काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च रहेको निष्कर्ष निकालेको छ । उपत्यका नगरपालिका फोरमले माग गरेजस्तो निषेधाज्ञा भने नलगाइने भएको छ ।

सीसीएमसी निर्देशक समितिको मंगलबार बसेको बैठकमा संक्रमणको पछिल्ल्लो अवस्थाबारे छलफल भएको थियो । सीसीएमसीका सचिव महेन्द्र गुरागाईंका अनुसार कतिपय जिल्लामा संक्रमण न्यून भएपनि उपत्यकामा उच्च जोखिम रहेको विश्लेषण छ ।

तर मेयर फोरमले माग गरेजस्तो उपत्यकाभर निषेधाज्ञा भने नलगाइने उनले प्रष्ट पारे ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यकाअनुसार परीक्षणको दायरा भने बढ्नेछ । दसैंतिहार लगायतका चाडपर्वका कारण पनि परीक्षणको दायरा कम भएकाले संक्रमितको संख्या कम देखिएको हुनसक्ने उनले बताए ।

मंगलबारबाट कक्षा १२ को परीक्षा पनि सुरु भएको छ । कलेजहरुले कक्षा ११ को परीक्षा पनि गर्दैछन् ।

लामो समयदेखि घरमा रहेका विद्यार्थीहरु परीक्षाका कारण बाहिर निस्किने भएकाले यसले पनि के असर गर्छ हुर्नुपर्ने भन्दै उनले भने, परीक्षा अवधि सकिएपछि असरको समीक्षा गर्ने र विद्यालयहरु खोल्ने कि नगर्नेबारे निर्णय गर्ने भन्ने भएको छ ।’

आवश्यक पर्‍यो भने संक्रमित धेरै भेटिएका क्षेत्र शिल गर्ने, तर सिंगो काठमाडौं उपत्यकामा तत्काल निषेधाज्ञा जारी नगर्न सबै सहमत भएको मेयर शाक्यले सुनाए ।

बैठकमा उच्च र न्यून जोखिम भएका क्षेत्रहरुमा कुनकुन क्षेत्र खुला गर्ने र कुनकुन क्षेत्र बन्द गर्ने भन्ने छलफल भएको छ । ‘संक्रमण न्यून भएका जिल्लाहरुमा बन्द भएका सेवाहरु विस्तारै खोल्दै जान सकिन्छ’ उनले भनेका छन् ।

काठमाडौं उपत्यकाको एकीकृत एम्बुलेन्स सेवाका एम्बुलेन्सहरु काठमाडौं महानगरपालिका लगायतका स्थानीय तहमा पार्किङको व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको छ ।

साथै एकाध कर्मचारी वा पदाधिकारीमा कोरोना संक्रमण पुष्टि हुनासाथ सम्पूर्ण सेवा नै बन्द नगर्न निर्देशन दिइएको छ । बैठकले जोखिम विश्लेषण गरेर थप देशहरुमा नियमित उडान सुरु गर्न पर्यटन मन्त्रालयलाई सहमतिसमेत दिएको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS