विद्यालयमै शिक्षिकालाई दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी २२/२३ वर्षीय शिक्षक रामकुमार राना रहेको प्रहरीले बताएको छ। उनी घोराहीस्थित सिद्धार्थ बोर्डिङ स्कुलका शिक्षक हुन्।

पीडित शिक्षिकाको मौखिक उजुरीको आधारमा दुर्व्यवहार गर्ने शिक्षकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय घोराही दाङको थुनुवा कक्षमा राखिएको छ।

शिक्षकले ती शिक्षिकालाई दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा समेत भाइरल भएको छ।

भिडिओ भाइरल भएपछि बल्ल घटना सार्वजनिक भएको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिए।

‘घटना केही अगाडिको हो,’ एसपी चन्दले भने, ‘पक्राउ परेका शिक्षकको व्यवहार अलि ‘कन्ट्रोभर्सियल’ देखिन्छ।’

जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले पीडकलाई ठाडो उजुरीको आधारमा बुधबार पक्राउ गरिएको जानकारी दिए।

दुर्व्यवहार खेपेकी शिक्षिकाले प्रहरीमा आएर लिखित जाहेरी नदिएको पनि प्रहरीले बताएको छ।

‘भोलिसम्म लिखित जाहेरी आउँछ कि भन्ने प्रहरीको आशा छ,’ डिएसपी खड्काले भने ‘त्यसपछि कस्तो मुद्दा चलाउने भन्ने निर्क्यौल हुनेछ।’

आफूलाई एक्लै भेट्नासाथ ती शिक्षकले सधैं दुर्व्यवहार गर्ने गरेको समेत पीडित शिक्षिकाले बताएकी छन्।

घटनामाथि थप अनुसन्धान भइरहेको एसपी चन्दले जानकारी दिए।

तपाईको प्रतिक्रिया

RELATED POSTS