यस वर्षको चिकित्सातर्फको नोबेल पुरस्कार दुई अमेरिकी र एक बेलायती वैज्ञानिकले पाएका छन्।

सोमबार स्टकहोमस्थित कारोलिनस्का इन्स्चिट्युटमा बसेको नोबेल कमिटीको बैठकले हेपाटाइटिस सी भाइरस पत्ता लगाउने उनीहरू तीन जनालाई पुरस्कार दिने निर्णय गरेको हो।

मेरिल्यान्डको युएस नेशनल इन्स्चिट्युट अफ हेल्थका हार्भे जे अल्टर, न्युयोर्कको रकेफेल्लर युनिभर्सिटीका चार्ल्स एम राइस र क्यानडास्थित युनिभर्सिटी अफ अल्बर्टाका बेलायती भाइरोलोजिस्ट माइकल ह्युगटनले १० मिलियन स्विडिस क्रोनरको पुरस्कार पाउने भएका छन्।

तीन वैज्ञानिकले सिरोसिस र कलेजोको क्यान्सरको मुख्य कारण हेपाटाइटिस सी भाइरस पत्ता लगाएका थिए।

नोबेल कमिटीका सचिव थोमस पर्लम्यानले लाखौंलाई प्रभाव पारेको हेपाटाइटिस सी भाइरसलाई प्लेगको रूपमा वर्णन गरेका छन्।

 

उनले पुरस्कार विजेता अल्टर र राइसलाई टेलिफोन गरी जानकारी गराएको र भाइरोलोजिस्ट ह्युगटनसँग भने तुरून्तै सम्पर्क नभएको बताए।

विश्व स्वास्थ्य संगठनको अनुमान अनुसार सात करोड बढीलाई हेपाटाइटिस सी भाइरसको संक्रमण छ। हरेक वर्ष त्यसको संक्रमणबाट ४ लाखले ज्यान गुमाउने गरेका छन्। मृत्यु हुनेहरू साइरोसिस र कलेजो क्यान्सरका बिरामी धेरै हुन्छन्।

भौतिक विज्ञानतर्फको पुरस्कारको घोषणा मंगलबार गरिने छ भने रसायन विज्ञानतर्फको बुधबार गरिनेछ।

तपाईको प्रतिक्रिया

RELATED POSTS