प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व परिवर्तनका लागि महाधिवेशनसम्म कुर्न र प्रधानमन्त्री बन्नका लागि नयाँ जनादेश कुर्न स्पष्ट सन्देश दिएका छन् । पार्टी कार्यकारी अध्यक्ष प्रचण्डलगायतमा खेलको नियम नै बदललेर ‘जसरी पनि जित्ने’ महत्त्वाकांक्षा देखिएको भन्दै उनले यस्तो बताएका हुन् । आफूले सँधै सहमतिलाई जोड दिँदै आएपनि पछिल्लो समय बहुमतको बलमा ‘खेलको नियम’ नै बदल्ने प्रयास भएको ओलीको गुनासो छ ।

ओलीले आइतबार स्थायी समितिलाई पठाएको पत्रमा प्रचण्डलगायतका आफूइतरका नेताहरुलाई संकेत गर्दै भनेका छन्, ‘एकीकरणको मूल कामको निर्णायक नेतृत्व गरिरहँदा मैले सहमतिलाई जोड दिँए । तर मलाई थाहा थिएन–खेलको उत्तरार्द्धमा आएर केही कमरेडहरुले ‘खेलको नियम’ नै बदल्न लाग्नु हुनेछ र ‘जसरी पनि जित्ने’ महत्त्वाकांक्षा निम्ति जुनसुकै हदसम्म जान तयार हुनुहुनेछ’, ओलीले भनेका छन् ।

‘यो नैतिकता र राजनीतिक दृष्टिले गलत मात्रै होइन, विभाजनकारी समेत छ भन्ने कुरा म स्पष्ट पार्न चाहन्छु । आज पनि म दोहोर्याउन चाहन्छु–महाधिवेशनसम्मका लागि अन्तरिम हैसियतमा बनेका र महाधिवेशन सम्पन्न गर्नुपर्ने मुख्य दायित्व बोकेका हाम्रा कमिटीहरु त्यसै अनुरुप सहमतिका आधारमा चल्नुपर्छ’, ओलीले पत्रमा भनेका छन् ।

अन्यन्त सम्भावना बोकेको नेकपा अहिले इतिहासकै गम्भीर संकटमा रहेको भन्दै ओलीले यो संकट बाह्य कारणले भन्दा पनि महाधिवेशनभन्दा बाहिरबाट नेतृत्व परिवर्तन गर्न खोज्ने र निर्वाचनबाहिरबाट सरकार बदल्न खोज्ने केही नेताहरुका कारण उत्पन्न भएको ओलीको भनाइ छ ।

ओलीको सो पत्र सचिवालय सदस्य ईश्वर पोखरेलले स्थायी समितिमा बाचन गरेका थिए ।
पत्रमा ओलीले कार्यकारी अध्यक्ष प्रचण्डको प्रस्तावलाई ‘अभियोगपत्र’को संज्ञा दिँदै कुनैपनि हालतमा छलफल हुन नसक्ने बताएका छन् ।

पत्रमा ओलीले प्रचण्डले पार्टीभित्र हुने स्वस्थ र मर्यादित छलफलका सबै सीमा भत्काएर पार्टीभित्रको नीतिगत बहसलाई शत्रुतापूर्ण अन्तरविरोधमा रुपान्तरित गरेको आरोप लगाएका छन् ।

‘पार्टीलाई सहज र स्वस्थ वातावरणमा फर्काउने हो भने उक्त लिखत निःशर्त फिर्ता हुनुपर्ने मेरो मान्यता भथावत छ । एकीकरणका बाँकी काम पूरा गर्ने, महाधिवेशनको तयारी गर्ने र कोभिड विरुद्धको लडाइँलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित भएर बैठकका कार्यसूची निर्धारण र ठोस प्रस्तावसहित पर्याप्त तयारीका साथ बैठकमा जानुपर्छ’, ओलीले आफ्नो पत्रमा भनेका छन् ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS