यतिखेर नेकपाभित्रको विवाद चरमोत्कर्षमा छ । यसले देश–विदेशसम्म तरंग पैदा गराएको छ । मुलुक एकातिर कोरोना महामारीसँग लडिरहेको छ, अर्कातिर भारतसँग सीमा विवाद बढेको छ । संविधानमा लिम्पियाधुरासहितको नक्सा सामेल गरेको घटनापछि आफूलाई भारतले हटाउन सक्रियता बढाएको प्रधानमन्त्रीको अभिव्यक्तिसँगै सत्तारूढ दल आन्तरिक कलहमा छ । दुई ठूला पार्टी जुटेर त्यसको सकारात्मक प्रभाव तल्लो तहमा पुगिनसक्दै पुनः फुट्ने हो कि भन्ने आशंका एकातिर छ भने अर्कोतिर युवा नेताहरू त्यसलाई जोगाउन लागिपरेका छन् । यसै मेसोमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठसँग गरिएको कुराकानी :

नेकपाभित्र अहिले देखिएको समस्या खासमा के हो ?

यसको सारतत्व वैचारिक नै हो । अर्थात् नेपालको अहिलेको विशिष्टतामा नेपाली समाजलाई समृद्ध कसरी बनाउने र समाजवाद उन्मुख कसरी बनाउने भन्नेसँग यो सम्बन्धित छ । अझ ठोस भन्ने हो भने अहिलेको विश्व परिवेशमा नेपाली क्रान्ति मौलिक ढंगले अगाडि बढाउने जुन अवसर हामीलाई प्राप्त भएको छ, त्यो अवसरलाई पक्रिएर नेपालमा मौलिक ढंगले क्रान्ति कसरी गर्ने ? भन्ने कुरासँग सम्बन्धित छ । क्रान्तिको प्रक्रिया अगाडि बढ्ने स्थिति भयो कि भएन ? भन्ने विषयसँग सम्बन्धित छ । त्यसका निम्ति हाम्रो पार्टीलाई क्रान्तिकारी गुण र चरित्रयुक्त पार्टी कसरी बनाउने ? पार्टीलाई कसरी क्रान्तिकारीकरण गर्ने ? विधि पद्धतिमा कसरी ढाल्ने ? पार्टीलाई कसरी भ्रष्टीकरण र स्खलीकरणको प्रक्रियाबाट रोक्ने ? भन्ने कुरासँग सम्बन्धित छ । सारतत्वमा यसको विषय यही हो । यो कुनै व्यक्तिको विरोध वा कुनै व्यक्तिको समर्थनको मुद्दा हामीले बनाउनु हुँदैन । तर, यो मूल एजेन्डाअन्तर्गत रहेर स्वाभाविक रूपमा व्यक्तिहरूको भूमिकाको पनि प्रश्न उठ्ने भयो । किनभने पार्टी र सरकारलाई नेतृत्व गर्ने कुरा सही ढंगले अगाडि लैजान सकियो भने मात्र सही विचार, सही चिन्तन, सही संस्कृति र सही कार्यशैलीले अगाडि बढ्न सक्यो भने मात्रै पार्टी पनि क्रान्तिकारी बन्छ । सरकारलाई पनि सफल पार्न सकिन्छ । समाजवाद उन्मुख समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ र समाजवादको आधार तयार पार्न सकिन्छ । त्यसकारण त्यस मातहतमा हाम्रो व्यक्तिहरूको भूमिकाको पनि अहिले विभिन्न कोणबाट छलफल भएको छ । त्यसैले यसलाई व्यापक परिप्रेक्ष्यमा बुझ्नुपर्छ ।

यहाँले सारतत्वमा सैद्धान्तिक विषय नै अहिले छलफलमा छन् भन्नुभयो । तर, व्यवहारमा सैद्धान्तिकभन्दा नेताहरूको व्यवस्थापनमा अलिक बढी केन्द्रित भएर बहस भएको देखिन्छ नि ?

\पार्टीमा रहेका व्यक्तिहरूको पनि आआफ्नो भूमिका हुन्छ । अहिलेको छलफलमा पनि व्यक्ति नेताहरूको बीचका केही सम्बन्ध, केही असमझदारी र केही विश्वासका संकटका कुरा वा व्यवस्थापनका विषयहरू पनि छिरेर आएका होलान् । तर, मूल मुद्दा त्यसलाई बनाइयो भने हामीले हाम्रो पार्टीलाई एकीकृत र क्रान्तिकारी पार्टी बनाउने कुरा र हाम्रो आजको मुख्य राष्ट्रिय कार्यभार कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचार गर्ने, देशलाई अहिलेको आर्थिक संकटबाट बचाउने, समाजवाद र समृद्धिको लक्ष्य हासिल गर्न सक्दैनौं । मुख्य कुरा त्यसलाई बनायौं भने हामीले अन्तरसंघर्षलाई सकारात्मक दिशातिर लिएर जाँदैनौं । त्यसबाट विचलित हुन्छौं । त्यसैले मेरो भनाइ के हो भने अहिले व्यक्तिलाई मुख्य मुद्दा बनाउने गरी व्यक्तिको विरोध, समर्थन मुख्य कुरा होइन । मुख्य कुरा प्रवृत्ति हो । अहिले हाम्रो पार्टीलाई विचार र नीतिमा आधारित, विधि र पद्धतिमा आधारित र कम्युनिस्ट मूल्यमान्यता, संस्कृतिमा आधारित रहेर चलाउने कि नचलाउने ? चलेको छ कि छैन ? भन्ने कुराको समीक्षासहित अब चलाउने हो भने कसरी जानुपर्छ भन्ने सन्दर्भमा नेताहरूको भूमिकाको कुरा आएको हो । त्यस कोणबाट आएको विषय सही छ ।

नेताहरूकै बीचमा एकअर्कोमा शंका, आशंका र अविश्वास गर्ने अनि त्यही कारण असमझदारी बढ्ने क्रम पनि देखिएको छ । किन यसो भइरहेको छ ?

त्यस्तो व्यक्ति नेताहरूको बीचमा के भयो भन्ने पनि होला । तर म त्यसलाई मुख्य मान्दिनँ । किनभने पार्टी र कमिटीमा औपचारिक रूपमा प्रवेश गरेको जानकारीमा भएको कुराको आधारमा पार्टीले भन्न सक्छ । तर, व्यक्तिका सम्बन्धका आधारमा व्यक्तिका छलफलका आधारमा के भयो, कसो भयो भन्न सकिँदैन । स्वाभाविक रूपमा नेतृत्व पंक्तिका बीचमा एकता, समझदारी र विश्वासको वातावरण जसरी बन्नुपर्ने थियो, त्यो बनिरहेको छैन भन्ने सत्य हो । त्यसलाई व्यक्तिले केही गर्‍यो वा अर्को व्यक्तिले केही खोज्यो भन्ने आधारमा न्यून गरेर मूल्यांकन गर्दिनु हुँदैन र मिल्दैन पनि । त्यो समग्रतामा पार्टीलाई विधि पद्धतिमा सञ्चालन गर्ने काम भयो कि भएन ? पार्टीलाई नीतिका आधारमा चलाउने काम भयो कि भएन, पार्टीलाई विचार राजनीतिका आधारमा सञ्चालित गर्ने काम भयो कि भएन ? संस्कृतिका आधारमा पार्टीलाई चलाउने काम भयो कि भएन ? कम्युनिस्ट मूल्य र संस्कृतिलाई प्रोत्साहित गर्ने काम भयो कि भएन ? भन्ने कुरासँग सम्बन्धित छ । त्यसकारण व्यक्तिको भूमिका पनि त्यहाँ छ, त्यहाँ त्यसबारेमा छलफल हुनु स्वाभाविक छ । मुख्य कुरा विचार नीति, विधि पद्धति र कम्युनिस्ट प्रगतिशील संस्कृतिसँग सम्बन्धित मुद्दा हो यो । होइन भने त्यसलाई यही रूपमा बुझिएन भने हाम्रो अन्तरसंघर्षले सही दिशा लिँदैन । यसले सकारात्मक निष्कर्ष निकाल्न सक्दैन ।

पार्टीले सरकारलाई सहयोग नगरेको र सरकारले पार्टीसँग समन्वय नगरेको भन्ने एकापसमा अन्तरविरोधी कुराहरू पनि तपाईंहरूको पार्टी बैठकमा उठिरहेका छन् । किन यस्तो अवस्था आयो ? के पार्टीले सरकारलाई सहयोग नगरेकै हो ? अनि सरकारले पनि पार्टीसँग समन्वय नगरेकै हो ?

यो समस्या केही न केही रूपमा छ । तर मुख्य कुरा पार्टीको सरकार हो । पार्टीको घोषणापत्रमा आधारित रहेर सरकार चल्नुपर्छ । आधारभूत नीतिहरू र राष्ट्रिय महत्वका निर्णयहरू पार्टीमा छलफल गरेर मात्र लिनुपर्ने र पार्टीको मार्गनिर्देशनका आधारमा सरकार चल्नुपर्ने हो । दैनिक कामकाजमा भने पार्टीले हस्तक्षेप नहुने पद्धति र सञ्चालन विधिका आधारमा सरकार चलाउनु पर्दथ्यो । पार्टी र सरकारको सम्बन्ध हुनुपर्दथ्यो । पार्टीले पनि यही आधारमा सम्पूर्ण रूपले सरकारलाई सफल बनाउन भूमिका खेल्नुपर्दथ्यो । यो कुरामा समस्या भएको छ । मुख्य समस्या चाहिँ पार्टीद्वारा सरकार सञ्चालन हुने, पार्टीको मार्गनिर्देशनमा सरकार चल्ने, पार्टीले आधारभूत नीतिहरूमा निर्देशन दिने, राष्ट्रिय महत्वका निर्णयमा निर्देशन दिने र सरकारले त्यो निर्देशन लागू गरेर जाने कुरामा नै भयो । त्यसले गर्दा अपनत्व भएन । अपनत्व नभएपछि जति सहयोग गर्न खोजेको हो, त्यति सहयोग पनि हुन सकेन । पार्टीको सरकार भएकाले सकेसम्म सरकारका सकारात्मक कामलाई प्रचारप्रसार गर्ने र सरकारलाई सहयोग गर्ने प्रवृत्तिमा पनि कही कतै कमजोरी हुँदै भएनन् होला भन्ने कुरा म भन्दिनँ । यस्तो पनि धेरथोर देखा परेको छ । तर मुख्य समस्या अर्के हो ।

पछिल्ला घटनाक्रमलाई हेर्दा नेकपा धर्मराउन खोजेको देखिँदैछ, तपाईंले पनि एकतामा अहिले संकट देखा परेको बताउनु भएको छ । के अबको अवस्था त्यही दिशामा जान खोजेको त होइन ?

पार्टी एकतामा अहिले संकट नै देखा परेको छ । पार्टी एकता हामीले धेरै मेहनत गरेर नेपालको आजको वस्तुगत आवश्यकतालाई सम्बोधन गर्ने गरी गरेका हौं । यो एकतालाई हरहालतमा हामीले रक्षा गर्नुपर्छ । त्यसकारण अहिले आवेग, आक्रोश वा व्यक्तिगत स्वार्थलाई हेरेर धारणा बनाउने र त्यहीअनुसारका क्रियाकलाप गर्ने काम अहिले कसैले गर्नुहुँदैन । हाम्रो पार्टीको एकतालाई कसरी रक्षा गर्ने, हाम्रो पार्टीलाई क्रान्तिकारी चरित्रयुक्त कसरी बनाइराख्ने ? हाम्रो पार्टीले अहिलेको आवश्यकताअनुसार राष्ट्रलाई निकास कसरी दिने ? अहिले कोभिड-१९ ले ल्याएको संकटबाट कसरी निकास दिने र समाजवाद उन्मुख समृद्धि कसरी हासिल गर्ने भन्ने दिशातिर जानुपर्छ । हाम्रो पार्टी एकतामा पैदा हुने संकटले सिंगो राष्ट्रलाई पनि संकट थप्छ । यो कुरालाई आत्मसाथ गरेर हामीले अहिलेको संकटलाई सकारात्मक ढंगले समाधान खोज्नुपर्छ । पार्टी एकताको रक्षा गर्नेपर्छ । पार्टी एकताबाट भाग्ने छुट वा पार्टी एकतालाई अहिले विघटनको दिशातिर लैजाने छुट कसैलाई पनि छैन । त्यसकारण म खाली पार्टीको औपचारिक एकताको मात्र कुराकानी गरिरहेको छैन । पार्टी एकता हुनैपर्छ, यसको रक्षा हामीले गर्नैपर्छ । तर पार्टीलाई अकर्मण्यतातर्फ लगेर विघटन र बिर्सजन गर्न पनि पाइँदैन । यो एकीकृत पार्टीलाई क्रान्तिकारी पार्टी, माक्र्सवादी लेनिनवादी पार्टी नभएर पुँजीवादी पार्टीमा रूपान्तरण गर्ने, वैचारिक र सांस्कृतिक भ्रष्टीकरणको प्रक्रियामा लैजाने छुट पनि कसैलाई छैन ।

तपाईंले बेलाबेला रूपान्तरणकारी बहसमा सहभागी हुने कुरा गरिरहनु भएको छ, नेकपाको यही अवस्थाबाट त्यो सम्भावना कत्तिको देखिन्छ ?

सबै साथीहरू चिन्तित नै हुनुहुन्छ । सबै साथीहरूले सोचिरहनु भएको छ । विभिन्न कारणले सम्पर्क सम्बन्धका कारण एकैचोटी बहसमा खुलेर आउन नसक्ने सीमाहरू पनि मान्छेका हुँदोरहेछ । तर, सबै कमरेडहरू पार्टी एकतालाई बचाउनुपर्छ भन्नेमै मैले अधिकांश देखेको छु । पार्टीलाई बिग्रिन दिन हुँदैन भन्ने पनि देखेको छु, त्यसैले छलफल जुन आयाममा वैचारिक सैद्धान्तिक कोणबाट हुनुपर्ने, जुन आयाममा अलिक गम्भीर विषयलाई लिएर हुनुपर्नेमा त्यो अपेक्षा गरेजस्तो हुन सकेको छैन । धेरथोक साथीहरूको दिलदिमागमा मुख्य कुरा के हो ? हाम्रो पार्टीको अहिलेको समस्या भन्ने बारेमा छलफल भइरहेको छ । त्यसलाई सकारात्मक समाधान गर्न पहल पनि भइरहेकै छ ।

सहमतिका लागि विकल्पै छैन भन्ने कोणले कुरा पनि अहिले आइरहेको छ, त्यसो हो भने यो देखिएको गाँठो कसरी फुक्ला ?

सहमतिका लागि विकल्प छैन भनेर भन्नुभन्दा पनि सहमति गरेर जानुपर्छ । मेरो कुरा भए हुन्छ नत्र हुन्न भन्ने कुरा कसैले पनि गर्न मिल्दैन । पार्टी भनेको व्यक्ति होइन, पार्टी हो । पार्टीलाई आफूभन्दा तल ठान्ने, पार्टी केही पनि होइन भन्ने ठान्ने, पार्टी मैले भनेको मान्छ भन्ने, मैले भनेजस्तो हुन्छ भने ठीक छ नत्र छैन भनेर कसैले पनि भन्न पाउँदैन । सबैले पार्टीको निर्णय मान्छु भनेपछि पार्टीमा आलोचनात्मक चेतका साथ छलफल हुन्छ । त्यहाँ अन्याय नदिने गरी छलफल हुन्छ । वा पार्टी र आन्दोलनलाई नकारात्मक दिशातिर नजाने गरी कतिपय कुरामा सम्झौता गर्नुपर्ने हुन्छ । सम्झौता गर्न पनि तयार हुनुपर्छ । तर, यसको मुख्य शर्त पार्टीलाई केन्द्रबिन्दुमा राख्ने, राष्ट्रलाई केन्द्रबिन्दुमा राख्ने र पार्टीको निर्णय मान्छु, पार्टीको निर्णयअनुसार सबै काम गर्छु भन्ने स्पिरिटमा सहमति पहिलो आवश्यकता हो । त्यसो भयो भने सबै मिलेर पार्टी एकताको रक्षा र हामीलाई जनताले दिएको जनादेशअनुसार पाँच वर्ष हाम्रो सरकार सफल हुने गरी काम गर्ने र समाजवादी रूपान्तरणको दिशातिर देशलाई लैजाने कामबाट आवश्यक लचक हुन तयार हुनैपर्छ ।

त्यसो हो भने लचक हुने बटमलाइन के हुनसक्छ ?

अहिले पार्टीभित्र गम्भीर छलफल भइरहेकाले बटमलाइन मैले भन्यो भने पनि पार्टीमा अहिले भइरहेको छलफललाई सकारात्मक दिशामा लैजान योगदान दिँदैन । त्यसकारण म यति भन्छु पार्टीभित्र अहिले छलफल भएकै आधारमा मात्र कसैले पनि नीति योजना बनाउन मिल्दैन । स्थायी समितिमा छलफलमा भाग लिनु भएका विभिन्न नेता कमरेडहरूले पनि व्यक्तिको रूपमा मात्र प्रस्तुत गर्नुभएको हो । त्यो कुनै प्रस्ताव बनेर निर्णय प्रक्रियामा गइसकेको छैन । यसैकारणले सबैले बैठकमा आएर नै छलफलमा भाग लिनुपर्छ । त्यो छलफललाई आजको आवश्यकताअनुरूप पार्टी र देशको आवश्यकताअनुरूप सही निष्कर्षको दिशातिर लैजान योगदान गर्नुपर्छ । त्यसो भयो भने हामी सही दिशातिर जान नसक्ने कुरै छैन । सहमतिको विकल्पै छैन मात्र भन्नु चाहिँ एकदम गलत हो ।

बालुवाटारमा शुक्रबार भएको दुई अध्यक्षको छलफलले केही सकारात्मक वातावरण निर्माण गरेको हो ?

नेताबीच विश्वासको वातावरण हुनु राम्रो कुरा हो । तर, फेरि म जोड दिएर भन्न चाहन्छु, यो दुईजना, चारजना नेताको मात्र विषय होइन । यो सिंगो पार्टीको विचार र प्रवृत्तिसँग सम्बन्धित विषय हो । त्यसकारण त्यसरी हल गरिएन र व्यक्तिहरूको सम्बन्धको रूपमा यसलाई बुझियो र त्यसैका आधारमा मात्र हल गर्न खोजियो भने फेरि दुई महिनापछि यही क्राइसिस आउँछ । अनि व्यक्तिहरूको सम्बन्ध कहिले राम्रो भयो, कहिले राम्रो भएन भन्ने आधारमा मात्रै हामीले यो पार्टी निर्माणको प्रक्रिया र समग्र सामाजिक आर्थिक रूपान्तरणको प्रक्रियालाई छोडिदियौं भने त्यो गम्भीर गल्ती हुन्छ । तर, नेताहरूको भूमिका महत्वपूर्ण रहने भएकाले नेताबीच विश्वासको वातावरण बनुन्, नेताहरूको बीचमा समझदारी विकास हुनु महत्वपूर्ण हुन्छ । त्यो हदसम्म म त्यसलाई राम्रो मान्छु ।

भन्नाले नेताहरूको व्यवस्थापनको टालटुले समाधान मात्र खोजेर अहिलेको समाधान खोज्नुहुन्न भन्ने यहाँको मत ?

अहिलेको पार्टीभित्रको क्राइसिस समाधान गर्न त्यही स्तरको निर्णय गर्नुपर्छ । त्यो स्तरको निर्णय के ? भन्ने कुरा सबै बसेर छलफल गरेर निर्णय गरौं । एउटा कुनै निर्णय कहीँ बसेर हुँदैन । पार्टीमा औपचारिक बैठकमा बसेर निर्णय हुन्छ । त्यसकारण त्यस्तो निर्णय केही भएको छैन । जति बोलिएका छन् अहिलेसम्म, ती नेताहरूका नितान्त व्यक्तिगत विचारका आधारमा मात्र बोलिएका छन् । बैठकमै सबै बसेर छलफल गरेर एउटा निष्कर्ष निकाल्यौं । पार्टी एकतालाई रक्षा गरेर सही आवश्यकताअनुसारको निर्णय गरेर जाऔं ।
प्रस्तुति : रामकृष्ण अधिकारी

तपाईको प्रतिक्रिया

RELATED POSTS