कोरोना भाइरस संक्रमणका कारण चार दिनसम्म अस्पताल भर्ना भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार डिस्चार्ज भएपछि अहिले काममा फर्किएका छन् ।

अस्पतालबाट फर्किएपछि एक भिडियो सन्देश जारी गर्दै उनले आफ्नो स्वास्थ अवस्था सामान्य रहेको जानकारी दिएका छन् । भिडियोमा ट्रम्पले मास्क लगाएका छैनन् ।
झन्डै ५ मिनेट लामो यस भिडियोमा उनले भनेका छन्, ‘मलाई लाग्छ कि मलाई कोरोना संक्रमण हुनु ईश्वरको आशीर्वाद थियो । एउटा लुकेको आशीर्वाद । अब म बिल्कुल ठिक छु । म चाहन्छु कि हरेक अमेरिकी नागरिकलाई ठिक यसरी नै उपचार मिलोस्, जसरी एक राष्ट्रपतिका रुपमा मेरो भयो ।’

ट्रम्पले यस भिडियोमा पनि चीनप्रति निशाना साँधेका छन् । ‘मलाई चिनियाँ भाइरसको संक्रमण भयो । यसमा तपाईंहरुको गल्ती छैन । यो चीनको गल्ती हो र यसको मूल्य उसले चुकाउनुपर्छ ।’
ट्रम्पका चिकित्सकहरुका अनुसार उनका २४ घण्टाभन्दा धेरै समयदेखि कोभिडको कुनै लक्षण देखिएको छैन र विगत चार दिनदेखि उनलाई ज्वरो पनि आएको छैन ।

डाक्टर सिन कोनले शुक्रबार अस्पताल पुगेपछि ट्रम्पलाई अतिरिक्त अक्सिजनको जरुरी पनि नपरेको बताएका छन् । यसअघि ट्रम्पले आफूले राम्रो महसुस गरिरहेको प्रतिक्रिया दिएका थिए । ह्वाइटहाउसका अनुसार ट्रम्प कामका लागि ओभल अफिस आउन थालिसकेका छन् ।

अमेरिकामा ३ नोभेम्बरमा राष्ट्रपतीय निर्वाचन हुँदैछ । यसकोे पूर्व सन्ध्यामा ट्रम्पमा कोरोना देखिएपछि चुनावी माहोल बिग्रनसक्ने अनुमान पनि लगाइएको थियो ।

ट्रम्पको ताजा रिर्पोटमा के छ ?
डाक्टर कोनलेको रिर्पोटअनुसार ‘ट्रम्पको शारिरीक जाँच सामान्य रह्यो र अक्सिजन सेचुरेशन र स्वासप्रश्वास दर स्थिर थियो,’ रिपोर्टमा भनिएको छ,‘५ अक्टुबरमा उनको शरीरमा सार्स–कोभ २ आईजीजी एन्टीबडी भेटिएको थियो ।’
राष्ट्रपति ट्रम्प अस्पतालबाट फर्किएपनि उनका एक अर्का सहयोगीमा कोभिड–१९ संक्रमण भएको खबर बाहिरिएको छ, त्यसैले ह्वाइट हाउसमा नयाँ सुरक्षा उपाय अबलम्बन गरिएको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS