बालबच्चालाई खुसी बनाउन होस् वा रोएको बखत फकाइ-फुल्याइ गर्न, धेरैजसो आमाबुबाले चिप्स, चिजबल, कुरकुरे, चाउचाउ, चकलेट, बिस्कुट आदि दिने गर्छन् । यसको विकल्पमा स्याउ, उसिनेको आलु, गाईको दूध हुँदो हो त के हुन्थ्यो ?

सामान्यतः हामीले देख्दै÷भोग्दै आएका छौं, जंकफुड दिएपछि बच्चा जति खुसी हुन्छन् स्याउ वा यस्ता अन्य खानेकुराबाट त्यति खुसी हुँदैनन् । किन ? किनभने हामीले उनीहरूको खानपानको संस्कार नै बिगारेका छौं । आमाको दूध चुस्न छाडेदेखि नै शिशुको मुखमा चिजबल राखिदिएका छौं, चाउचाउ कोचिदिएका छौं । यसरी उनीहरूलाई थाहै नपाइ जंकफुडको लतमा पारेका छौं । जंकफुडले के गर्छ त ?

जंकफुड आफैँमा स्वस्थ्यकर खानेकुरा होइनन् । यसको सेवनले उनीहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्छ । यो असरबारे आमाबुबालाई त्यसबेला मात्र हेक्का हुन्छ, जतिबेला बच्चालाई यस्तो खानेकुरा नभई हुन्न । त्यसैले अब जरुरी छ, बच्चालाई स्वस्थ्यकर खानेकुरामा बानी पार्न । जस्तो कि गाईको दूध, घरमै फलेको केरा, स्याउ, सुन्तला, शखरखण्ड, आलु । यस्ता खानेकुरा उनीहरुका लागि यसकारण जरुरत हुन्छ कि उनीहरुको शारीरिक र मानसिक विकास यथोचित रूपमा हुन सकोस् ।

बच्चालाई शरीरमा अत्याधिक तागत दिने किसिमका खाना खान दिनुपर्छ । तर धेरै क्यालोरी भएको खाना दिनुहुन्न, त्यस्ता खानाले शरीरमा बोसो बढाउने काम गर्छ भने आवश्यकता अनुरुप तागत भने दिँदैन । धेरै क्यालोरी भएका खानाले बच्चालाई नोक्सान पुर्‍याउनुका साथै बच्चाको खाने बानी पनि बिगार्ने काम गर्छ ।

केरामा त्यस्ता धेरै तत्वहरू समावेश हुन्छन्, जसको आवश्यकता बच्चालाई स्वस्थ्य रहनका लागि हुन्छ । केरामा फाइबर, पोटासियम, भिटामिन सी र भिटामिन बी ६ प्रचुर मात्रामा हुन्छ । केराको प्युरी मफिन अथवा प्यान के–के बनाएर पनि खुवाउन सकिन्छ ।

आरु पौष्टिक गुणहरुले भरिपूर्ण छ । आरुमा अत्यधिक मात्रा फाइबर, भिटामिन ए र भिटामिन सी पाइन्छ । यदि तपाईंको बच्चालाई आरु मन पर्दैन भने आरुको जुस बनाएर खाना दिन सकिन्छ । यसको मिल्क शेक बनाएर खान दिँदा बच्चा रमाउँदै खान्छन् । बच्चाको लागि नासपाती उपयुक्त पोषक तत्व भएको फल मानिन्छ । नासपातीको स्वाद पनि मीठो हुनुको साथै यसमा फाइबर, आइरन, भिटामिन बी र भिटामिन सी अत्याधिक मात्रामा पाइन्छ ।

मटरलाई पनि बच्चाको खानाको रुपमा एक उपयोगी र राम्रो स्रोतको रुपमा लिन सकिन्छ । मटरमा फाइबर, भिटामिन सी, म्याग्नेसियम, फस्फोरस, भिटामिन ए र बी पाइन्छ । जुन बच्चाको शारीरिक विकासको लागि अति आवश्यक हुन्छ । त्यसैले बच्चाको खानामा मटर समावेश गर्नु आवश्यक छ । मटरलाई जाउलोमा मिसाएर अथवा जुस बनाएर पनि खान सकिन्छ ।

शखरखण्डमा फाइबर, म्याग्नेसियम, भिटामिन बी ६, भिटामिन ए, भिटामिन सी आदि पोषक तत्व अत्यधिक मात्रामा उपलब्ध पाइन्छ । त्यसैले बच्चा ६ महिना भएपछि शखरखण्ड प्रथम आहारको रुपमा दिन सकिन्छ ।

मासुले बच्चालाई धेरै पोषण दिने भएकोले यसलाई बच्चा ८ महिना भएपछि नै खान दिन सकिन्छ । बच्चालाई मासु खान दिँदा उमालेर मसिनो बनाएर निल्न मिल्ने गरी खान दिनुपर्छ । यसका साथै मासुको सुप पनि बच्चाको लागि उपयुक्त हुन्छ । मासुमा भिटामिन ए, बी १२, फस्फोरस आदि उपयोगी तत्वहरु प्राप्त हुन्छ । मासु हप्तामा एक पटक सेवन गर्नु आवश्यक छ ।

घिउ मन नपर्ने व्यक्ति शायदै कोही होला । घिउ सबैको प्रिय हुन्छ । बच्चाको लागि त घीउ अति नै आवश्यक हुन्छ । बच्चा ८ महिना भएपछि घिउ उसको खानामा कम मात्रामा दिन सकिन्छ । बढी मात्रामा घिउको सेवनले पाचन प्रक्रियालाई नकारात्मक प्रभाव पार्न सक्छ ।

तपाईंको बच्चा ८ महिनाको भएपछि उसलाई चिज पनि खान दिन सकिन्छ । चिजमा फस्फोरस, क्याल्सियम र सेलेनियम प्रचुर मात्रामा हुन्छ । बच्चालाई चिज त्यसै पनि खान दिन सकिन्छ । यसबाहेक फ्रुट सलादमा पनि चिज मिसाएर बच्चालाई खान दिन सकिन्छ ।

बच्चाको लागि नट्स अर्थात बदाम अति नै उपयोगी हुन्छ । प्रारम्भमा बदाम, पेस्ता, काजु, अन्जिर जस्ता नट्सको पिँधेर दूध अथवा खानामा मिलाएर बच्चालाई खान दिन सकिन्छ । बच्चाले चपाएर खाने भएपछि नट्सको लड्डु अथवा बर्फी बनाएर पनि खान दिन सकिन्छ । तर अत्यधिक मात्रा सेवन गर्नाले बच्चालाई नोक्सान पुर्‍याउन सक्छ । त्यसैले यसलाई हप्तामा दुई पटक सेवन गर्नुपर्छ । कुनै बच्चालाई नट्स खानाले एलर्जीको समस्या पनि हुन्छ । त्यसैले डाक्टरको सल्लाह लिएर मात्र यसको सेवन गर्नुपर्छ ।

यदि तपाईंको बच्चाले स्तनपान गर्छ भने एक वर्षसम्मका लागि स्तनपान जस्तो राम्रो र स्वास्थबद्र्धक खाना अरु कुनै हुँदैन । त्यसपछि दिनमा तीन पटक गाईको दूध सेवन गर्नु बच्चाको लागि उपयुक्त हुन्छ । ओट्सले पनि बच्चालाई पोषण प्रदान गर्छ । ओट्समा चिल्लोको मात्रा कम हुन्छ र यसमा उपयोगी पोषण तत्व अत्यधिक हुन्छ । ओट्समा प्रोटिन बराबरको पोषक तत्व समावेश हुन्छ । ओट्सलाई खिर, प्यान केक र फ्रुट डोसाको रुपमा खान दिन सकिन्छ ।

एबोकाडोमा धेरै मात्रामा फाइबर हुनुको साथै यसमा चिल्लोको मात्रा पनि कम हुन्छ । यसलाई ब्रेड अथवा रोटीमा हालेर पनि खान दिन सकिन्छ । आलुलाई बच्चाको पहिलो आहार मानिन्छ । नरम हुने भएकोले यसलाई सजिलै मिचेर खुवाउन सकिन्छ । आलु खानाले बच्चालाई कुनै प्रकारको पनि एलर्जी हुँदैन ।

सुरुमा बच्चालाई ग्यास नहोस् भनेर थोरै आलु सेवन गर्न दिनुपर्छ, पछि यसको मात्रा बिस्तारै बढाउँदै लैजानुपर्छ । आलुमा खनिज भिटामिनबाहेक केरोटेनोयड्स र प्राकृतिक फिनोयल जस्ता रसायन पनि हुन्छ । आलुमा सबैभन्दा धेरै कार्बाेहाइड्रेट हुन्छ । आलुलाई खिचडी, सुप बनाएर पनि खान दिन सकिन्छ ।

आठ महिनापछि बच्चालाई अण्डा सजिलै दिन सकिन्छ । अण्डालाई उमालेर, फ्राई गरेर खान सकिन्छ । यसबाहेक खानामा पनि अण्डाको समावेश गर्न सकिन्छ । अण्डालाई पेन केक बनाएर पनि खान दिन सकिन्छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS