Narayan Khadka

काठमाडौँ — बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री नारायण खड्का लन्डन जाने भएका छन् । आगामी असोज ३ गते लन्डनमै हुन लागेको महारानी एलिजाबेथको अन्त्येष्टि समारोहमा मन्त्री खड्का जान लागेको परराष्ट्रका एक अधिकारीले जानकारी दिए । महारानीको यही भदौ २३ मा मृत्यु भएको थियो ।

एलिजाबेथ द्वितीयको निधनपछि नेपालले भदौ २५ देखि २७ सम्म शोक मनाउने निर्णय गरेको थियो । साथै, राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र सरकारका अन्य उच्चपदस्थ व्यक्तिहरु र शुभेच्छुकहरुले काठमाडौंस्थित बेलायती राजदूतावासमा गएर समवेदनासमेत प्रकट गरेका छन् ।

नेपाललाई माया गर्ने र नेपाली ब्रिटिस गोर्खाकै सुरक्षा घेरामा हुर्के/बढेकी महारानी एलिजाबेथले दुई पटक सन् १९६१ र १९८६ मा नेपाल भ्रमण गरेकी थिइन् ।

उनको अन्त्येष्टि समारोहमा बेलायतको राजपरिवारलाई ‘हेड अफ स्टेट’को रुपमा स्वीकार गर्दै आएका विभिन्न मुलुकका राष्ट्राध्यक्ष वा सरकार प्रमुखहरु, कमनवेल्थ राष्ट्रका प्रतिनिधिहरु र शुभेच्छुक मुलुकका प्रतिनिधिहरु जाने छन् । भारतबाट भने राष्ट्रपति द्रौपदी मुर्मू महारानी एलिजाबेथको अन्त्येष्टिमा जाने तय भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

नेपाल र बेलायतबीच सन् १८१६ मा सुगौली सन्धि भएलगत्तै दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो । नेपालले पहिलो कूटनीतिक सम्बन्ध स्थापना गरेको मुलुक बेलायत नै हो । त्यस मानेमा पनि नेपाल र बेलायतबीच विशेष सम्बन्ध रहेको मानिन्छ । साथै, सुगौली सन्धिपछि नेपालीहरू ब्रिटिस गोर्खामा भर्ती हुन थालेका हुन् ।

सन् १९४७ मा बेलायतीहरू भारतलाई स्वतन्त्र छाडेर फर्किने बेलामा तीन मुलुकबीच ब्रिटिस गोर्खामा नेपालीलाई भर्ती लिने त्रिपक्षीय सन्धि भएको थियो । त्यही सन्धिका आधारमा नेपाली अहिले पनि ब्रिटिस गोर्खा र भारतीय गोर्खामा भर्ना भइरहेका छन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS