वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. ज्ञानेन्द्रमान सिंह कार्की हालै कोरोना संक्रमित भए। कन्भालेसेन्ट प्लाज्मा थेरापी विधिबाट उपचारपछि उनी त्रिवि शिक्षण अस्पताल महाराजगन्जको शय्यामा आराम गरिरहेका छन्। मोरङ विराटनगरस्थित विराट मेडिकल कलेजका अध्यक्ष डा. कार्कीसँग अस्पतालमै अन्नपूर्णकर्मी दिनेश गौतमले गरेको संवाद :

प्लाज्मा थेरापी विधिबाट कोरोना उपचारपछि तपाईंको स्वास्थ्य अवस्था अहिले कस्तो छ ?

म फिट एन्ड फाइन छु। गीत गाउन सक्छु। कसैलाई गाह्रोसाह्रो अप्रेसन गर्नुपर्‍यो भने बोलाए हुन्छ।

शीघ्र स्वास्थ्यलाभको कामना छ। त्यसो भए अलिक लामो कुराकानी सुरु गरौं त ?

हुन्छ। सुरु गरौं।

तपाईं कोरोना संक्रमणबाट मुक्त चिकित्सक हुनुहुन्छ। प्लाज्मा थेरापीबाट सफल उपचार भयो। कस्तो लागिरहेको छ ?

प्लाज्मा थेरापी विधिबाट उपचार गर्ने सन्दर्भमा मेरो परिवारका सदस्य र चिकित्सक बसेर निर्णय लिएका हुन। प्लाज्मा थेरापी नयाँ कुरा होइन। मिर्गौलाको समस्यालगायत धेरै रोगमा यो विधिको उपयोग हुन्छ। रगतमा रहेको प्लाज्मा छुट्ट्याउने त हो नि। कोरोना संक्रमितमा भएको एन्टिबडी प्रयोग हुने हो। एन्टिभाइरल औषधि पनि प्रयोग गरियो। यसरी नयाँ जीवन पाउन सफल भएँ। अब म पनि कुनै संक्रमितलाई प्लाज्मा थेरापी दान गर्न तयार छु। खुसीसाथ अरूलाई पनि नयाँ जीवन दिन चाहन्छु।

तपाईं कोरोना संक्रमणअघि कत्तिको व्यस्त रहनुभयो ?

म लकडाउन अवधिमा पनि सेवामै जुटें। बिहानदेखि बेलुकासम्म संस्थामै खटें। कोरोनाबाहेक अरू रोगका बिरामी पनि धेरै थिए, उनीहरूको उपचार गरियो।

तपाईंलाई कसरी संक्रमण हुन पुग्यो ?

मलाई १६ दिनअघि अचानक रुघाखोकी लागेझैं भयो। शनिबारको दिन थियो। घरबाट कतै निस्किनँ। मलाई शंका लाग्यो। पर्सिपल्ट सोमबार बिहान कोसी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गराइहालें। कोरोना पोजिटिभको रिपोर्ट चाँडै आइहाल्यो। त्यसपछि आइसोलेसनमा दबाई खाँदै बसें।

तपाईंमा कुनै दीर्घकालीन स्वास्थ्य समस्या पनि थियो कि ?

उमेर ६ वर्ष पुगिहाल्यो। मलाई अलिकति डायबिटिज (मधुमेह) छ। साधारण भए पनि केही रोग भइहाल्दा रहेछन्।

तपाईं उपचारका लागि धरान पनि पुग्नुभयो नि ?

छातीको सिटिस्क्यान गराएँ। छातीमा केही चेन्ज देख्नेबित्तिकै धरान गएँ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जँचाएँ। सास फेर्न गाह्रो भइरहेको थियो। भोलिपल्ट बिहानै हेलिकोप्टर चार्टर गरेर काठमाडौं आएँ। त्रिवि शिक्षण अस्पतालको अस्थायी कोभिड आईसीयूमा भर्ना भएँ। भेन्टिलेटरमा राखिएको होइन।

तपाईंले उपचार अवधिमा चिकित्सक एवं नर्सहरूको व्यवहार कस्तो पाउनुभयो ?

मैले चिकित्सक र नर्सहरूलाई शिष्ट पाएँ। बोली व्यवहार राम्रो थियो। डा.सा’ब ज्ञानी हुनुहुँदो रहेछ। नर्सहरूले धैर्यसाथ सेवा गर्नुभयो। आफ्नै भूमिमा उपचार गर्न पाइयो, सन्तुष्ट छु। गर्व लाग्यो। भगवान्को कृपा र सबैको सहयोगले बाँच्न सफल भइयो।

संक्रमणका बेला र संक्रमणमुक्त भएपछि कस्तो सोचाइ आउँदो रहेछ ?

म एक–दुईचोटी मात्र बिरामी भएँ हुँला। तर, अहिले कोरोना संक्रमित भएपछि बिरामी भएँ। यसबेला अर्कै प्रकारको सोचाइ आउँदो रहेछ। म मर्छु कि भन्ने आभास हुन दिइनँ। मृत्यु शय्यामा पुगे पनि बाबु राम्रोसँग हेर्नू भनेर छोरालाई भनें। आउने÷जाने यस्तै हो संसारमा भनेर सम्झाएँ। मैले कमाएको यहीं चेहरा रहेछ भन्ने लाग्यो। छोरा विराट मेडिकल कलेजको सीईओ हो। सुन, चाँदी, गाडी, बंगला, सम्पत्ति केही होइन रहेछ, चेहरा नै वास्तवमा धन रहेछ।

मलाई जीवनको सबैभन्दा ठूलो टर्निङ प्वाइन्ट लागिरहेको छ। म यस संसारमा किन, के गर्न आएको हुँ ? त्यसको परिभाषा खोज्ने मौका पाएँ। ६ वर्ष हुँदा नभोगेको क्षण मैले दुई–चार दिनमा महसुस गर्न पाएँ। आँखाकै अगाडि जीवन खोजें। नयाँ चुनौती थपिएको छ। चुनौती नभए संघर्ष हुँदैन। संघर्ष नभए सफल भइँदैन। यस्ता घटनाले संघर्षतर्फ डोराउने रहेछ। जीवनको जुन परिभाषा गरें त्यसबाट म एकदमै सन्तुष्ट छु।

मभन्दा माथि संस्था हो। छोराहरूलाई संस्कार दिएको रहेछु। मलाई केही भइहाल्यो भने पनि केही नहुने गरी संस्थाको तयारी गरेको रहेछु। संस्थाभन्दा माथि देश हो। संस्था होस् कि देश, व्यक्ति होइन विधिबाट चल्नुपर्छ।

कोरोना नियन्त्रण गर्न बनाइएका योजना र कदमबारे थप सुझाव केही छ ?

सरकारले लकडाउन घोषणा गरेर मात्र हुँदैन। जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्नुपर्छ। हुन त सरकारको मात्र मुख ताकेर पनि समस्या समाधान हुँदैन। सबैले आआफ्नो क्षेत्रबाट के योगदान गर्न सकिन्छ भनेर सोच्नुपर्ने बेला हो यो। कुन पार्टी वा कुन व्यक्ति सरकारमा छ भनेर सोच्ने होइन। सिंगो नेपाल र नेपालीका लागि सोचेर काम गर्ने बेला हो। एक ढिक्का भएर कोरोना पराजित गर्ने समय हो। नेपालीहरू बहादुर हुन्छन् भनेर विदेशमा चिनिएका छौं। अब बहादुरीलाई विवेकमा बदल्ने बेला आएको छ।

कोरोना संक्रमितको उपचारमा सरकारले सरकारी र निजी क्षेत्रका स्वास्थ्य संस्थासँग समन्वय र सहकार्य गर्नुपर्छ। यो बेला स्वास्थ्यसंस्थाहरू सेवाभावका साथ सन्तति बचाउन खटिनुपर्छ।

कोरोनाबारे किन त्रास फैलिरहेको छ ?

कोरोना संक्रमणबाट कोही पनि सुरक्षित छैन। जुनसुकै बेला जसलाई पनि लाग्न सक्छ। संक्रमण हुन नदिन सुरक्षाका मापदण्ड अक्षरशः पालना गर्नुपर्छ। कोरोनाअघि पनि हामीले विभिन्न रोगसँग लडेकै हो। संक्रमित हुँदैमा आत्तिनु पर्दैन। डराउनु हुँदैन। संयम एवं धैर्य हुनुपर्छ। आइसोलेसनमा बस्नुपर्छ।

अहिले सबैभन्दा महत्वपूर्ण भूमिका नर्सहरूको छ। डाक्टरको भूमिका ५ प्रतिशत मात्र छ। नर्सहरूको भूमिका ९५ प्रतिशत छ। कोरोनाविरुद्ध लड्न करुणाको आवश्यकता छ। मायाको आवश्यकता छ। कोरोनाका बिरामीलाई करुणा चाहिने रहेछ। अहिले डाक्टरभन्दा पनि नर्सको भूमिका बढी देख्छु।

कोरोना संक्रमितलाई दुव्र्यवहार पनि गरेको सुनिन्छ। कस्तो व्यवहार गरिनुपर्छ ?

कोरोना संक्रमितलाई मायाको खाँचो छ। सद्भावको आवश्यकता छ। सहानुभूति दिनुपर्छ। प्रेम गरिनु पर्छ। संक्रमित तर्साउने वा दुव्यर्वहार गर्ने कार्य गर्नु हुँदैन। कोरोनाभन्दा मुटुको समस्याले मान्छेहरू मरिरहेका छन्।

अन्त्यमा तपाईंको सन्देश के छ ?

कोरोना संक्रमणबाट आत्तिनु हुँदैन। यसविरुद्ध एकजुट भएर लडौं। एकले अर्कोलाई गाली नगरौं। सरकारले घरघरमा जनचेतनामूलक कार्यक्रम गर्नु पर्छ। सम्पूर्ण नेपाली एक ढिक्का भएर कोरोनाविरुद्ध लडेर सन् २२ भित्र परास्त गर्न सकिन्छ। त्यसका लागि नागरिकले भौतिक दूरी कायम गर्ने मास्क लगाउने, सेनिटाजर प्रयोग गर्ने, बेला बेलामा साबुनपानीले हात मिचीमिची धुने गर्नुपर्छ। सरकारलाई सहयोग गरौं अहिले। समीक्षा पछि गरौंला नि।

तपाईको प्रतिक्रिया

RELATED POSTS