Bhuwan KC & Liger

काठमाडौं । चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीको निर्देशनमा भारतीय फिल्म ‘लाइगर’ बिहीबार राति मात्र नेपाली हलमा रिलिज हुने भएको छ ।

बिहीबार बिहान प्रदर्शन गर्दा चलिरहेका नेपाली फिल्मलाई व्यावसायिक असर पर्ने भन्दै केसीले वितरक र हल सञ्चालकलाई यस्तो निर्देशन दिएका हुन् । उनले नेपाली फिल्मलाई मर्का पर्न सक्नेतर्फ पनि गम्भीर बन्न हल सञ्चालकलाई आग्रह गरेका थिए ।

भुवनको निर्देशनपछि सबै मल्टिप्लेक्सले राति ८ बजेपछिको शो मात्र सार्वजनिक गरेका छन् । नेपालको ठूलोमध्येको एक मल्टिप्लेक्स आईएनआईका सुरेन्द्र थापाका अनुसार बोर्डले सुरुमा बिहीबार लगाउन निर्देशन दिएको र पछि फेरि राति चलाउन भनेको जानकारी दिए ।

सर्भर तथा वितरण कम्पनी डिजिटल सिनेमा नेपालका एक प्रतिनिधिले चाहिं भारतमा पनि राति नै प्रदर्शन हुने भएकाले नेपालमा पनि राति देखाइन लागिएको बताए । ‘निर्माताको आग्रह अनुसार नै हामीले राति चलाउन भनेका हौं,’ उनले भने ।

तर विदेशी फिल्मलाई बिहीबार र नेपाली फिल्मलाई शुक्रबार रिलिज गर्ने प्रवृत्तिलाई तोड्न अध्यक्ष केसीमाथि दबाब दिइएको थियो ।

निर्माता संघको आगामी चुनावमा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरिरहेका नवल खड्का नेतृत्वको डेलिगेसन टोली बिहीबारको प्रदर्शन रोक्न दबाब दिन बुधबार बोर्डमा पुगेको थियो ।

‘हामीले नेपाली र विदेशी फिल्मलाई समान व्यवहार गर्न अध्यक्षज्यूलाई भनेका छौं । हिन्दी फिल्मलाई बिहीबार देखाउन पाइँदैन,’ केसीसँगको भेटपछि खड्काले भने । यसैबीच, शुक्रबारका लागि मुलुकको प्रमुख मल्टिप्लेक्स चेन क्यूएफएक्समा ‘लाइगर’लाई ६४ शो, नेपाली फिल्म प्रकाशलाई १३ र राधालाई १४ शो दिइएको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS