Kitchen Equipment

काठमाडौं । गृह सजावटले व्यक्तिको जीवनशैलीलाई पनि प्रतिविम्बित गर्छ । सफा र चिटिक्क पारिएको घरले मानिसलाई सकारात्मक ऊर्जा दिन्छ । घरका अन्य कोठा र ठाउँसँगै भान्साको सजावट पनि महत्वपूर्ण पाटो हो । मानिस उठेदेखिको दिनचर्या भान्साबाटै सुरु हुने हुनाले यसको उचित सजावटमा ध्यान दिन आवश्यक हुन्छ ।

भान्सामा सजाउनका लागि विभिन्न वस्तुसँगै भाँडावर्तनको चयनमा ख्याल राख्नुपर्ने जानकार बताउँछन् । एउटा सानो परिवारको लागि भान्सा सजावट गर्न १० देखि २५ हजार रुपैयाँसम्म खर्च गर्न सकिने काठमाडौंको नयाँ बानेश्वरमा भान्साको पसल सञ्चालन गर्दै आएका राजन महर्जन बताउँछन् ।

बजारमा फेमस नेपाल, हुलास डायमण्ड, बाल्ट्रा लगायत नेपाली तथा विदेशी ब्राण्डका सामग्रीहरु पाइन्छ । थाली, कप, डिनर सेट, थर्मस, गिलास लगायतका भान्सामा प्रयोग गरिने सामग्रीको मूल्यबारे यहाँ चर्चा गरिएको छ ।

कपसेट

हरेक घरमा बिहानीको सुरुवात चिया-कफीसँगै हुने गर्दछ । चिया-कफीका लागि आकर्षक कप भए त्यसले बेग्लै आनन्द दिन सक्छ । चिया कपका लागि बजारमा भारतीय तथा चिनियाँ ब्राण्डका ओपाल, मिल्डा, स्माइली कम्पनीका कप पाइन्छ । तिनको बजार मूल्य ३०० देखि सुरु हुन्छ । एउटा कपसेटमा ६ वटा कप हुन्छन् ।

खाना राख्ने सेट

दाल, भात र तरकारी राख्न अहिले खाना राख्ने सेटको प्रयोग बढ्दो छ । यसमा पाँच साइजका सामग्री हुन्छन् । यस्तो सेटको मूल्य एक हजार रुपैयाँदेखि सुरु हुन्छ ।

डिनर सेट

खाना खानको लागि प्रयोग गरिने भाँडा डिनर सेट हो । नेपाली भान्सामा प्रायः खान खानका लाथि थाली नै प्रयोग गरिन्छ । साधारण थालको १५० रुपैयाँ मूल्य पर्ने व्यवसायीहरु बताउँछन् ।

यस्तै अन्य आधुनिक डिनर सेटको मूल्य केही माथि पर्न जान्छ । नेपाली ब्राण्डका साथै भारतीय र चिनियाँ कम्पनीका डिनर सेट बजारमा उपलब्ध छन् ।

थर्मस

तातोपानीका लागि अहिले थर्मस अनिवार्य जस्तै बनेको छ । भान्सालाई आकर्षक देखाउन थर्मसको छनोटमा पनि ध्यान दिनुपर्ने हुन्छ । बजारमा ४५० रुपैयाँदेखि माथि थर्मस पाइन्छ ।

ननस्टिक प्यान

खाना बनाउँदा नटाँसिने, नडढ्ने र माझ्न सजिलो हुने भएकाले ननस्टिक प्यानको माग पनि पछिल्लो समय बढिरहेको व्यवसायी महर्जन बताउँछन् । बजारमा विशेषगरी चिनियाँ ब्राण्डका ननस्टिक प्यान पाइन्छ । तिनको मूल्य ५५० रुपैयाँदेखि सुरु हुन्छ ।

इन्डक्सन/इन्फ्रारेड चुलो

एलपी ग्यासको बढ्दो मूल्यले अहिले धेरैको ध्यान इण्डक्सन चुलोतर्फ मोडिएको देखिन्छ । बजारमा २ हजार ५०० रुपैयाँदेखिका इण्डक्सन चुलो पाइन्छ । इन्फ्रारेड चुलो भने केही महँगो हुन्छ ।

अचार, तेल र मसला राख्ने भाँडा

अचार राख्नका लागि सिसाको भाँडा नै धेरै प्रयोग गरिन्छ । सिसाको मसला भाँडालाई १७५ रुपैयाँ पर्छ भने स्टीलका यस्ता भाँडा बजारमा ८०० रुपैयाँदेखि पाइन्छ ।

प्रेसर कुकुर

खाना पकाउन धेरै प्रयोग हुने सामग्री प्रेसर कुकर हो । एक लिटरको कुकरलाई ११०० रुपैयाँ पर्ने महर्जन बताउँछन् । बजारमा २४ लिटरसम्मका प्रेसर कुकर पाइन्छ ।

मिक्सर

सिंगल जार भएको मिक्सरलाई १ हजार ५०० रुपैयाँ पर्छ भने डबल जार भएकोलाई २ हजार २०० देखि माथि पर्छ ।

डाडु-पन्यू र चम्चा

स्टीलको डाडु-पन्यू १०० रुपैयाँदेखि पाइन्छ भने चम्चा एक दर्जनको ३६० रुपैयाँसम्म पर्छ ।

हटकेस

हटकेसले खानालाई तातै राख्न मद्दत गर्छ । कामकाजी व्यक्तिका लागि यो अति उपयोगी पनि छ । बजारमा ६०० रुपैयाँभन्दा माथिका हटकेस पाइन्छन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS