Parliament

काठमाडौँ — प्रतिनिधिसभाको कार्यकाल असोज १ मा सकिने भएपछि सांसदहरूले बुधबार प्रतिनिधिसभाको बैठकमा ‘बिदाइ सम्बोधन’ गरेका छन् । पाँच वर्षे कार्यकालको समीक्षा गरेर सांसदहरूले आफ्ना धारणा प्रतिनिधिसभाको बैठकमा राखे। निर्वाचन आयोगले संघीय संसद् सचिवालयलाई असोज १ गते राति १२ बजेसम्म मात्रै प्रतिनिधिसभाको कार्यकाल रहने पत्र पठाएको छ । प्रतिनिधिसभा र प्रदेश सभाको मंसिर ४ का लागि तय भएको निर्वाचनका लागि असोज २ मा समानुपातिकतर्फको बन्दसूची बुझाउनुपर्ने निर्वाचन आयोगको कार्यतालिका छ । त्यसलाई मध्यनजर गरेर सांसदहरूले बिदाइ सम्बोधन गरिरहेका हुन् ।

सांसदहरूले बुधबारको बैठकको शून्य समयमा आफ्नो अन्तिम बोल्ने पालो भएको भनेर सम्बोधन गरेका छन् । कांग्रेसकी सांसद रंगमती शाहीले पनि आफ्नो अन्तिम सम्बोधन भनेर भनाइ राखेकी थिइन् । ‘शून्य समय आज मेरो कार्यकालका लागि अन्तिम दिन होला । सर्वप्रथम मलाई यस गरिमामय सदनमा छिर्न लगाउने नेपाली कांग्रेसलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु । मलाई यस गरिमामय संसद्मा आफ्नो भनाइ राख्न समय उपलब्ध गराउनुहुने सभामुख, संसदीय दलका प्रमुख सचेतक, सचेतक लगायत संसद् सचिवालयका कर्मचारी र माननीयहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु,’ उनले सदनलाई सम्बोधन गर्दै भनिन्, ‘अन्तमा कर्णालीबाट प्रतिनिधित्व गर्ने क्रममा मैले कर्णालीका पीडा पोख्ने क्रममा कुनै मन्त्री सांसदहरूलाई व्यक्तिगत रिसिइबी नभई पीडा पोख्ने क्रममा चित्त दुखेको छ भने मलाई क्षमा गर्नुहोला ।’ त्यसपछि सांसद शाहीले आफ्नो मातृभाषामा सबैलाई आग्रह गरिन्, ‘निको भन्या सम्झिझाया, छुच्चो भन्या बिर्सिझाया ।’

कांग्रेसकै सांसद भीमसेनदास प्रधानले भने संसद् सचिवालयलाई आगामी संसद् कसरी प्रभावकारी बनाउने भन्ने विषयमा सुझाव दिए । पछिल्लो समय विधेयक तथा अन्य एजेन्डा निर्णयार्थ प्रस्तुत गर्ने क्रमममा गणपूरक संख्या नपुग्ने गरेको विषयलाई स्मरण गर्दै उनले नयाँ आउने सांसदहरूका लागि विद्युतीय हाजिरी वा बायोमेट्रिक हाजिरी वा हलभित्र छिर्ने र बाहिरिने सांसदको रेकर्ड लिने प्रवेशद्वार बनाउन सुझाव दिए । त्यसो गर्दा सबै सांसदहरू हाजिरी लगाएर भत्ता पचाएर जान्छन् भन्ने नकरात्मक सन्देश प्रवाह हुनबाट रोकिने उनको भनाइ थियो ।

जसपा सांसद रेनुका गुरुङले अन्तिम सम्बोधन रहेको भन्दै पार्टी अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुरसहित सांसदहरू सबैलाई धन्यवाद दिइन् । सांसद भरतकुमार शाहले भने सांसदहरूलाई आगामी निर्वाचनमा पनि निर्वाचित भएर आउन शुभकामना दिए । ‘संसद्को अन्तिमतिर आइरहेका छौं । सम्पूर्ण साथीहरूलाई आगामी निर्वाचनमा निर्वाचित भएर आउनु हुन शुभकामना दिन्छु,’ उनले भने ।

क्यान्सरको उपचार गर्ने क्रममा लामो समय संसद्मा अनुपस्थित रहेकी सांसद मीना पाण्डेले पनि बिदाइ सम्बोधन गरेकी थिइन् । उनले भनिन्, ‘मेरो स्वास्थ्यको कारणले यो अधिवेशनमा सक्रिय भूमिका निर्वाह गर्न सकिनँ । यसका लागि मेरो पार्टी नेपाली कांग्रेस, सिंगो सदन र सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीसमक्ष क्षमायाचना गर्न चाहन्छु ।’

एमाले सांसद महेश बस्नेतले भने प्रतिनिधिसभाको कार्यकाल सकिन लागेकाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पुगेको नागरिकता विधेयक अगाडि बढ्न नहुने बताए । उनले आगामी संसद्ले नै नागरिकता विधेयकको टुंगो लगाउने उनको भनाइ थियो । सांसद मीना सुब्बाले भनिन्, ‘संसद्को समयावधिभरी आम जनताका समस्या र गुनासा उठान गरी सरकारलाई घच्घच्याउने गरिरहेकी थिए ।’

सांसदहरू राजन केसी र यशोदा सुवेदीले भने संसद्को कार्यकाल यकिन नहुँदा अन्योल भएको बताए । ‘कानुनको अभावमा कानुन बनाउने निकाय नै अहिले सांसदको कार्यकाल कहिले समाप्त हुन्छ भन्ने अन्यौलमा छ । केवल सांसदको कार्यकाल समाप्त कहिले हुन्छ भन्ने एउटा कुरा छ भने सांसदको कार्यकाल कहिले सुरु भयो भन्ने अर्को जिज्ञासा छ,’ उनले भने, ‘२०७४ मंसिर १० र २१ गते चुनाव भयो । फागुन २० गते शपथग्रहण गर्‍यौं । शपथग्रहण नभई पदबहाली हुँदैन भन्ने हाम्रो कानुनमा पनि लेखेको छ । हामी सांसद निर्वाचन आयोगले चिनाउने हो कि संसद्ले चिनाउने ? निर्क्यौल गर्नुपर्ने विषय बनेको छ ।’

संसद्को कार्यकाल असोज १ गते राति १२ बजेछि सकिने भनेर निर्वाचन आयोगले पत्र पठाएको जानकारीमा आएको उल्लेख गर्दै माओवादी सांसद यशोदा सुवेदी गुरुङले आपत्ति जनाइन् । ‘संविधानको धारा ८५ (१)मा प्रतिनिधिसभाको कार्यकाल ५ वर्षको हुनेछ भन्ने स्पष्ट व्यवस्था भएपनि अन्यौलता र विवादको बीचबाट करिब साढे चार वर्षमा यसको कार्यकाल समाप्त हुँदैछ । आगामी संसद्ले संविधानको मर्मबमोजिम प्रतिनिधिसभाको अविछिन्नतालाई कायम राख्नेगरी समयमै ऐन निर्माण गरोस्,’ उनले भनिन्, ‘निर्वाचन आयोगले असोज १ गते राति १२ बजे प्रतिनिधिसभा समाप्त हुनेछ भन्ने व्यहोराको पत्र पठाएको कुरा आएको छ । सार्वभौम संसद्लाई निर्देशन गर्ने अधिकार निर्वाचन आयोगलाई कसले दियो ?’ प्रतिनिधिसभाको अर्को बिहीबार दिउँसो १ बजेका लागि पनि बोलाइएको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS