कोरोना विरुद्धको खोपलाई तीन स्टार शक्तिको ठूलो साथ

अमेरिकाका तीन पूर्वराष्ट्रपतिहरुले कोरोना भाइरसविरुद्धको खोप उपब्लध हुना साथ लगाउन तयार भएका छन् । नयाँ खोपप्रतिको सुरुवाती शंका धेरै मानिस हुने भएकाले त्यसलाई चिर्न पूर्वराष्ट्रपतिहरू बाराक ओबामा, विल क्लिन्टन र जर्ज डब्ल्यु बुसले यो खोप आउनेबित्तिकै लगाउने उद्घोष गरेका हुन् ।

ओबामा, क्लिन्टन र बुसलाई अमेरिकामा तीन स्टार शक्ति मानिन्छ । यी तीन शक्तिशाली व्यक्ति बाहेक अरु कसले कोरोना खोपको प्रचार गर्न सक्छ ? भनेर उनीहरुको उद्घोषको अहिले उच्च प्रशंसा गर्न थालिएको छ ।

ओबामा, क्लिन्टन र बुसले आममानिसमा खोपप्रति विश्वास बढाउन आफुहरुले खुलारुपमा यो खोप लगाउने बताएका हुन् । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अहिलेसम्म खोपको विश्वसनीयता र यसको प्रयोगबारे खुलेर बोलेका छैनन् ।

दुई अमेरिकी कम्पनी फाइजर र मोडेर्नाले विकास गरेको कोरोनाविरुद्धको दुई भिन्नाभिन्नै खोप अहिले अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) बाट प्रयोग अनुमतिको पर्खाइमा छन् । ती खोप प्रयोगको अनुमति पाएलगत्तै पहिलो चरणमा स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्ति र सिकिस्त बिरामीलाई लगाउने तयारी छ । त्यसपछि मात्रै आममानिसले यो खोप लगाउन पाउने छन् ।

ओबामा, क्लिन्टन र बुस तीनैजनाले आफुहरुले खोप लगाउँदाको दृश्य टेलिभिजनबाटै आममानिसमा देखाएर यसप्रति प्रोत्साहन बढाउन ठूलो मद्दत गर्न लागेको भनेर अमेरिकी सञ्चारमाध्यमहरुले प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गरेका छन् । उनीहरुको यस्तो कदमले नयाँ खोपप्रति आममानिसमा विश्वासको सन्देश पुग्ने ठानिएको छ ।

विज्ञानलाई विश्वास गर्ने र एफडिएको स्वीकृतिलाई आफुहरुले बीना हिच्किचाहट मान्ने तीनै पूर्वराष्ट्रपतिहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS