काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आफ्नै अफिसमा काम गर्ने एक महिला सरसफाइकर्मीसँग अवैध सम्बन्ध रहेको रुसी मिडियो प्रोजेक्टले दावी गरेको छ । रिपोर्टका अनुसार सन् १९९९ पछि पुटिन रुसी राष्ट्रपतिको पहिलो कार्यकालमा हुँदा ती महिलासँग उनको अवैध सम्बन्ध थियो । अहिले ती महिला ८३ मिलियन पाउण्ड (१३ अर्ब नेपाली रुपैयाँ भन्दा बढी) की मालिक्नी रहेको बताइएको छ ।

रिपोर्टका अनुसार यी महिलासँग अवैध सम्बन्धबाट रुसी राष्ट्रपति पुटिनकी एक छोरी पनि छिन् । ती छोरी अहिले १७ वर्षकी भएको बताइएको छ । रिपोर्टका अनुसार अहिले ६८ वर्षका भएका राष्ट्रपति पुटिनको सम्बन्ध स्वेतलाना क्रिभोनोगिख नामकी महिलासँग थियो । यी महिला अहिले रुसको सेन्ट पिटसबर्गको पोश क्षेत्रमा बस्छिन् । यो क्षेत्र पुटिनका निकट व्यक्तिहरुको लागि सुरक्षित मानिन्छ । रिपोर्टका अनुसार पुटिनकी १७ वर्षकी गोप्य छोरीको नाम एलिजावेटा क्रिभोनोगिख हो । उनी नाबालिग भएकोले उनको तस्वीर सार्वजनिक गरिएको छैन ।

प्रोजेक्टले अनुहारको समानता पहिचान गर्ने विशेषज्ञको हवाला दिँदै पुटिन र उनकी कथित छोरी एलिजावेटाको अनुहार ७० प्रतिशतसम्म मिल्ने दावी गरेको छ । बेलायतको ब्राडफोर्ड युनिभर्सिटीको भिजुअल कम्प्युटिङ सेन्टरका निर्देशक प्रोफेसर हसन उगेलले पुटिन र उनकी कथित छोरीको अनुहार यति धेरै मात्रामा मिल्ने भएकोले यी दुई एक अर्कासँग जोडिएको निष्कर्षमा पुग्न सकिने बताएका छन् ।

रिपोर्टका अनुसार एलिजावेटाको जन्म २००३ मा भएको थियो । त्यो समयमा पुटिन ल्यूडमिला शक्रेबनेभासँग वैवाहिक सम्बन्धमा थिए । पछि ल्यूडमिला र पुटिनको सम्बन्धविच्छेद भएको थियो । रिपोर्टका अनुसार एलिजावेटाको जन्मका कागजातमा पिताको नाम उल्लेख छैन । तर, एलिजावेटाको पूरा नाम एलिजावेटा भ्लादिमिरोभ्ना क्रिभोनोगिख छ जसले उनका पिताको नाम भ्लादिमिर भएको जनाउँछ । रिपोर्टका अनुसार एलिजावेटा नाम बदलेर बस्दै आएकी छिन् ।

एलिजावेटाकी आमाको उमेर अहिले ४५ वर्ष भएको बताइएको छ । पहिले उनी सरसफाइकर्मीको काम गर्थिन् । पछि उनी एक्कासी उनी एक कम्पनीकी मालिक बनिन् । यो कम्पनी पुटिनसँग जोडिएको रोशिया बैंकको केही शेयरको मालिक हो । स्वेतलानाको कम्पनीसँग रोशिया बैंकको ८ मिलियन पाउण्ड बराबरको शेयरको स्वामित्व छ । साथमा रुसका कैयौं शहरमा स्वेतलानाको नाममा घरहरु पनि छन् । यसबाहेक स्वेतलाना लेनिनग्राद सेन्टर क्लवकी मालिक हुन् । यो क्लवको नेटवर्थ करिब ७५ मिलियन पाउण्ड मानिएको छ ।

रिपोर्टमा फ्लाइट डाटाको हवाला दिँदै स्वेतनानाले तिनै उडानमा यात्रा गरेको समेत दावी गरिएको छ जुन उडानमा स्वयं पुटिनले पनि यात्रा गरिरहेका हुन्थे । उनीहरुको सम्बन्ध अघिल्लो दशकको अन्त्यतिर टुटेको दावी गरिएको छ । प्रोजेक्टका अनुसार सुरुमा स्वेतलानाले राम्रै कुरा गरेकी थिइन् तर पनि कुरा गर्न बन्द गरिन् । पुटिनसँग सम्बन्धित अन्य सूत्रले पनि यो सम्बन्धबारे कुरा गर्न अस्वीकार गरे । पुटिनका प्रवक्ताले यो सम्बन्धको दावी अस्वीकार गरे । एलिजावेटासँग यस विषयमा सोध्दा उनले तत्कालै सामाजिक संजालबाट आफ्ना सबै तस्वीर हटाइन् ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS