Deepa & Dipak

काठमाडौं । यस्तो लाग्छ, दीपकराज गिरी र दीपाश्री निरौला एकअर्काका पर्याय हुन् । रिल र रियल जीवनमा पनि उनीहरुको रसायन मिल्छ । यतिबेला दीपक-दीपा फिल्म ‘छक्कापञ्जा ४’को सुटिङमा व्यस्त छन् । मंगलबार नै दीपाको ४७ औं बर्थडे । दीपकले फेसबुकमा दीपासँगको युगल तस्वीर सेयर गर्दै जन्मदिनको शुभकामना दिएका छन् ।

एक किसिमले यो बर्थडे शुभकामना भन्दा बढी दुवैको ३० वर्ष लामो सहकार्यको एउटा समीक्षा पनि हो, जसलाई दीपकले भावुक ढंगमा उतारेका छन् । धनियाँ र रामविलासदेखि सुरु भएको आफ्नो करिअरलाई दीपकले सिंहावलोकन गरेका छन् ।

दीपक लेख्छन्–

हरेक वर्ष झैं आजको दिन मलाई कसैसँग शब्दहरू सापटी माग्न मन लाग्छ । किनकि मेरा स्मरणमा रहेका शब्दहरूले तिम्रो गुणगानको भारी बोक्न सक्दैनन् ! मेरा हातमा रहेका हरेक उपलब्धिहरूमा तिम्रो नाम जो कुँदिएको छ ।

हेर्दाहेर्दै अब त ३० वर्ष पनि बितेछ । तिमी धनियाँ बनेर आएकी थियौ र त रामविलास घरघरमा चर्चित बन्न पुगेको थियो । टेलिभिजनको सानो पर्दा हुँदै सिनेमासम्मको कठिन यात्रामा तिमी थियौ ।

म जस्तो अव्यावहारिक मानिसलाई जीवन सिकाउने तिमी नै थियौ । आफ्नो उपलब्धिमा भन्दा मेरो प्राप्तिमा खुसी हुने मान्छे पनि तिमी थियौ ।

समाजका तीता प्रश्नहरूको पीडालाई झेलेर लगातार साथ दिने पनि त तिमी नै थियौ ।

यो तिमी भन्ने शब्द नभएको भए म भन्ने शब्दको के अस्तित्व हुन्थ्यो र ? त्यसैले आजको तिम्रो जन्मदिन तिम्रो होइन, मेरो जस्तो लाग्छ । ह्याप्पी बर्थ डे टु यु होइन, टु मी भन्न मन लाग्छ ।

आफ्नो आँखामा आँसुको भारी बोकेर अरूको आँसु पुछ्ने यस्तो अनमोल साथीलाई जन्मदिनको लाखौं शुभकामना ।।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS