भर्खरै भारतका विदेशमन्त्री एस जयशंकरले भारतका उद्यमीको सम्मेलनमा बुद्ध भारतीय भएको अभिव्यक्ति दिएका थिए। स्वाभाविक रूपमा यसले नेपालमा एक रोषपूर्ण लहर पैदा गरेको छ। कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जयशंकरको यस भनाइप्रति आपत्ति प्रकट गरिसकेका छन्। भारतले विश्वलाई बुद्ध तथा महात्मा गान्धीजस्ता उपहार दिएको जयशंकरको भनाइ थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभूमि सरयु नदीको किनारामा अवस्थित अयोध्यामा नभई नेपालको ठोरीनजिकै माडी नगरपालिकामा भएको सार्वजनिक गरेपछि भारतबाट यस्तो दृष्टिकोण पेस भएको पनि कयौंले शंका गरेका छन्। प्रधानमन्त्री ओलीले त्यस क्षेत्रका सामाजिक तथा राजनीतिक व्यक्तिसित भेटेको र उत्खनन गर्न निर्देशन दिएको खबर पनि सञ्चारमाध्यममा आएको छ। आउने रामनवमीमा धुमधामका साथ कार्यक्रम गरिने पनि सार्वजनिक भएको छ।

बुद्धको जन्मस्थलसम्बन्धी विवाद पहिल्यैदेखि नै रहिआएको थियो। तर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको मैत्रीपूर्ण भ्रमणका क्रममा नेपाली सदनलाई दिएको सम्बोधनमा बुद्ध नेपालमा जन्मेको भनेपछि यस मुद्दाले वि श्राम पाएको थियो। परन्तु मोदी आफैंले फेरि बुद्धको जन्मोत्सवको उपलक्ष्यमा बुद्ध पूर्णिमाका दिन बुद्ध भारतका भएको विचार प्रकट गरेका थिए। गत वर्ष संयुक्त राष्ट्रसंघमा पनि यस्तै आशय उनले प्रवाह गरेका थिए। सन् २०१३ मा पनि भारतीय सञ्चारमाध्यममा बुद्ध भारतमा जन्मिएका भन्दै प्रसारण भएपछि यसको धेरै विरोध भएको थियो। फलतः विदेशी सचिव सुजाता सिंहले बुद्ध नेपालमा जन्मिएको पुष्टि गरेकी थिइन्। यस भनाइलाई नेपालस्थित भारतीय दूतावासले पनि समर्थन गरेर विज्ञप्ति निकालेको थियो।

धामीले भूतलाई बिउँझाएन भनिएजस्तै जयशंकरले यो मृतः मुद्दालाई फेरि जगाएका छन्। जयशंकर नेपालमा लोकप्रिय छैनन्। सुशील कोइराला प्रधानमन्त्री भएका समयमा नेपालको संघीय संविधान जारी हुनुअगाडि उनी काठमाडौं आएका थिए। उनले नवोदित संविधानको विरोध गरेका थिए र यो संविधानलाई लोकार्पण नगर्न उनले सुझाव दिएका थिए। तर नेपाल सरकारले यो कुरा नसुनेकाले उनी निराश भएर भारत फर्केका थिए। पछि नेपालमा नाकाबन्दी भएर भूकम्पबाट पीडित जनताले असह्य दुःख झेलेका थिए। अहिले उनी विदेशमन्त्री हुँदा लिपुलेकको प्रकरण चर्र्र्किएको छ। उनले नेपालसित वार्ता गर्न अभिरुचि पनि प्रदर्शन गरेका छैनन् जब कि हरेक दिनजस्तो चीनसित उनी वार्तामा सहभागी भइरहेका छन्। अहिले उनले यस्तो विवादास्पद कुरा उठाएकाले उनीप्रति स्वाभाविक रूपमा नेपालमा व्यापक रूपमा रोष प्रकट भएको छ।

बुद्धको जन्मस्थलको अवस्थिति उन्नाईसांै शताब्दीको अन्त्यसम्म अन्योलमै रहेको थियो। यसबारेमा नेपालका खड्गशमशेरको योगदान उल्लेखनीय छ। खड्गशमशेरले तत्कालीन प्रधानमन्त्री रणोद्दीप सिंहलाई गोली हानी हत्या गरेकाले आफू प्रधानमन्त्री हुने आशा गरेका थिए। यस क्रममा उनका मामा केशरसिंहले सहयोग पनि गरेका थिए। तर कर्नेल फौजसिंहले यो कुरा थाहा पाएकाले केशरसिंह सल्यान र खड्गशमशेर पाल्पा धपाइए। उनीलाई कला तथा पुरातत्वमा अभिरुचि भएकाले कालीगण्डकीको किनारमा रानीमहलको आकर्षक दरबार बनाए। यसलाई नेपालको ताजमहल पनि भनिन्छ। खड्गशमशेर तथा जर्मनीका पुरातत्वविद् डा. एन्टोनी फुहरर दुईले सन् १८९६ मा अहिलेको लुम्बिनीमा अशोक स्तम्भ पत्ता लगाएपछि बुद्धको जन्मस्थलको निक्र्याेल भएको हो। लुम्बिनीको हरहरा तथा तेलार नदीको किनारामा यो स्तम्भ पाइएको थियो। पहिले यसको टुप्पो मात्र देखिएको थियो। तर नदीले ल्याएको ग्याङर्‍याङ हटाएपछि स्तम्भमा अशोक बादशाहले लेखेको अभिलेख देखियो। यस अभिलेखमा यहाँ बुद्ध शाक्यमुनि जन्मेका थिए भनेर लेखिएको छ।

बुद्धको जन्मस्थल लुम्बिनीमा भन्ने तथ्य पुरातत्व तथा अभिलेखले पुष्टि गरिसकेको छ। राम जन्मेको स्थान नेपालको अयोध्यापुरी भए राम्रो हुन्थ्यो तर यस विषयमा वाल्मीकि रामायणअनुसार कुनै आधार देखिँदैन।
इसाईले जेरुसेलम, इस्लामले मक्का तथा हिन्दुले चारधामको तीर्थाटन गरेजस्तै बौद्ध धर्मावलम्बीले आफ्नो जीवनमा बुद्धको जन्मस्थल लुम्बिनी, बुद्धले बुद्धत्व प्राप्त गरेको स्थान बौद्धगया, उनले प्रथम उपदेश दिएको स्थान सारनाथ र निधन भएको स्थल कुसीनगरमा दर्शन गर्न जानुपर्ने भएकाले बादशाह अशोक यहाँ आएका थिए। त्यति बेला नै बादशाह अशोकले यो स्तम्भ पूर्व क्राइस्टाब्द २४९ मा स्थापना गरेका हुन्। उनले त्यतिबेला कनकमुनि बुद्धको जन्मस्थलनजिकैका निग्लिहवा तथा क्रकुचन्द बुद्धको जन्मस्थल गोटिहवामा पनि स्तम्भ स्थापना गरेका थिए। दुवै स्तम्भ विद्यमान छन्। यहाँ चिनियाँयात्री फा हेन सन् ४०३ मा र हुयेन साङ सन् ६३६ मा आएका थिए। पछि सन् १३१२ मा खसराजा रिपुमल्ल आई स्तम्भमा उनको प्रशस्तिको लेखन गरेका थिए।

यस्तो भरपर्दाे अभिलेख प्राप्त भएर पनि धेरै समयसम्म बुद्धको जन्मस्थलबारेमा भ्रामक प्रचार भइरह्योे। कयौंले भारतको सीमावर्ती पिप्रहवामा बुद्धको जन्मस्थल भएको तर्क प्रस्तुत गरेका थिए। त्यसैगरी भारतको उडिसाको कपिलेश्वर गाउँमा पनि बुद्ध जन्मिएको अभिलेख पाइएको भन्दै यसलाई बुद्धको जन्मस्थल भएको दाबी गरिएको थियो। तर त्यो शिलालेख रहस्यपूर्ण रूपमा हराएको र अहिलेसम्म नपाइएकाले त्यसको दाबी पनि अभिलेखसितै हराएर गएको छ। भारतका प्रधानमन्त्रीले सदनमा र भारतका विदेश सचिव सुजाता सिंहले पनि मोदीसितै स्वरमा स्वर मिलाएर बुद्ध नेपालमा जन्मेका भनेकाले यो विवादको निरूपण भइसकेको हो।

सिद्धार्थ नेपालमा जन्मिएका हुन् तर उनी राजदरबारबाट भागेपछि भारतमै तपस्या गरेका र बोधगयामा उनले बुद्धत्व प्राप्त गरेकाले बुद्ध भारतमा जन्मेका हुन् भन्ने कुतर्क पनि कयौंले गर्छन्। यसका अतिरिक्त बुद्धले पहिलो सन्देश बाराणसीको सारनाथमा दिएका र उनको महापरिनिर्वाण पनि भारतकै कुसिनगरमा भएकाले बुद्ध भारती भएको तर्क उनीहरू प्रस्तुत गर्छन्। तर भारतमा जन्मिएर विदेशी नागरिकता लिई नोबल पुरस्कार पाएका मानिसलाई उनीहरू भारतमा जन्मेका अथवा ‘इन्डिया बर्न’ भनेर विशेषण जोड्छन्। तर बुद्धका विषयमा उनीहरू यसो गर्दैनन्। यसरी भारतले दोहोरो नीति अवलम्बन गरेको देख्न सकिन्छ। भर्खरै नोबल पुरस्कार पाएका अभिजित बानर्जी यसको ज्वलन्त उदाहरण हुन्। मोदी तथा जयशंकरले पनि नेपालमा जन्मेका तर भारतमा बुद्धत्व प्राप्त गरेका बुद्ध भनेमा यस्तो विवाद हुने थिएन।

भारतका विदेशमन्त्री तथा नेपालका प्रधानमन्त्रीका अभिव्यक्ति दुवै आधारहीन छन्। किनभने बुद्धको जन्मस्थल लुम्बिनीमा भन्ने तथ्य पुरातत्व तथा अभिलेखले पुष्टि गरिसकेको छ। त्यसैगरी राम जन्मेको स्थान नेपालको अयोध्यापुरी भए राम्रो हुन्थ्यो तर यस विषयमा सबैभन्दा पुरानो वाल्मीकि रामायणअनुसार कुनै आधार देखिँदैन।

वाल्मीकि रामायणमा अयोध्या सरयु नदीको किनारमा अवस्थित रहेको र यो १२ योजन अथवा ९६ माइल चौडाइ भएको उल्लेख गरिएको छ। रामको जन्म पुनर्वसु नक्षत्रमा सूर्य, मंगल, शनि, वृहस्पति र शुक्र उच्चस्थानमा प्राप्त हुँदा र चन्द्रमा वृहस्पति साथ भएको बेला कर्क लगन उदय हुनासाथ भएको थियो। यसअनुसार उनी आजभन्दा ७१३४ वर्षअगाडि जन्मेको ज्योतिषशास्त्रीहरूले अड्कल काटेका छन्। रामको विवाहका लागि निम्ता दिन राजा जनकले नथाक्ने खालका घोडा खोजेर घोड सवारलाई पठाउँदा उनीहरूलाई जनकपुरबाट अयोध्या पुग्न तीन दिन लागेको थियो। विवाहमा सहभागी हुन जनकपुर बग्गीमा जाँदा राजा दशरथलाई चार दिन लागेको वाल्मीकि रामायणमा उल्लेख छ। एक अर्काे सन्दर्भमा अयोध्याबाट बिहानै हिँडेका रथचालक सुमन्त, लक्ष्मण तथा सीता गोमती किनारको एक आ श्रममा वास बसी भोलिपल्ट अपराह्न गंगाको उत्तरी किनाराबाट नाउमा पार गरेको वर्णन छ। लक्ष्मणले सीतालाई दक्षिण किनारामा छाडिदिएको र उनी गंगा नदी तरी उत्तरी किनारामा उत्रिएका थिए। उनी केशिनी नगरमा एक रात वास बसेर भोलिपल्ट अपराह्न रामको दरबारमा पुगेको उल्लेख छ। यसबाट के स्पष्ट हुन्छ भने अयोध्या अहिलेको वीरगन्जनजिक अवस्थित थिएन। सीतालाई परित्याग गरिएपछि उनी बसेको वाल्मीकि आ श्रम पनि नेपालमा नभई गंगा नदीको दक्षिण दिशामा भएको स्पष्ट हुन्छ।

राजनीतिज्ञले महŒवपूर्ण विषयमा अभिव्यक्ति दिँदा विभिन्न पक्षको ख्याल गर्नुपर्ने हुन्छ। लुम्बिनीको पुरानो मन्दिरको उत्खनन गर्दा सन् १९९६ मा एउटा ७० सेन्टिमिटर लामो ४० चौडा र १० अग्ला ढुंगा भेटिएको थियो। महŒवपूर्ण स्थानमा ढुंगा राखेर चिनो लगाउने त्यतिबेला परम्परा थियो। यस परम्पराअनुसार बादशाह अशोकले पनि पूर्वक्राइस्टाब्द २४९ मा अशोकस्तम्भ स्थापना गर्दा ढुंगा राखेर पूजा गरेको हुनसक्ने भएकाले उत्खनन हुनुअगाडि सुप्रसिद्ध पाकिस्तानी पुरातत्वविद् अहमद हसन दानीले उत्खनन गर्दा ख्याल गर्न अनुरोध गरेका थिए। नभन्दै इँटहरूबीच ढुंगा प्राप्त भयो। यो बुद्धको लुम्बिनीमा भएको जन्मको एउटा अर्काे प्रमाण भयो। त्यतिबेला नेपालमा शेरबहादुर देउवा प्रधानमन्त्री थिए। पुरातत्वविद्, इतिहासविद्, बौद्धवेत्ता आदिको छलफल व्यापक रूपमा भएर मात्र प्रधानमन्त्रीबाट सार्वजनिक गर्ने निर्णय भएको थियो। तर अहिलेका प्रधानमन्त्रीले अयोध्याबारेमा आफ्नो अभिव्यक्ति सार्वजनिक गर्नुअघि कुनै छलफल भएको सार्वजनिक भएन। पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले त प्रधानमन्त्रीबाट गम्भीर भूल भएकाले देशसमक्ष क्षमायाचना गर्न पनि सुझाव दिएका थिए।

जयशंकरले यस्ता विवादास्पद अभिव्यक्ति दिएको यो पहिलोपटक होइन। केही दिन पहिले उनले असंलग्न आन्दोलनको औचित्य समाप्त भएको बताएका थिए। भारतका जवाहरलाल नेहरू तथा नेपालका राजा महेन्द्र पनि यस आन्दोलनका प्रणेता थिए। अहिले बुद्धका बारेमा भ्रामक विचार उनीबाट व्यक्त भएको छ। नेपालले यस विषयमा परराष्ट्र मन्त्रालयमार्फत विरोध जनाएपछि भारतको विदेश मन्त्रालयले बुद्धको जन्म नेपालमै भएको भन्दै विज्ञप्ति निकालेको छ। तर यी दुवै अभिव्यक्ति नेपाल तथा भारत दुवैका लागि दुर्भाग्यपूर्ण भएको छ।

तपाईको प्रतिक्रिया

RELATED POSTS