Manoj Pravakar

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिममा चार वर्षमा चौथो प्रशिक्षकका रुपमा भारतीय लिजेन्ड मनोज प्रभाकरको आगमन भएको छ । प्रशिक्षकको दौडमा यसअघि नसुनिएका प्रभाकरलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)को सिफारिसमा नेपाल क्रिकेट संघ (क्यान)ले नियुक्त गरेको हो ।

पटक-पटक प्रशिक्षक परिवर्तन, कमजोर घरेलु संरचना र अघिल्लो वर्ष क्यान र खेलाडीबीचको विवादका कारण नेपाली क्रिकेटको स्तर खस्किएको आरोप लाग्दा नयाँ प्रशिक्षकका लागि नतिजामुखी प्रदर्शनमा केन्दि्रत रहेर सकारात्मक सन्देश दिने लक्ष्य हुनेछ । क्यानले पनि प्रशिक्षकको योजनामा सहमत भएपछि सम्झौताको निर्णयमा पुगेको बताएको छ ।

क्यानले प्रभाकरबाट दीर्घकालीन योगदानको अपेक्षा गरेको छ । तर, तत्कालका लागि एक वर्षको मात्र सम्झौता गरेको छ । ‘हामीले अघिल्ला दुई जना प्रशिक्षकबाट धोका पाएका छौं । उहाँले लामो समय नै माग्नुभएको थियो, हामीले नै एक वर्षको प्रस्ताव गरेका हौं । हामीले उहाँबाट धोका दिन नपाइने प्रतिवद्धता लिएका छौं,’ क्यान अध्यक्ष चतुरबहादुर चन्दले अनलाइनखबरसँग भने ।

क्यानले यसअघि डेभ वाटमोरसँग एक वर्ष र पुबुदु दासानायकेसँग दुई वर्षको सम्झौता गरेको थियो । दुवै प्रशिक्षक एक वर्षको कार्यकाल पूरा नभई जिम्मेवारीबाट बाहिरिएपछि नयाँ सम्झौताका लागि क्यानले उम्मेदवारबाटै पूरा अवधि काम गर्नुपर्ने प्रतिवद्धता लिन थालेको हो ।

राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्काले लगातार प्रशिक्षक परिवर्तन भइरहनु क्रिकेटको संरचनात्मक विकासमै बाधक हुने भएकाले सम्झौता मै क्यान चनाखो हुनु राम्रो हुने बताउँछन् ।

‘नेपालको क्रिकेट इतिहासमा जति पनि प्रशिक्षकले लामो अवधि जिम्मेबारी पाउनुभएको छ, त्यही समयमा टिमले ठूलो सफलता पाएको छ’ उनले अनलाइनखबरसँग भने, ‘प्रशिक्षक नियुक्ति सम्झौतालाई बलियो बनाउनुपर्छ । कुनै पनि प्रशिक्षकले विश्वसनीय व्यक्तिगत आधार नभई बीचैमा छाड्ने प्रवृत्ति रोकिनुपर्छ ।’

भारतका लागि ३९ टेष्ट र १३० एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका प्रभाकर सन् १९९० को दशकमा सर्वाधिक चर्चित खेलाडी हुन् । प्रशिक्षकका रुपमा भारतीय घरेलु प्रतियोगितामा स्थापित भएर पनि उनीसँग राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकका रुपमा काम गरेको अनुभव छैन ।

एक दिवसीय मान्यता प्राप्त देशको प्रमुख प्रशिक्षक बनेर प्रोफाइल बढाउनका लागि मात्र प्रशिक्षकहरू नेपाल आउने गरेको आरोपलाई प्रभाकरको अनुबन्धनले केहइी हदसम्म पुष्टि गरेको छ ।

सन् २०१६ मा अफगानिस्तान क्रिकेट टिमको बलिङ प्रशिक्षक बनेर एक वर्ष काम गरेयता प्रभाकर ठूलो जिम्मेवारीमा छैनन् । क्यान पदाधिकारीका अनुसार बीसीसीआईकै पदाधिकारीको सिफारिसमा प्रभाकरलाई नियुक्त गरिएको हो । साउन दोस्रो साता इंग्ल्याण्डमा भएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को साधारणसभा दौरान क्यानका पदाधिकारीले बीसीसीआई पदाधिकारीसँग प्रशिक्षकबारे सुझाव मागेका थिए ।

‘उहाँ एक स्तरीय प्रशिक्षक हो भनेर रणजी ट्रफी र अफगानिस्तान टिमको जिम्मेवारीमा रहेर पुष्टि गरिसक्नुभएको छ । ठूला जिम्मेवारीमा नरहे पनि यसबीचमा क्रिकेटबाट टाढा हुनुहुन्थेन । आफ्नै एकेडेमी सञ्चालन गरेर बस्नुभएको छ,’ अध्यक्ष चन्दले भने ।

ब्याटिङ सुधार्ने योजना

नेपाल क्रिकेटको प्रमुख प्रशिक्षक बन्नका लागि प्रभाकरले क्यानसामू आफ्ना कार्ययोजना पेश गरेका छन् । क्यान कार्यवाहक सचिव प्रशान्त मल्लका अनुसार प्रतिस्पर्धामा रहेका ८/१० जनामध्येबाट योजना र प्रतिवद्धताका आधारमा उनलाई छनोट गरिएको छ । प्रभाकरले मासिक करिब १५ हजार अमेरिकी डलर पारिश्रमिक पाउँछन् ।

प्रभाकरले सन् २०१६/०१७ देखि नेपाल क्रिकेटबारे बुझ्न थालेको बताएका छन् । नेपालको प्रदर्शन, खेलाडीको स्तर र एक्स्पोजरलाई नजिकबाट बुझेको दावी गर्ने उनले ब्याटिङमा सुधार ल्याउने योजना क्यानलाई बुझाएका छन् ।

‘नेपाली खेलाडीको क्षमतामा उहाँले प्रशंशा गर्नुभएको छ । हरेक खेलमा ससाना कमजोरीले खेल गुमाउनुपरेको यथार्थता प्रस्तुत गर्दै साना कमजोरी सुधार गर्ने प्रतिवद्धता जनाउनुभएको छ,’ क्यान अध्यक्ष चन्दले भने ।

विश्व क्रिकेटकै महारथी भारतको नियामक निकायबाटै प्रभाकर सिफारिस भएको दाबी गर्दै क्यानले भविष्यमा बीसीसीआईबाट नेपाल क्रिकेटले लिनसक्ने लाभका लागि पनि उनलाई प्रयोग गर्न सजिलो हुने अपेक्षा गरेको छ ।

प्रभाकरका लागि छोटो समयमै नेपाल क्रिकेटको ब्याटिङमा सुधार गरी एक दिवसीय मान्यता कायम राख्नु सबैभन्दा ठूलो चुनौती र जिम्मेवारी हुनेछ । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत नेपालले निर्णायक चार शृंखला खेल्न बाँकी छ ।

दुई वर्षे सम्झौता गरेर सात महिनामै राजीनामा दिएका पुबुदुले नेपाल छाडेपछि राष्ट्रिय टिममा एकता नरहेको बताएका थिए । यो प्रभाकरका लागि पनि चुनौति बन्नसक्छ । नेपालले अगष्ट २५ देखि केन्यासँग पाँच टी-२० अन्तर्राष्ट्रिय र ३ एक दिवसीय खेल खेल्दैछ । लिग टुको शृंखलाअघि टिमको स्तर परीक्षण गर्न प्रभाकरका लागि यो शृंखला महत्वपूर्ण हुनेछ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS