काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धमाधम क्यासिनोको इजाजतपत्र (लाइसेन्स) वितरण गर्न थालेका छन् । उनले सम्हालेपछि पर्यटन मन्त्रालयले ५ वटा क्यासिनोलाई लाइसेन्स जारी गरिसकेको छ ।

आलेले पर्यटन मन्त्रालय सम्हाल्नुअघि इजाजतपत्र प्राप्त गरेका क्यासिनोको संख्या १७ थियो, अहिले २२ पुगिसकेको छ । पर्यटन विभागकाअनुसार चालु आर्थिक वर्षमा जारी भएका ६ मध्ये ५ वटा क्यसिनोले आले मन्त्री भएपछि नै लाइसेन्स लिएका हुन् ।

आले गत २२ असोजमा पर्यटनमन्त्री नियुक्त भएका थिए । त्यसपछि उनले लगातार लाइसेन्स जारी गरिहरेका छन् । सहजै धमाधम लाइसेन्स पाइन थालेपछि क्यासिनोको लाइसेन्स लिने दाउमा रहेकाहरुको चलखेल बढेको छ । केही हप्ताभित्रै अन्य केही क्यासिनोले पनि लाइसेन्स पाउने मन्त्रालय स्रोतको दावी छ ।

क्यासिनो नियमावली २०७० अनुसार क्यासिनोको इजाजतपत्र र यससम्बन्धी नीतिगत व्यवस्था मन्त्रालयबाट जारी हुन्छ । लाइसेन्सका लागि विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने तय गरिएको छ । तोकिएको क्षेत्रका होटलका सञ्चालकको सहमतिमा क्यासिनो सञ्चालन गर्न चाहने कम्पनीले पूर्वस्वीकृति लिने प्रक्रिया पूरा गर्नुपर्छ ।

नियमावलीअनुसार मन्त्रालयले विज्ञ समिति बनाएर प्रस्तावित क्यासिनोको स्थलगत अध्यनसहित राय दिनुपर्छ । समितिले राय दिएको २१ दिनभित्र क्यासिनो सञ्चालनको सम्बन्धमा निर्णय गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, मन्त्री आलेले गुपचुप रुपमा प्रक्रिया टुंग्याएर लाइसेन्स दिइरहेको मन्त्रालय स्रोतको दाबी छ ।

मन्त्री आलेले २ कात्तिक २०७८ मा झापा मेचीनगरको होटल मेची क्राउनमा भेगास रिक्रियसनलाई लाइसेन्स दिएका छन् । यो गुण्डानाइके बलराम सापकोटा ‘बले’ को लगानी रहेको यो क्यासिनो हो । १९ असोज, २०७७ मा सम्पत्ति शुद्धीकरण विभागले गुण्डानाइके सापकोटा र उनकी श्रीमतीविरुद्ध १९ करोड ५५ लाख बराबरको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो। जुन अझै विशेष अदालतमा विचाराधीन छ ।

काभ्रेको रोशी-४ घर भई हाल लाजिम्पाट बस्दै आएका बलेसँग पन्चकन्या हाउजिङ, भेगास सिटी र एम्पिल फ्लाइटमा पनि करोडौंको स्रोत नखुलेको शेयर लगानी भटिएको दाबी गर्दै विभागले जफतको लागि आदालतमा माग दाबी पेश गरेको छ । तर मुद्दा टुंगो नलाग्दैै बलेको लगानीमा रहेको क्यासिनोलाई मन्त्री आलेले इजाजतपत्र दिएका हुन् ।

मन्त्री आलेले नेपालगञ्जमा रहेका ४ वटा होटलमा क्यासिनो खोल्न अनुमति दिएका छन् । उनले करिब २ महिनाको अवधिमा १ देखि ३ किलोमिटरको दूरीमा रहेको होटलमा ४ वटा क्यासिनो चलाउने गरी लाइसेन्स जारी गरेका हुन् ।

गत ९ कात्तिकमा मन्त्रालयले नेपालगञ्जको होटल स्नेहामा क्यासिनो बेल्लिज इन्टरटेनमेन्टलाई लाइसेन्स दिएको छ । क्यासिनो नियमावलीअनुसार प्रस्तावित क्यासिनोको नाम पहिले नै स्थापना भई कायम रहेको क्यासिनोको नामसँग मिल्ने भएमा लाइसेन्स दिन सकिँदैन । तर काठमाडौंको होटल मल्लमा सञ्चालनमा रहेको बेल्लिजकै नामसँग मिल्ने गरी क्यासिनोको नेपालगञ्जमा लाइसेन्स जारी भएको छ ।

गत १२ कात्तिक २०७८मा फेरि नेपालगञ्जकै होटल स्टार लाइटको भेन्यू रिक्रिएसनले पनि लाइसेन्स पाएको छ । १४ पुस २०७८मा नेपालगञ्जको होटल सिटी प्यालेसस्थित सेटिएर इन्टरटेनमेन्टले पनि लाई क्यासिनोको अनुमतिपत्र पायो । १६ पुस २०७८मा नेपालगञ्जको होटल कल्पतरुस्थित ‘ओम त्रयम्बकम इन्टरटेन्मेन्ट’ क्यासिनोले पनि लाइसेन्स पायो ।

प्रधानमन्त्री शेरबहादुर देउबाले पर्यटन मन्त्रालय सम्हालेको बेला असोज १६ गते मन्त्रालयबाट भैरहवाको नान्स होटल ‘सिद्धार्थ गेमिङ जोन’ नाममा लाइसेन्स जारी भएको थियो ।

मन्त्रालयले काठमाडौंको होटेल अलफ्टमा पनि ‘वाल्ड इन्टरटेनमेन्ट’ नामको क्यासिनो सञ्चालनको अनुमति दिन तयारी गरेको छ । जथाभवी इजाजतपत्र बाँड्न थालेपछि भविष्यमा रोयल्टी नउठ्ने समस्या झन बढ्ने विभागका अधिकारीहरुको चिन्ता छ ।

अहिले ७ वटा क्यासिनोले रोयल्टी बक्यौता नतिरेपनि सर्वोच्च अदालतको अन्तिरिम आदेश देखाएर चलिरहेका छन् । २ वटा क्यासिनो बन्द भइसकेका छन् ।

पर्यटक विभागका प्रवक्ता मोहनबहादुर जिसी क्यासिनोको  अनुमतिपत्रका सम्बन्धमा मन्त्रालय स्तरबाट निणर्ययहरु हुने गरेको बताउँछन् । उनका अनुसार  मन्त्रालयले निर्णय भएको जानकारी विभागमा पठाउँछ । मन्त्रालयले भने क्यासिनोसम्बद्ध सबै निर्णयहरु कानुन, विधि, प्रक्रिया र औचित्यअनुसार नै हुने गरेको दावी गर्दै आएको छ ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS