काठमाडौं । काठमाडौंको बजारमा बिक्री हुने फलफूलको स्रोत कुन हो भनेर कसरी चिन्ने ? जुम्ला ओखरको लागि, मुस्ताङ स्याउको लागि, फर्पिङको नास्पातीको लागि र सिन्धुलीलाई जुनारको लागि प्रसिद्ध छ ।

वि.सं. २००७ सालमा प्रजातन्त्र आएपछि तत्कालीन सरकारले देशका विभिन्न क्षेत्रलाई विशेष कृषि क्षेत्रको रुपमा विकास गरेर सोही अनुसार छुट्टाछुट्टै खेतीलाई प्रोत्साहन गर्न थाल्यो । यही बेलादेखि फलफूलको ठाउँ विशेषको ब्राण्ड विकसित हुँदै आयो ।

तर बजारमा आइपुग्ने बेलामा मुस्ताङको भनेर काश्मीरको स्याउ, जुम्लाको भनेर चिनियाँ ओखर र सिन्धुलीको भनेर रामेछाप र डडेलधुराको जुनारले बजार पाउन थालेपछि वास्तविक पकेट क्षेत्रका किसानहरु आफ्नो ब्राण्डको नाममा भएको गलत अभ्यासप्रति चिन्तित हुन थाले ।

सिन्धुलीको चिसापानी जुनार उत्पादन कृषि सहकारी संस्थाका अध्यक्ष योगेन्द्र थापा केही वर्षअघि काठमाडौंका सुन्तलालाई जुनार भनेर बेचेको देख्दा अचम्मित भएको अनुभव सुनाउँछन् । ‘डडेल्धुरादेखि धनकुटासम्मको जुनारलाई काठमाडौंवासी मीठो मानेर खान बाध्य थिए, त्योभन्दा पनि अचम्मको कुरा त सुन्तलालाई नै जुनार भनेर बेचिएको देख्दा भने साह्रै चित्त दुखेको थियो ।’

केही वर्षअघिदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले प्राविधिक सहयोग गरी सिन्धुलीका किसानलाई जुनार उत्पादनमा प्रोत्साहन गर्‍यो । अहिले सिन्धुलीको चिसापानी जुनार उत्पादन सहकारी मातहतका किसानले मात्रै ४५ टन सम्म जुनार उत्पादन गरेका छन् । यसलाई बजारमा बेच्दा नक्कली ब्राण्डले बजार पाउने र सक्कली ब्राण्ड पछि पर्ने प्रवृत्तिलाई रोक्न ई–सत्य र ग्रिन ग्रोथ मिलेर एग्रिक्लियर नामक सफ्टवेयर मार्फत् जुनार बिक्रीको सञ्जाल तयार पारेका छन् ।

जुनारको बजारीकरणलाई व्यवस्थित गर्न ब्लकचेनमा आधारित यही प्रविधिको विकास गरेपछि चिसापानी जुनार उत्पादन कृषि सहकारी संस्थाले पनि आफ्ना किसानले उत्पादन गरेको जुनारलाई व्यवस्थित रुपमा बजारमा पठाउने काममा सहयोग गर्न थाले । अहिले बजारमा ताजा जुनार पुगोस् भन्ने उद्देश्यले ग्रिन ग्रोथले छुट्टाछुट्टै लटमा छुट्टै किसानको उत्पादनलाई बजारमा ल्याउने योजना बनाएको छ ।

किसानले टिपेपछि धेरै दिन भण्डारण गर्न नपरोस् भन्नको लागि छुट्टाछुट्टै लटमा जुनार आयात गर्न लागिएको ग्रिन ग्रोथका प्रमुख सौरभ ढकाल बताउँछन् ।

जुनारको ब्लक चेनले कसलाई हुन्छ फाइदा ?

जुनारलाई ब्लकचेनमा आधारित प्रविधिसँग जोडेपछि किसान, उपभोक्ता लगायत सबै पक्षलाई फाइदा पुग्ने सरोकारवाला पक्षको दाबी छ । महाभारत क्षेत्रको ८०० देखि १४०० मिटर उचाइमा फलेको जुनारको स्वाद अन्य क्षेत्रको भन्दा निकै मीठो हुन्छ । तर हामीले खाने जुनार यही उचाइमा फलेको जुनार हो भनेर विश्वासिलो तरिकाले पत्ता लगाउन यो प्रविधि सहायकसिद्ध हुने निर्माण पक्षको दाबी छ ।

जुनार सुन्तला प्रजातिमा पर्ने फल हो तर सुन्तला होइन । यही कुरालाई स्थापित गराउने एवं सिन्धुलीको जुनारको ब्राण्डलाई विश्वासिलो बनाउने उद्देश्यले त्यहाँका किसान र काठमाडौंमा बिक्री वितरण गर्ने क्रममा ब्लकचेनमा आधारित प्रविधिको सहयोग लिन लागिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सिन्धुली जिल्ला इकाईका प्रमुख देवराज अधिकारीले जानकारी दिए।

यो प्रविधिले सिन्धुलीको जुनार चिन्नको लागि पहिले जस्तो टाउको दुखाउनुपर्ने अवस्थाको अन्त्य भएको ग्रिन ग्रोथका प्रमुख सौरभ ढकाल बताउँछन् । यो प्रविधिले किसान र उपभोक्ता दुवैलाई फाइदा पुग्ने उनको दाबी छ । सिन्धुलीको जुनार उत्पादक किसानहरू सम्मिलित सहकारी र ग्रिन ग्रोथको सहकार्यमा क्युआर कोडबाट नै सुन्तलाको पहिचान गर्न सकिने प्रविधिको विकास गरिएकोले अब एक क्लिकमा जुनारको सबै वृत्तान्त थाहा पाउन सकिने उनी बताउँछन् ।

कसरी किन्ने काठमाडौंमा सिन्धुलीको जुनार ?

ब्लकचेनमा आधारित प्रविधि जोडिएको जुनार काठमाडौंमा ग्रिन ग्रोथ नामक संस्थाको वेभसाइटमा गएर अर्डर गरेर लिन सकिन्छ । काठमाडौं उपत्यकामा अर्डर गरिएको १० घण्टामा घरमै उपलब्ध गराउने व्यवस्था गरिएको ढकाल बताउँछन् ।

यही प्रविधिका कारण आफूले किनेको जुनारको बारेमा केही गुनासो आयो भने सोको गुनासो पनि ग्रिन ग्रोथमार्फत् किसानसम्म पुर्‍याउन सकिने व्यवस्था गरिएको छ ।

पहिलो चरणमा सुरुवात गरिएको यो प्रविधिमा सिन्धुलीका ३४ जना किसानहरुले उत्पादन गरेको जुनारलाई समेटिने छ । यसमा दिइएको क्युआर कोड स्क्यान गरेपछि जुनार उत्पादन गर्ने किसानको नाम, कति उचाइमा फलेको, कहिले टिपेको, कहिले प्याकेजिङ गरिएको र कति किलोमिटरको यात्रा गरेको जस्ता विवरण समेत आफ्नै मोबाइलबाट थाहा पाउन सकिने ढकाल बताउँछन् ।

‘कार्टुनमा लेख्ने प्रविधिको डिजिटाइज रूप’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सिन्धुली जिल्ला सुपरजोन कार्यान्वयन इकाईका प्रमुख देवराज अधिकारी यो प्रविधि कार्टुनमा उत्पादनसम्बन्धी विवरण लेख्ने प्रविधिको डिजिटल भर्सन जस्तै रहेको बताउँछन् ।

‘यो धेरै र विश्वासिलो सूचनाको ब्लक हो । यसले उत्पादनको सूचना उपभोक्तासम्म पुर्‍याउने र उपभोक्ताको गुनासो कलेक्टर हुँदै फेरि किसानसम्म पुर्‍याउने दोहोरो सञ्चार पद्धतिको सुरुवात गरेको छ ।’ निकट भविष्यमा नै सिन्धुलीको जुनार चीनतर्फ निर्यात गर्ने तयारी भइरहेको भन्दै अधिकारीले त्यसको लागि पनि यो प्रविधिले मद्धत गर्ने बताए ।

नयाँ प्रविधिपछि बजारमा क्रेज

पछिल्लो डेढ सातामा ग्रिनग्रोथमार्फत मात्र ८ टन जुनार काठमाडौंमा बिक्री भयो । यसमध्ये सहकारी अन्तर्गत्का किसानहरूको मात्रै साढे १२ सय किलो जुनार बिक्री भयो । ग्रिनग्रोथका अनुसार अघिल्लो साता साढे ६ सय केजी जुनार सिन्धुलीबाट काठमाडौं ल्याइएकोमा आइतबार दोस्रो लटको ६ सय किलो बजारमा आयो ।

अघिल्लो लटको सबै जुनार बढीमा ५ दिनमा नै सकिएको चिसापानी जुनार उत्पादन कृषि सहकारी संस्थाका अध्यक्ष थापाले बताए । ‘सिन्धुलीको जुनार भनेर झुक्किएका उपभोक्ताहरु विश्वासिलो सूचनापद्धतिका कारण पनि आकर्र्षित भएका होलान्’ थापाले भने ‘अन्तैको उत्पादनलाई ब्राण्डेड मानेर खानुपर्ने बाध्यतालाई एग्रिक्लियरको सहयोगमा सञ्चालित नयाँ प्रविधिले हटाइदिएको छ, यो सुखद् अभ्यास हो ।

तपाईको प्रतिक्रिया

RELATED POSTS