काठमाडौं । यो साता नेपाली बजारमा सुनको भाउ ओरालो ट्रेण्डमा रह्यो । साताको पहिलो दिन ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको भाउ साताको अन्त्यमा तीन हजार रुपैयाँले घटेर ९१ हजार तीन सय रुपैयाँमा झर्यो ।

एक साता अवधिमा चाँदीको मूल्यमा पनि प्रतितोला ४५ रुपैयाँको गिरावट देखियो । घट्दो मूल्य र विवाहको सिजन लगायतका कारणले सात महिनासम्म बन्द सुन बजारमा खरिद बिक्रीको चहल पहल बढेको छ ।

सामान्य अवस्थाको तुलनामा करिब ३५ प्रतिशतसम्म मात्रै व्यवसाय चलिरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

भाउमा उतार चढाव

आइतबार प्रतितोला ९४ हजार ३ सयमा कारोबार भएको सुनको भाउ सोमबार पनि यथावत नै थियो । तर मंगलबार सुनको भाउ तोलामै एक हजार आठ सय रुपैयाँले घट्यो । सो दिन चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले सस्तिएको थियो । बुधबार पुनः एक हजार रुपैयाँले सुनको भाउ सस्तो भएर ९१ हजार पाँच सय रुपैयाँ कायम भयो ।

बुधबार चाँदीको मूल्य पनि प्रतितोलामा पाँच रुपैयाँले घटेर ११ सय ७५ रुपैयाँ थियो । विहीबार स्थिर रहेको सुनको भाउ शुक्रबार भने तोलामा दुई सय रुपैयाँले सस्तिएर ९१ हजार तीन सय रुपैयाँमा झरेको छ ।

 

 

सुनको अन्तर्राष्ट्रिय बजार ट्रेण्ड

सुनको मूल्य पछिल्लो एक महिनादेखि नै ओरालो लागेको छ । यसो हुनुको प्रमुख कारण अमेरिकी राष्ट्रपति निर्वाचनको नयाँ नतिजा र कोभिड–१९ भाइरसको खोपको प्रभावकारीताबारे आएका सुखद समाचारहरु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमको विश्लेषण छ । सुनमा हुने लगानी आपूर्ति, माग र लगानीकर्ताको स्वभावमा निर्भर हुने गर्दछ । यसमध्ये कुनै एकमा आउने परिवर्तनले सुनको मूल्यमा प्रभाव पर्ने इन्भेष्टोपेडियाले उल्लेख गरेको छ ।

अमेरिकी राष्ट्रपतिमा जो बाइडन निर्वाचित भएपछि अमेरिकी शेयर बजारमा नयाँ कीर्तिमान कायम भएको छ । यस्तै अन्तर्राष्ट्रिय शेयर बजार र कच्चा तेलमा गरिने लगानीबाट बाहिरिएका लगानीकर्ताहरु पुनः तेलमा आकर्षित हुँदा कच्चा तेलको मूल्य पनि बढ्न सुरु भएको छ । यी सूचकहरुको अर्थ हो, लगानीकर्ताहरु नयाँ चुनावी नतिजापछि सुन छोडेर लगानीका अन्य क्षेत्रहरु जान उत्साहित छन् । अर्कोतर्फ कोभिडका कारण विश्व अर्थतन्त्रमा आउन सक्ने संकुचनको डरले सुनमा लगानी गरेका लगानीकर्ताको स्वभाव कोरोनाविरुद्धको खोपको विकसित रुपको नयाँ चर्चाले दंग छ ।

नयाँ विकसित घटनाक्रमले सुनको माग, आपूर्ति र लगानीकर्ताको स्वभावको चेन प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमको विश्लेषण छ । सुनको अन्तर्राष्ट्रिय मूल्य सूचक जारी गर्ने गोल्ड प्राइस डटकमका अनुसार पछिल्लो एक महिनामा सुनको भाउ ५६.९० डलरले ओरोलो लागेको छ । शुक्रबार यो समाचार तयार पार्दासम्म २.८५ डलरले सुनको भाउ घटिसकेको छ ।

नेपालमा सुनको भाउ अझै घट्ला ?

सुनको भाउमा पछिल्लो एक साताको अवधिमा आएकोे गिरावटका कारण उपभोक्ताहरु अझै सुनको मूल्य ओरालो लाग्ने विश्लेषणमा छन् । बिहेका लागि सुन नभई नहुने भएकाले पनि मानिसहरु पर्ख र हेरको अवस्थामा रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउमा यस वर्ष कायम भएको हालसम्मकै उच्च मूल्यको रेकर्ड लामो समय टिक्न नसकेका कारण मूल्यको उतार चढाव निरन्तर नै रहने महासंघका वरिष्ठ उपाध्यक्ष मणिकरत्न शाक्य बताउँछन् ।

अन्तर्राष्ट्रिय बजारमा केही दिनदेखि एक हजार आठ सयदेखि एक हजार आठ सय १० डलरको बीचमा रहेको सुनको मूल्य केही समय स्थिर रहने उनको आँकलन छ । सुनमा भएको लगानी उद्योग, शेयर बजार जस्ता क्षेत्रमा जान थालेको भन्दै उनले अमेरिकी नयाँ बाइडनको पदभार ग्रहणपछि सुनको मूल्यको बाटो तय हुने शाक्यले बताए ।

तपाईको प्रतिक्रिया

RELATED POSTS