US_Nepal Army

काठमाडौँ — नेपाली सेनाले अमेरिकी सेनासँग एकमहिने संयुक्त सैन्य अभ्यास गर्ने भएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार यही साउन ३१ देखि भदौ ३१सम्म दुई देशका सेनाको संयुक्त अभ्यास हुने भएको हो । नेपाली सेनाको श्री सिंह महावीर योजना तथा समन्वय महाशाखा अन्तर्गत रहेका रेञ्जर गणहरू र अमेरिकी सेनाको टुकडीबीच संयुक्त अभ्यास हुने सेनाले जनाएको छ ।

छाउनी र नगरकोट इलाकामा नेपाली सेनाबाट ८० जना तथा अमेरिकी सेनाका १६ जना गरी जम्मा ९६ जना सम्मिलित उक्त संयुक्त तालिम/अभ्यास हुनेछ । सशस्त्र द्वन्द्वसम्बन्धी कानुन र सैन्य निर्णय प्रक्रिया(एमडीएमपी) लगायतका विषयमा सैन्य अभ्यास हुने सेनाले विज्ञप्तिमार्फत जनाएको छ । सैन्य अभ्यासका लागि क्याप्टेन ब्लेक डकाटेलको नेतृत्वमा अमेरिकी सेनाको टुकडी सोमबार नेपाल आइसकेको छ ।

अमेरिकी सेनाको विशेष फौजसँग माओवादी द्वन्द्वकालदेखि नै नेपाली सेनाले सहकार्य गरे पनि संयुक्त सैनिक अभ्यासका रुपमा सन् २०१५ देखि ‘ब्यालेन्स नेल’ र ‘टेकनेल’ लाई अघि बढाएको हो ।

नेपाली सेनाले भारतीय र चिनियाँ सेनासँग पनि संयुक्त सैन्य अभ्यास गर्दै आएको छ । नेपालले सन् २०११ देखि भारतसँग नेपाल–भारत ‘सूर्यकिरण’ संयुक्त सैनिक अभ्यास सुरुवात गरेको थियो । जुन एक वर्षमा एक पटक नेपाल र अर्को पटक भारतमा गरि दुई पटक हुँदै आइरहेको थियो । तर कोभिड–१९ को संक्रमणको कारण संयुक्त तालिम नियमित रूपमा भने हुन सकेको छैन । त्यस्तै नेपालले चीनको जनमुक्ति सेनासँग सन् २०१७ देखि नेपाल–चीन ‘सगरमाथा मैत्रीपूर्ण’ संयुक्त सैनिक अभ्यास सुरु गरेको थियो ।

तपाईको प्रतिक्रिया

RELATED POSTS