविसंघ । नेविसंघको कार्यकाल दुई वर्ष रहने विधानको व्यवस्था छ । कांग्रेसको नर्सरीका रुपमा चिनिने नेविसंघको जुन हालत छ, बाँकी भातृ एवं शुभेच्छुक संस्थाको हविगत फरक छैन ।

नेपाल तरुण दलका अध्यक्ष उदय शम्शेर राणाले २०७३ मंसिर पहिलो साता महाधिवेशनमार्फत् नेतृत्व हस्तान्तरण गरे । तरुण दलको अध्यक्ष बने नेविसंघ पृष्ठभूमिका जितजंग बस्नेत । महाधिवेशनले चार जना पदाधिकारी मात्रै चयन गर्न सक्यो, त्यो पनि गुटगत भागवण्डामा । ९५ सदस्यीय कार्यसमितिका बाँकी सदस्य पार्टीले पछि मनोनीत गर्ने भनिए पनि तीन वर्षे कार्यकाल सकिएकै दुई वर्ष बितिसकेको छ । चार सदस्य रहेको तरुण दल तीन जनामा सीमित रह्यो भने अहिले नेतृत्वविहीन अवस्थामा पुगेको छ । देशभरका युवाहरूलाई संगठित गर्ने तरुण दल आफै कोमामा पुगेको छ ।

नेपाल महिला संघको चार वर्षे कार्यकाल अघिल्लो वर्ष नै सम्पन्न भइसकेको छ । यतिबेला अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष पद नै रिक्त छन् । त्यस्तै, नेपाल दलित संघको नेतृत्वमा केन्द्रीय सदस्य मीन विश्वकर्मा विगत दश वर्षदेखि छन् । तीन वर्षे कार्यकाल रहेको संघको चौथो महाधिवेशन २०६९ सालमा सम्पन्न भएको थियो । त्यसपछि दलित संघले महाधिवेशन नगरेर कार्यकाल लम्ब्याउँदै आएको छ ।

उता २०६४ सालमा गठन भएको किसान संघले अहिलेसम्म अधिवेशन गर्न सकेको छैन । सेनानी संघले २०६९ सालपछि अधिवेशन गरेकै छैन भने सैनिक संघले २०७३ सालमा केन्द्रीय अधिवेशन गरेको थियो । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले १२ वर्षदेखि अधिवेशन नै गरेको छैन । २०६६ सालमा गठन भएको संघले एक पटक पनि अधिवेशन गरेको छैन ।

नेपाल मुस्लिम संघले २०७५ साल वैशाखमा दोस्रो महाधिवेशन गरेको थियो भने नेपाल तामाङ संघको अध्यक्षमा १२ वर्षदेखि केवलबहादुर तामाङ रहेका छन् । नेपाल राष्ट्रिय मगर संघको पनि नियमित कार्यकाल सकिसकेको छ भने नेपाल ठाकुर समाजले २०६७ साल वैशाखदेखि महाधिवेशन गरेको छैन । १२ औं महाधिवेशनबाट भातृसंस्थाको मान्यता पाएको ठाकुर समाज ११ वर्षदेखि पुरानै नेतृत्वबाट सञ्चालित छ ।

भद्रगोल भातृसंस्थाको महाधिवेशन गराउनु, आगामी तीनै तहको निर्वाचनमा पार्टी प्रतिनिधिलाई जिताउनु, आफैले घोषणा गरेको पार्टी रूपान्तरणको अभियानलाई गति दिनु, पार्टीमा विधिविधानको पूर्ण कार्यान्वयन गराउनु, सरकार सञ्चालनलाई जनहितमा प्रभावकारी बनाउन पार्टीबाट हस्तक्षेपकारी भूमिका खेल्नु विश्व–गगनका लागि प्रमुख कार्यभार हुन् । फोहोर सफा गर्न पोखरीमा पस्नुपर्छ भन्ने गगन कांग्रेसभित्रको फोहोर सफा गर्न सफल होलान् ? राजनीतिलाई सम्मानित बनाउने अभियानमा विश्वप्रकाशको भूमिका कस्तो हुन्छ ? यी प्रश्नमा उनीहरूले काम र व्यावहारिक कार्यान्वयनबाट दिने जवाफले नै उनीहरूको मूल्याङ्कन हुनेछ  ।

राजनीतिबाट बुढाहरूले विश्राम लिनुपर्छ भन्ने गगन र राजनीतिमा ‘एज होइन एजेण्डा’ महत्वपूर्ण ठान्ने विश्वप्रकाशले एज र एजेण्डालाई कसरी संयोजन गर्लान् ? पार्टीमा केहीलाई पुस्तान्तरणको चित्र देखाएर आकर्षण बढाउन गगन र एजेण्डाले आकर्षित गरेर पार्टीको आयतन वृद्धिमा विश्वप्रकाशको भूमिका अपेक्षित छ ।  यावत आशा, भरोसा र अपेक्षाको चाङमा गगन र विश्वको डेलिभरी नै आम काँग्रेसीजन र युवा पुस्तालाई भरोसा दिलाउन सक्ने सञ्जिवनी बुटी बन्नेछ । अन्यथा गगन–विश्वप्रतिको आशा निराशामा बदलिँदा परिणामले ल्याउने धक्काको कम्पन विध्वंशकारी हुनेछ । अब गगन र विश्वको वास्तविक परीक्षा सुरू भएको छ ।

पार्टीका हरेक तहका नेता, कार्यकर्तामा विधिविधानको समान कार्यान्वयन र पार्टीको प्रमुख शक्तिका स्रोतको रुपमा रहेको नेविसंघ लगायतका भातृसंघहरूको वैधानिक निर्माण र परिचालनका लागि गरेको व्यावहारिक पहलबाट नै गगन–विश्वको अग्निपरीक्षा सुरु हुनेछ । अहिलेसम्म अरुलाई प्रश्न गर्ने बुलन्द आवाज आज आफ्नै पार्टीका प्रमुख भातृसंस्थाहरूको अस्तित्व नै संकटमा पर्दा के कारणले रोकियो ? आम युवा विद्यार्थीको प्रश्न गगन–विश्वका अगाडि उत्तर खोजिरहेका छन् ।

प्रश्नको जवाफ व्यहारमा आउँछ भन्ने आशा अझै जीवित राख्दै भाृतसंस्थाको वैधानिकता र महाधिवेशनको सुनिश्चितताबारे तत्काल ठोस पहल र व्यावहारिक कार्यान्वयनतर्फ पहलकदमी लिने आशा अझै मारिसकेका छैनौं । नेपाल विद्यार्थी संघको इमान्दार नेता, कार्यकर्ताले तपाईंहरूका अगाडि प्रश्न गरेका छौं । आशा छ, प्रश्नको उत्तर व्यावहारबाट  आउनेछ, अन्यथा मजस्तै तमाम युवा विद्यार्थी साथीहरू आफूले अपेक्षा गरेका नेताप्रति संघर्षको बिगुल फुक्दै अगाडि बढ्नुको विकल्प हुनेछैन । रातोपाटी बाट

लेखक नेपाल विद्यार्थी संघका नेता हुन् ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS